+
+
कांग्रेस महाधिवेशनका अन्तर कुन्तर :

डा. शेखर कोइरालाले सहजै भनिदिए – लड्ने हो

शेखरको समूहमा पनि पहिलो चरणमा पाएको भोट जोगाउन सक्ने कि नसक्ने चिन्ता थियो । त्यसपछि चन्द्र भण्डारी, गगनकुमार थापा, बद्री पाण्डे लगायतका नेताहरुले डा. शेखरलाई भेटे । उनीहरुले सोधे, तपाईंको इच्छा के हो ?

राजकुमार श्रेष्ठ राजकुमार श्रेष्ठ
२०७८ पुष १ गते ०:२६

१ पुस, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट सभापतिमा शेरबहादुर देउवा निर्वाचित हुँदा निकटम प्रतिस्पर्धी डा. शेखर कोइरालाको उपस्थितिलाई पनि राजनीतिक जितकै रुपमा अर्थ्याइएको छ । सँगसँगै पार्टीको १३ औं महाधिवेशनपछि शेखरसितै रहेका रामचन्द्र पौडेल, शशांक कोइरालाहरुको भविष्यको राजनीतिमाथि संशय देखिएको छ, कांग्रेसजनकै प्रश्नको घेराबाट उनीहरु बाहिर छैनन ।

एक समय आफ्नै समूहले समेत सभापतिको उम्मेदवारका रुपमा स्वीकार नगरेको र पछि सभापतिको उम्मेदवारका रुपमा स्वीकारेर तत्कालिन रामचन्द्र पौडेल पक्षको ठूलो पंक्तिले साथ दिँदा उनी एउटा विचार समूहको नेता भएका छन् । कांग्रेसको एउटा हिस्सालाई आफूसँग गोलबद्ध गर्न सफल भएकैले कोइरालाको प्राविधिक पराजयलाई राजनीतिक जितका रुपमा व्याख्या गरिएको हो ।

शेखरले आँसु झारेको त्यो दिन

सुशील कोइरालाको निधनपछि पौडेल समूह भनेर चिनिएको यो समूहमा सभापतिका चार आकांक्षी थिए, रामचन्द्र पौडेल, डा. शशांक कोइराला, प्रकाशमान सिंह र डा. शेखर कोइराला ।

१३ औं महाधिवेशनमा सभापतिमा पराजित भएका पौडेलले यो पटक आफ्ना लागि अन्तिम अवसर ठानेका थिए । बिपी पुत्र डा. शशांक बहालवाला महामन्त्री थिए । १३ औंमा त्याग गरेकाले आफू स्वाभाविक दावेदार भएको प्रकाशमानको दाबी थियो । अर्थात सबभन्दा कमजोर दाबी डा. शेखरको रह्यो ।

नेताहरुका अनुसार उम्मेदवारी दर्ताअघिको एक बैठकमा त शेखरले आँसु नै झारेका थिए ।

मंसिर २४ गते महाधिवेशन उद्घाटन भइसक्दा पनि यो समूहले सभापतिको उम्मेदवार तय गर्न सकेको थिएन । रामचन्द्र पौडेलको नाममा सहमति जुट्छ भने आफूले छाड्ने भनेर शशांक दौडबाट बाहिरिएका थिए ।

पौडेलले प्रकाशमान र शेखरमध्ये एकको नाममा सहमति जुटे आफूले मान्ने, नभए आफूलाई छाड्नुपर्ने बताए । तर प्रकाशमानले सहमति भए आफ्नै नाममा हुनुपर्ने, नभए उम्मेदवारी दिने अड्डी लिएपछि पौडेल विरक्तिएर बैठकमा उपस्थित हुनै छोडे ।

पदाधिकारी तथा केन्द्रीय सदस्यका आकांक्षीहरुले सहमतिका लागि दबाव दिएपछि शेखर संकटमा परे । अन्तिम अवस्थामा उनले पौडेलको नाममा सहमति भए उपसभापति बस्न तयार हुने बताए । तर प्रकाशमानले कुनै हालतमा नछाड्ने अडान लिएपछि उम्मेदवारी दर्ताको अघिल्लो दिन नेताहरु फेरि डा. शेखरलाई भेट्न पुगे । कुनै हालतमा साझा उम्मेदवार बनाउनुपर्ने भन्दै प्रकाशमानकै नेतृत्व स्वीकार गर्न प्रस्ताव गरे । त्यो बैठकमा शेखरले आँसु झरेका थिए ।

उनी आफूलाई सभापतिको उम्मेदवारका रुपमा प्रस्तुत गर्दै पछिल्लो ३/४ वर्ष लगातार देश दौडाहमा थिए । तर नेताहरुले भने १२ औं महाधिवेशनमा केन्द्रीय सदस्य भएकै कारण आफूलाई जुनियर भनेर हेपेको उनको गुनासो थियो ।

नेताहरुले छाडे, तर कार्यकर्ताले छाडेनन्

२५ मंसिरमा सहमतिको प्रयास सफल नभएपछि यो समूहबाट प्रकाशमान सिंह र शेखरको उम्मेदवारी दर्ता भयो । समूहका जिल्ला सभापति, प्रदेश अध्यक्ष मात्र होइन, पदाधिकारीका आकांक्षीहरु पनि शेखरलाई नै साथ दिन राजी थिए ।

तर यो समूहका नेता रामचन्द्र पौडेल, भाइ शशांक र बहिनी सुजाताको भने उनले साथ पाउन सकेनन् । पौडेलले महाधिवेशको प्रक्रियाबाट अलग हुने घोषणा गरे, सुजाताले प्रकाशमानको टिमबाट उपसभापति पदमा उम्मेदवारी दिइन् । बहालवाला महामन्त्री समेत रहेका भाइ डा. शशांक मौन बसिदिए, अर्थात् शशांकले नबोलेरै धेरै कुरा भने ।

त्यही बेला पौडेल र शशांकले देउवालाई समर्थन गरेको प्रचार भएपछि डा. शेखरको टीमका नेताहरु निकै दबावमा परे । दोस्रो चरणमा लैजान सकिन्छ कि भन्ने आशा पनि मर्दै गएको थियो । धेरैमा १०००/१२०० मत आउने अनुमान थियो ।

तर डा. शेखरले बेलाबेला १७०० सम्म मत आउने दाबी गरेको उनी निकटका एक नेता बताउँछन् । सोमबार मतदान सकियो, झिसमिसेमा मत गणना शुरु भयो । ५ बज्दानबज्दै १०० मत गणना गर्दा कसले कति पाए नेताहरुको मोबाइल मोबाइलमा पुग्यो । देउवाले ५० मत पाउँदा शेखरले ३५ मत पाएको एसएमएसले नेताहरु एकाएक उत्साहित भए । उनीहरुलाई लाग्यो, दोस्रो चरणमा पुग्छ कि क्या हो ? अन्तिम अन्तिमतिर देउवाले जित्ने नै भए भन्ने लाग्यो ।

बहुमतका लागि २३४०, तर पनि देउवालाई ८८ मत पुगेन । उनले २२८८ पाए । दोस्रो स्थानमा रहेका शेखरले १७०२ मत पाए भने प्रकाशमान सिंहले ३७१, विमलेन्द्र निधिले २५० र कल्याण गुरुङले २२ मत पाए । अर्थात् देउवाले पहिलो चरणमा नजितेको मात्र होइन, विपक्षमा बहुमत थियो ।

एकाएक पासा पल्टियो

दोस्रो चरणमा मतदान हुने भएपछि शेखर र उनको टीमका नेताहरुलाई लाग्यो, अब जितिन्छ । किनकी सभापतिमा चारै जनाको एजेण्डा थियो, नेतृत्व परिर्वतन । निधिले त प्रकाशमानसँग कुरा गर्नुस्, म साथ दिन्छु भनेर वचन दिएका थिए । सिंहले पनि दोस्रो चरणमा साथ दिन्छन् भन्नेमा नेताहरु ढुक्क थिए ।

दोस्रो चरणमा मतदान हुने भएपछि डा. शेखर आफैं प्रकाशमान सिंहलाई भेट्ने तयारीमा जुटे । नेताहरुले सिंहको प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिएका विश्वप्रकाश शर्मा लगायतमार्फत् पहल थाले । उनीहरुले प्रधानमन्त्री दिने प्रतिवद्धता, समूहमा हिस्सेदारी लगायतका एजेण्डाको सूची पनि थमाइदिए ।

तर डा. शेखरले प्रकाशमानलाई भेट्नुअघि देउवा पक्षका नेता तथा सुदूरपश्चिम प्रदेशका सभापति वीरबहादुर बलायर लगायतका नेताहरुले राति नै भेटिसकेका रहेछन् । त्यसपछि क्रमशः बालृकष्ण खाँण र देउवा आफैं पुगे र, सिंहले नेतृत्व परिर्वतनको एजेण्डा छाडेर देउवालाई समर्थन गर्ने निर्णय गरे । त्यसको प्रभाव निधिमा पनि पर्‍यो, उनले पनि देउवालाई समर्थन गर्ने निधो गरे ।

नेताहरुका अनुसार, रामचन्द्र पौडेल र शशांक कोइरालाले समेत देउवालाई समर्थन गर्दै वक्तव्य निकाल्ने त होइन भन्ने अवस्था आयो । डा. शशांकलाई रोक्न महामन्त्रीका प्रत्यासी डा. रिजाल गए, नेताहरुले पौडेल र पहिलो चरणमा देउवालाई समर्थन गरेका कृष्ण सिटौलासँग छुट्टाछुट्टै भेटवार्ता गरे ।

शेखरले सोचेभन्दा धेरै मत ल्याएको प्रतिक्रिया दिएका सिटौलाले साथ भने दिने भएनन् । रामचन्द्र र शशांक मौन नै बस्ने भए । त्यतिखेरै शेखरले जित्ने आशा मरिसकेको थियो ।

नेताहरुले शेखरलाई सोधे : तपाईं के गर्ने ?

नेताहरुका अनुसार दोस्रो चरणमा प्रकाशमान र विमलेन्द्रले साथ दिएको भए मतदानमा नगई शेखरलाई समर्थन गर्न देउवालाई आग्रह गर्ने अवस्था आउने थियो । तर पासा पल्टियो, देउवा समूहका नेताहरुले त्यही प्रस्ताव शेखरलाई राख्न थाले ।

शेखरको समूहमा पनि पहिलो चरणमा पाएको भोट जोगाउन सक्ने कि नसक्ने चिन्ता थियो । त्यसपछि चन्द्र भण्डारी, गगनकुमार थापा, बद्री पाण्डे लगायतका नेताहरुले डा. शेखरलाई भेटे । उनीहरुले सोधे, तपाईंको इच्छा के हो ?

डा. शेखरका लागि यो प्रश्न अप्रत्यासित थियो । त्यसैले उनले भने, ‘मेरो इच्छा ! लड्ने ।’

बरु नजिकै रहेका गगनलाई ? हेरेर सोधे, ‘तिम्रो के छ ?’

उनी पनि प्रतिस्पर्धा गर्नुपर्ने पक्षमा उभिए । तर देउवा समूहका नेताहरुले दोस्रो चरणमा हारिहालिन्छ, सम्वाद गरौं, सहमति खोजौं भनेर निरन्तर लबिङ गरेका थिए । त्यो सन्देश छलफलमा सहभागी नेताहरुसम्म पनि पुगेको थियो ।

नेता अर्जुननरसिंह केसीले चुनाव लड्ने कि नलड्ने भन्ने पनि प्रश्न हो भनेर कड्किएपछि च्याप्टर क्लोज भयो ।

छलफलको विषय बन्यो, दोस्रो चरणमा भोट बढ्छ कि घट्छ ? धेरैले घट्ने अनुमान गर्दा शेखर कोइरालाले बढ्छ भने । महामन्त्रीमा उम्मेदवार गगनले बढाउनुपर्छ भनेपछि नेताहरुले लक्ष्य निर्धारण गरे, ४० प्रतिशत मत पुर्‍याउने ।

कांग्रेस प्रजातान्त्रिकसँग पार्टी एकता सुरु गरेपछि ६०/४० को भागवण्डा शुरु गरेको कांग्रेसमा ४० प्रतिशतको खास अर्थ रहने नेताहरुको तर्क थियो । शेरबहादुरले त्यही ४० प्रतिशतलाई आफ्नो आधार बनाएर सभापति भएका थिए भने पछिल्लो समय रामचन्द्र पौडेलले पनि ४० प्रतिशतको आधारमा गुट चलाएका थिए ।

नभन्दै डा. शेखरले दोस्रो चरणमा भोट थपेका छन् र ४० प्रतिशत पुर्‍याएका छन् । दोस्रो चरणमा खसेको ४ हजार ६२३ मतमध्ये २७३३ ल्याएर देउवा सभापति निर्वाचित हुँदा शेखरले १८५५ मत पाए, जुन ४०.१३ प्रतिशत हो ।

‘अघिल्लो दिन शेरबहादुरलाई गएको कम्तीमा १०० भोट तान्ने हाम्रो लक्ष्य थियो, त्यसमा सफल भयौं,’ समूहका एक नेता भन्छन् । उनका अनुसार पहिलो चरणमा प्रकाशमान सिंहले पाएको करिव ५० र विमलेन्द्र निधिले पाएको २० भोट दोस्रो चरणमा शेखरलाई आएको छ । पहिलो चरणमा शेखरले पाएको करिव ७० भोट दोसो चरणमा देउवाले पाएको नेताहरुको विश्लेषण छ ।

शेखर टीम र अबको बाटो

सभापतिमा ४० प्रतिशत मत पाएको यो टिमबाट पदाधिकारी र केन्द्रीय समितिमा कतिजना निर्वाचित हुन्छन् अनुमान गर्न गाह्रो छ । तर गण्डकी र लुम्बिनी प्रदेशको सभापति तथा २५ भन्दा बढी जिल्ला सभापति यही समूहमा जोडिएका छन् ।

अब यो टिमको नेता डा. शेखर कोइराला हुन् । मत दिने महाधिवेशन प्रतिनिधिलाई धन्यवाद दिन बुधबार प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा नेताहरुले आफूहरुको यो विचार समूहको प्रतिनिधित्व शेखरले गर्ने बताएका छन् । यो समूहमा अभिभावकीय भूमिकामा अर्जुननरसिंह केसी, बलबहादुर केसी र डा. रामशरण महत हुनेछन् । पदाधिकारीमा चुनाव लडेका नेताहरु रहने नै भए, जसमध्ये मिनेन्द्र रिजाल ‘मेजर प्लेयर’का रुपमा रहने एक नेता बताउँछन् ।

यो समूहमा अब रामचन्द्र पौडेल, शशांक कोइरालाहरु रहने सम्भावना कम छ । किनकी महाधिवेशनका क्रममा दुबैले खेलेको भूमिकाप्रति नेताहरु सन्तुष्ट छैनन् । मतदानमा भाग नलिएका नेता पौडेलले दोस्रो चरणको मतदान अघि महाधिवेशन प्रतिनिधिहरुलाई धन्यवाद दिन कार्यक्रम राखेर शेरबहादुरलाई मञ्च दिएपछि देउवासँग मिलेको भनेर उनीविरुद्ध नाराबाजी नै गरेका थिए ।

नेताहरुले यो विचार समूहलाई कोइराला होइन, शेखर टीमका रुपमा स्थापित गर्न चाहेका छन् । एक नेता भन्छन्, ‘यो कोइराला होइन, शेखर समूह हो । किनकी उहाँले आर्जन गरेको शक्ति लिगेसीबाट होइन, हामी सबैको प्रयासबाट हो ।’

यो समूहको अबको बाटो प्रष्ट छ, सभापति देउवा सुध्रिए सहकार्य गर्ने, नभए संघर्ष । ४० प्रतिशत आफूहरुको शक्ति भएको, तर हिजो जस्तो भागवण्डा लिएर पार्टनर अफ क्राइम नबन्ने नेताहरु बताउँछन् । डा. शेखर कोइरालाले आफूले नयाँ राजनीतिक यात्रा शुरु गरेको भन्दै बुधबारको धन्यवाद दिन आयोजित कार्यक्रममा भनेका छन्, ‘जसरी साढे ५ वर्ष पार्टी बेथितीका हिसाबले चल्यो, त्यसैगरी चल्न थाल्यो भने हामी सशक्त रुपमा प्रस्तुत हुनेछौं ।’

लेखकको बारेमा
राजकुमार श्रेष्ठ

राजकुमार श्रेष्ठ अनलाइनखबर डटकमका सहायक सम्पादक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?