
२९ मंसिर, काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय खेलकुद परिषदका निवर्तमान सदस्य सचिव रमेश सिलवालको बर्खास्तीलाई यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।
न्यायाधीश हरि फुयालको एकल इजलासले सिलवाललाई बर्खास्त गर्नुको कारण माग गर्दै पुस १२ गते दुबै पक्षलाई छलफलमा बोलाएको छ । त्यस्तै पुस १२ गतेसम्मका लागि सिलवालको बर्खास्तीलाई यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश दिएको सर्वोच्च अदालतका सहायक प्रवक्ता देवेन्द्र ढकालले बताए ।
केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा नियुक्त सदस्य सचिव सिलवाललाई शेरबहादुर देउवा नेतृत्वको सरकारले बर्खास्त गरेको थियो । तर सिलवाल आफूलाई सदस्य सचिव पदबाट बर्खास्त गर्ने सरकारको निर्णय खारेजीको माग गर्दै सर्वोच्च गएका थिए ।
उनले मुद्दाको अन्तिम किनारा नलागेसम्म आफूले सदस्य सचिवको हैसियतमा कामकाज गर्न पाउने गरी अन्तरिम आदेश पनि माग गरेका थिए । अन्तरिम आदेशका विषयमा भने पुस १२ गते छलफल हुनेछ ।
सिलवालको बर्खास्तीपछि सरकारले मंसिर १३ गते खुला प्रतिस्पर्धाबाट टंकलाल घिसिङलाई सदस्य सचिवमा नियुक्त गरिसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4