+
+

युरोपमा ओमिक्रोनको त्रास: फ्रान्सले बेलायती यात्रुमाथि रोक लगायो 

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २ गते १०:२५

२ पुस, काठमाडौं । फ्रान्सले बेलायतबाट कामको सिलसिलामा वा घुम्न आउने यात्रुमाथि प्रतिबन्ध लगाउने भएको छ । कोभिड-१९ को नयाँ ओमिक्रोन भेरियन्ट फैलिन नदिनका लागि बेलायती यात्रुमाथि रोक लगाइने भएको हो ।

बिहीबार फ्रान्स सरकारले एक विज्ञप्ति जारी गर्दै शनिबार मध्य रातदेखि बेलायतबाट कामको सिलसिलामा वा भ्रमण गर्न आउने यात्रुलाई रोक लगाउने जानकारी गराएको छ । अन्य प्रयोजनका लागि बेलायतबाट फ्रान्स आउने व्यक्तिले यात्रा गर्नुपर्ने आवश्यक कारण खुलाउनु पर्ने विज्ञप्तिमा उल्लेख छ ।

‘बेलायतमा ओमिक्रोन भेरियन्ट तीव्र फैलिइरहेका कारण सरकारले त्यहाँबाट आउने र जाने दुबैका लागि आवश्यक कारण देखाउनुपर्ने नियम पुन: लागू गर्ने निर्णय गरेको हो’, विज्ञप्तिमा भनिएको छ । तर फ्रान्सेली र ईयू नागरिकले बेलायतबाट फ्रान्स आउन सक्ने सरकारको भनाइ छ ।

बेलायतबाट फ्रान्स फर्किने नागरिकले २४ घण्टाभित्रको नेगेटिभ पीसीआर रिपोर्ट देखाउनु पर्ने र सबै यात्रुले अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने फ्रान्स सरकारका प्रवक्ता गेब्रियल अट्टलले बताए । ‘फर्किने मानिसले सम्बन्धित एपमा नाम दर्ता गरी आफूले चाएको स्थानमा ७ दिन सेल्फ-आइसोलेशनमा बस्नु पर्नेछ’, उनले भने ।

तर फ्रान्समा गरिएको पीसीआर रिपोर्ट नेगेटिभ आएको खण्डमा सेल्फ-आइसोलेशनको अवधि ४८ घण्टामा झार्न सकिने पनि अट्टलको भनाइ थियो । बेलायतमा दैनिक संक्रमितको संख्या महामारी सुरु भएयताकै उच्च बिन्दुमा पुगेपछि फ्रान्सले पछिल्लो कदम चालेको हो ।

बुधबार बेलायतमा ७८ हजार ६१० जना नयाँ संक्रमित थपिएका छन् । जुन संख्या कोभिड महामारी सुरु भएयताकै धेरै हो । त्यहाँ नयाँ भेरियन्ट ओमिक्रोनका १० हजारभन्दा बढी संक्रमित फेला परिसकेका छन् । निकै संक्रामक मानिएको ओमिक्रोनका संक्रमित बढ्न थालेपछि प्रधानमन्त्री बोरिस जोनसनले संक्रमणको व्यापक लहर सुरु हुने चेतावनी दिइसकेका छन् ।

युरोपमा समेत ओमिक्रोन त्रास बढिरहेको छ । बुधबार मात्रै युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनले ईयूमा आबद्ध २७ मुलुकमा मध्य जनवरीसम्म ओमिक्रोन प्रमुख भेरियन्ट भएर देखा पर्ने चेतावनी दिइसकेकी छन् ।

पछिल्ला हप्ता एकातिर डेल्टा भेरियन्टका संक्रमित बढिरहेको र अर्कोतिर ओमिक्रोन फैलिने क्रम जारी रहेका कारण युरोपेली मुलुकले दोहोरो चुनौती सामना गरिरहेको र संक्रमितको संख्या बढ्दा अस्पतालमा थप चाप परेको पनि भोन डेर लेयनले बताइन् ।

‘हामीले बिरामी हुने मानिसको संख्या बढिरहेको, अस्पतालमा थप चाप देखिएको र मृतकको संख्या वृद्धि भइरहेको देखेका छौं’, भोन डेर लेयनले युरोपेली सांसदसमक्ष भनिन्, ‘र बढी संक्रामक नयाँ ओमिक्रोन भेरियन्ट नजिकै आइरहेको कुराले म बढी चिन्तित भएकी छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?