+
+

सुदूरपश्चिममा बजेट अभावले जनता आवास कार्यक्रम प्रभावित

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १ गते ९:५१

१ पुस, धनगढी । सुदूरपश्चिम प्रदेशमा बजेट अभावले जनता आवास कार्यक्रमअन्तरगत थप घर निर्माणमा समस्या हुने देखिएको छ ।

आर्थिक वर्ष २०७६/७७ मा कोरोना भाइरसको संक्रमणका कारण घरधुरी छनौट गर्न नसकेको सहरी विकास तथा भवन निर्माण कार्यालयले दोस्रो वर्ष छनौट गरेको थियो ।

तर आर्थिक वर्ष २०७७/७८ मा कैलाली र कञ्चनपुरमा छनौट भएका ४३७ घर अहिले पनि निर्माणको चरणमा रहेको सहरी विकास तथा भवन निर्माण कार्यालयका इन्जिनियर एव्म सूचना अधिकारी भूपेन्द्र सिंहले जानकारी दिए । उनकाअनुसार कैलालीमा २०० र कञ्चनपुरमा २३७ घर निर्माणको चरणमा छन् ।

कार्यालयले प्रतिघर तीन लाख ३६ हजार रुपैयाँका दरले सम्बन्धित घरधनीलाई बजेट भुुक्तानी गनर्ुुपर्नेमा हालसम्म पहिलो किस्ताबापतको ९० हजार रुपैयाँ वितरण गरिएको सिंह बताउँछन् । दोस्रो र तेस्रो किस्ता भने कामका आधारमा भुुक्तानी दिइने बताउँदै सिंहले अहिलेसम्म निकासा नदिइएको बताए ।

बजेट अभाव

प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले चालुु आर्थिक वर्षमा जनता आवास कार्यक्रमका लागि भन्दै १० करोड ८१ लाख रुपैयाँ बजेट पठाएको छ । मन्त्रालयबाट कैलालीका लागि पाँच करोड ७६ लाख र कञ्चनपुरका लागि पाँच करोड पाँच लाख बजेट आएको सहरी विकास तथा भवन निर्माण कार्यालयका प्रमुख गोविन्द देवकोटाले जानकारी दिए ।

आर्थिक वर्ष २०७५⁄७६ मै छनौट भएर निर्माण गरिनुपर्ने चार सय ३७ घर कोरोना महामारीका कारण तीन वर्षदेखि निर्माणकै चरणमा छन् ।

प्रदेश सरकारले निकासा गरेको बजेट हाल निर्माण भइरहेका घरका लागि पुग्ने देखिए पनि सहरी विकास तथा भवन निर्माण कार्यालयले चालु वर्षमा थप घर निर्माण गर्नमा भने समस्या हुने देखिन्छ ।

‘हामीले जनता आवास कार्यक्रमअन्तरगत कैलाली र कञ्चनपुरमा कुल सात सय ५६ घर निर्माण गर्ने लक्ष्य राखेका छौँ’ प्रमुख देवकोटाले अनलाइनखबरसँग भने, ‘४३७ घर निर्माणको चरणमा छन् भने थप ३१९ घर छनौटको प्रक्रियामा छन् । तर ती घर बनाउन अहिलेको बजेटले पुग्दैन्, त्यसैले हामी थप बजेट माग गछौँ ।’

देवकोटाका अनुसार अहिले मन्त्रालयले पठाएको बजेट के-कति खर्च हुन्छ भन्ने यकिन भइसकेको छैन । त्यो यकिन गरेर मात्र थप आवश्यक पर्ने बजेट माग गरिनेछ । त्यसपछि घरधुरी छनौटको प्रक्रिया पनि अघि बढाउने देवकोटाले जानकारी दिए ।

जनता आवास कार्यक्रमअन्तरगत सरकारले विपन्न समुदायका लागि घर निर्माण गर्दै आएको छ । विगतमा संघीय सरकारले कार्यान्वयन गरिरहेको यो कार्यक्रम अहिले प्रदेश सरकारको जिम्मामा छ ।

जनता आवास कार्यक्रमअन्तरगत सहरी विकास तथा भवन निर्माण कार्यालयले १६७ घर निर्माण गरेको छ ।

आर्थिक वर्ष २०७५/७६ मा छनौट भएका १७१ मध्ये १६७ घर निर्माण भएको कार्यालयले जनाएको छ । जस अन्तरगत कैलालीमा ६७ र कञ्चनपुरमा १०० घर निर्माण गरिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?