+
+

क्रिकेटमा गुजुल्टिएका गाँठा र समाधानका सूत्र

गोविन्द अधिकारी गोविन्द अधिकारी
२०७८ पुष ४ गते ७:०३

अहिलेको चिसो मौसम पनि क्रिकेटको गञ्जागोलले तातिन थालेको छ । पछिल्लो समय क्यानले चार जनालाई कारबाही गरेपछि खेलाडी र क्यानबीच दूरी बढेको देखिन्छ । सामाजिक सञ्जालमा क्यानको विरोध र खेलाडीको समर्थनमा भित्ता रङ्गिएको छ । केही फ्यानहरूले खेलाडीले अनुशासन पालना नगरेको भनेर आफ्नो विचार राखेका छन् ।

खेलाडीले न्याय पाउनुपर्छ, कारबाही फिर्ता हुनुपर्छ तर अनुशासन तोड्ने परम्परा अबदेखि पूर्णरूपमा बन्द हुनुपर्छ । क्यानले भविष्यमा खेलाडीको जुनसुकै समस्या अनि गुनासो कुनै पनि बेला सुन्न र समाधान गर्नलाई एउटा समिति बनाउन जरुरी छ । खेलाडीलाई सीधै असर गर्ने निर्णय लिनुअघि एकपटक प्रशिक्षक, कप्तान र उप-कप्तानसँग सल्लाह गरेर पारित गर्दा विवाद कम हुनेछ ।

वर्गीकरणमा नसमेटिएको केही खेलाडीलाई थप्ने लगायत यस सम्बन्धमा देखिएका अन्य समस्याको समाधान चाँडै गर्नुपर्छ । फेरि एक/दुई जनालाई न्याय गर्ने भन्दैमा अरु ५/६ खेलाडीलाई अन्याय नहोस् । खेलाडीले कुनै लोभी-पापीको पुच्छर समातेर पार्टीको कोठाकोठा धाउने, लगानीकर्तालाई क्यानसँग स्पोन्सर नगर भन्दै क्यान विरुद्ध मोर्चाबन्दी गर्ने गलत काम तत्कालै रोक्नुपर्छ ।

केही फ्यानहरू क्यानलाई पनि कारबाही गर्नुपर्छ भन्दै विना अर्थ उफ्रिन्छन् । कारबाही भनेको के सरकारले हालको क्यान विघटन गरेर नयाँ तदर्थ समिति बनाएर नेपाल क्रिकेट सधैंको लागि ब्यान्ड गर्न आईसीसीलाई बाटो खोल्नु हो । कारबाही क्यानलाई होइन त्यहाँ काम नलाग्ने अनि क्यान आफ्नो पेवा सम्झेर मेवा खाने पदाधिकारीलाई अबको दुई वर्षमा हुने चुनावमा प्रतिनिधिले आफ्नो मत दिएर गर्नेछन् ।

गुटबन्दी थाहा पाउन गाह्रो छैन । कसले कसलाई फलो गर्‍यो, कसलाई फेरि अनफलो गर्‍यो भन्दै फ्यानहरूले यो ठीक कि त्यो ठीक भन्दै विभाजित हुँदै सामाजिक सञ्जालमा रोइलो देख्न सकिन्छ । फ्यानहरूको काम भोलिको दिनमा राष्ट्रिय टीममा कुन कुन गुटबाट कति खेलाडी पर्‍यो भन्दै खोज्नुपर्ने अवस्था आएको हो त । टी-ट्वान्टी आई विश्वकप छनोट लगायत ओडीआई सिरिज आउँदैछ । हामीसँग ओडीआई स्टाटस अर्को चार वर्ष कायम राख्ने चुनौती पनि छ । सबैले क्रिकेटलाई माथि राखेर आफ्नो ईगो र व्यक्तिगत स्वार्थ छाडेर जति सकिन्छ छिटो समस्या समाधान गर्न एकदम आवश्यक छ ।

पारसजी तपाईंले सन् २०१४ मा क्यान विरुद्ध जे गर्नुभयो (त्यो बाध्यात्मक थियो) अहिले ज्ञानेन्द्रले त्यही पछ्याउनुपर्छ भन्नुहुन्छ भने यो एकदम घातक हुनेछ । तपाईं भविष्यमा क्यानको नेतृत्वमा वैधानिक प्रक्रियाबाट आउनुभयो भने एकदम राम्रो हो तर गलत बाटोबाट त्यहाँ पुग्नुभयो भने त्यो बेला ऐना हेरेर आफैंलाई प्रश्न गर्नुपर्ने अवस्था नआओस् ।

कसैको नियत सफा छ, इमानदार हुनुहुन्छ र जीउज्यान लगाएर क्रिकेटमा केही गर्ने चाहना छ तर गलत बाटोबाट कसैको बुई चढेर भ्यागुता उफ्रेको जसरी छिटो उड्न खोज्नुभयो भने भुईंमा पछारिन समय लाग्दैन

त्यस्तो दुर्भाग्य भो भने अनुशासनहीनताको पुरानो बिरुवा त्यो बेला बूढो रुख भएर आफैंलाई प्रहार गर्नेछ । त्यसैले फेरि पनि आग्रह गर्दैछु- अनुशासनहीनताको बिरुवालाई अहिले मलजल गर्दा भविष्यमा यसले कस्तो रूप लिन्छ बेलैमा सचेत हुन जरुरी छ ।

तपाईं मैदान बाहिरको कप्तान हो । समय छँदै समस्या समाधान गर्ने भूमिका खेल्न अवसर नगुमाउनुहोस् । हामी खेलाडीको फ्यान हौं तर अनुशासन तोड्ने गलत कदमको आँखा चिम्लेर समर्थन गर्न सक्दैनौं । खेलाडीलाई लक्षित गरेर व्यक्तिगत प्रहार नगरौं तर गलत कदमलाई बेलैमा खबदारी गरौं ।

कोच पुबुदुको पहिले यस्तै माहोलमा बिदाइ भयो । अहिले स्वागत गर्ने बेलामा पनि पुरानै अवस्था आउनु भनेको फेरि पनि कोचको अपमान गर्नु हो । यदि कोचलाई स्वागत गर्ने हो भने शुरुमा छिटो उचित निकास दिनुपर्छ । अनि मात्र उहाँप्रति विशेष सम्मान हुनेछ । फेरि पनि यसलाई लम्ब्याउने र कोच आएपछि उहाँले समाधानको पहल गर्नुपर्छ भन्नेतिर लाग्नुहुँदैन ।

क्यानबारे केही कुरा

क्यानको विरोध हामी सबैले पटकपटक गर्दै आएको हो । क्यानले जुन गतिमा काम गर्नुपर्ने हो त्यो गरेको छैन । थुप्रै गल्ती कमी–कमजोरीहरू छन् । अहिलेको नेतृत्वबाट धेरै आशा गर्न सकिन्न भलै त्यहाँ केही राम्रा मान्छे पनि छन् । कोरोनाले गर्दा पनि सोचे जस्तो काम गर्न सजिलो अवश्य छैन । क्यान अझै पनि पूर्ण स्वतन्त्र भएको छैन । अझै आर्थिक पक्षमा आईसीसीको रेखदेखमा छ । क्यानले खेलाडी, फ्यान, स्टक होल्डर लगायत धेरैको विश्वास जितेर धेरै काम गर्न बाँकी नै छ ।

क्यानलाई जवाफदेही, पारदर्शी र जिम्मेवार बनाउन सर्वप्रथम संस्था बलियो र विश्वासिलो हुनुपर्छ । त्यसो भयो भने नेपाली क्रिकेट खेलाडी सबैलाई फाइदा हुनेछ । अबको दुई वर्षपछि हुने चुनावबाट धेरै आशा गर्न सकिन्छ । केही पूर्व पदाधिकारी पूर्व खेलाडी क्यानविरुद्ध यसरी लागेका छन् कि मानौं संस्थालाई कमजोर अनि बदनाम गरेर चोर बाटोबाट त्यहाँ जान सकियोस् । क्यानमा जाने रहर छ भने गलत प्रक्रियाबाट वा कसैको पुच्छर समातेर होइन, विधिसम्मत रूपमा हुने दुई वर्षपछिको चुनावबाट आउनुपर्छ । क्यान बाहिरको अभिभावक (गलत नियत भएको) ले अहिले हात दिए पनि उसको एउटा स्वार्थ पूरा भयो भने अर्को स्वार्थ पूरा गर्न फेरि अर्कोलाई प्रयोग गर्छ । अनि पहिले हात समातेको अभिभावकले पछि लात हान्नेछ ।

फेरि पनि भन्छु कसैको नियत सफा छ, इमानदार हुनुहुन्छ र जीउज्यान लगाएर क्रिकेटमा केही गर्ने चाहना छ तर गलत बाटोबाट कसैको बुई चढेर भ्यागुता उफ्रेको जसरी छिटो उड्न खोज्नुभयो भने भुईंमा पछारिन समय लाग्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?