 
																			६ पुस, काठमाडौं । कलंकीको लामपाटीस्थित मायाज भेन्यु बैंकेट रेष्टुराँ एण्ड बार मंसिर २२ गते देखि बन्द छ । बिहे भोजमा सहभागीलाई गन्हाएको खसीको मासु खुवाएको आरोपमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले यो पार्टी प्यालेसको सञ्चालन अनुमति निलम्बन गरेको छ । पार्टी प्यालेसले उपभोक्तालई खुवाएको मासुको प्रयोगशाला परीक्षणको नतिजा भने आउन बाँकी छ ।
बिहे र पार्टी चल्ने पर्वहरुको सिजनमा काठमाडौंको मुख्य बजार क्षेत्रको पार्टी प्यालेसको खानामा कैफियत देखिएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनुगमन बढाएको छ । दुई सातामा डेढ दर्जन पार्टी प्यालेसको अनुगमन गर्दा अधिकांशले न्यूनतम् मापदण्डमा समेत ध्यान नदिएको पाइएको विभाग बताउँछ ।
पार्टी प्यालेसहरुले सरसफाइ ध्यान नदिने, खाद्यान्नको उचित भन्डारण नगर्नेदेखि कमसल खाद्यवस्तु चलाउनेसम्मको लापरबाही पाईएको विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत मोहनकृष्ण मर्हजनले बताए ।
उनकाअनुसार पार्टी प्यालेसमा हुने बिकृति विगतमा पनि थिए, अहिले पनि देखिएको छ । आधुनिकताको नाममा अहिले सहरदेखि गाउँसम्म पार्टी प्यालेस संस्कृति मौलाउँदै गएको छ । पछिल्लो दुई वर्षमा ८०० वटा पार्टी प्यालेस थपिएका छन् । देशभर करिब १६ अर्ब लगानीका ८ हजार पार्टी प्यालेस संचालनमा छन् ।
पार्टी प्यालेसविरुद्धको गुनासो
उपभोक्ता मञ्च नेपालका अध्यक्ष प्रेमलाल मर्हजन केही समय अघि एक पार्टीमा सहभागी भए । उनले बफेमा लिएको फ्राई माछाका केही पिसमध्ये एउटा कुहिएको भेटियो । उपभोक्ता अधिकारको पैरवीमा दशकौं बिताएका उनले त्यसबारे आयोजकलाई बताए ।
अरु पाहुनाले पनि आयोजकलाई कुहिएको फ्राई माछाबारे सुनाएका रहेछन् । आयोजकले पार्टी प्यालेस सञ्चालकसंग त्यो गुनासो गर्दा हजारौं पिस माछामा झुक्किएर एक–दुई वटा बिग्रिएको पर्नसक्ने ठाडो जवाफ पाए । ‘अनि पार्टी आयोजकले नै पाहुनाहरुसंग माफी मागे’, महर्जन भन्छन् ।
कोरोना महामारीले केही समय थला परेपनि खुले लगत्तै पार्टी प्यालेसहरु नियमनको दायाराबाहिर पुगेको मर्हजनको बुझाई छ । सस्तो पर्ने भारतीय सुपर फाईन चामलको पुलाउ बनाउने, होलसेल बजारको कमसल तरकारी, म्याद सकिएको पेय पदार्थ किनेर महँगोमा बेच्नेदेखि उपभोक्तालाई बिल सिजक नदिनेसम्मको गुनासा उपभोक्ता मञ्चमा आएको उनले बताए ।
उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधब तिमिल्सिना पार्टी प्यालेसहरुले खुवाउने मासुको गुणस्तरबारे सबभन्दा धेरै गुनासा रहेको बताउँछन् । मरेका कुखुरा सस्तोमा किनेर पकाउनेदेखि खसी भनेर बाख्राको मासु दिनेसम्मको गुनासो आउने गरेको बताउँदै उनले भने, ‘त्यसपछि अति चर्को विल भिडाएको गुनासाहरु आएका छन् ।’
नियमनबाहिर पार्टी प्यालेस
जनताको स्वास्थ्य र महंगीको बिषयसँग प्रत्यक्ष जोडिएको पार्टी प्यालेस संस्कृति सहरदेखि गाउँ–गाउँ पुग्दा यसको नियमनमा सरकारी बेवास्ता अचम्मलाग्दो छ ।
उपभोक्ता संरक्षण ऐन २०७४ ले पार्टी प्यालेस र बैंक्वेट नियमन तथा अनुगमनको अख्तियारी स्थानीय तह, प्रदेश र जिल्ला प्रशासनलाई दिएको छ । केन्द्रिय तहमा वाणिज्य विभागले यो काम गर्ने कानुनी व्यवस्था छ । तर, यिमध्ये कुनै पनि नियकाबाट अनुगमन, नियमन भएको छैन ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक एवं सूचना अधिकारी हरि पंगेनी पार्टी प्यालेसहरुबारे गुनासा आएपनि अनुगमन गर्न नसकेको बताउँछन् ।
‘उपभोक्ताबाट गुनासहरु आएका छन्, त्यसतर्फ उचित ध्यान पुर्याएका रहेनछौं, तर अहिले अनुगमन गरिरहेका र्छौं,’ उनले भने, ‘केही दिन अघि कलकींको पार्टी प्यालेसमा कैफियत देखिएपछि अनुगमन बढाउनेगरी काम गरिरहेका छौं ।’
उपभोक्ता अधिकारकर्मी मर्हजन पार्टी प्यालेसको गुणस्तर नियमनमा स्थानीय सरकारहरु पनि निकै गैर–जिम्मेवार देखिएको बताउँछन् ।
न्यूनतम् मापदण्डमै हेलचेक्र्याईं
पार्टी प्यालेसको खाना, खाजा र पिये पदार्थको गुणस्तर र मूल्यबारे सरकारले हालसम्म छुट्टै मापदण्ड बनाएको छैन । खाद्य ऐन २०२३ लाई आधार मानेर स्वच्छताको आधारमा होटल रेष्टुराँको स्तरीकरण गर्न बनेको निर्देशिका २०७४ ले पार्टी प्यालेसलाई न्युनतम् मापदण्डमा बाँधेको छ ।
निर्देशिकामा यस्ता व्यवसाय दर्ता हुनुपर्नेदेखि खाडल, नाली र शौचालयबाट बग्ने सबै फोहोर पानी ढल निकासको व्यवस्थित प्रणालीमा जडान गर्नुपर्ने, खाना बनाउने, राख्ने स्थानबाट शौचालय टाढा हुनुपर्ने उल्लेख छ ।
त्यस्तै, मासुन र भेज खाना पकाउन अलग तेल हुनपर्ने, परिकारहरु स्वस्थ र स्वच्छ हुनुपर्ने, पकाएको र नपकाएको खाने कुरालाई मापदण्डअनुसारको तापक्रम वा चिस्यानमा राख्नुपर्ने उल्लेख छ ।
पकाएको खानेकुरालाई दुई घण्टा भित्र ५ डिग्री सेल्सियसमा भण्डारन गर्नु पर्ने, पुनः तताउँदा ७५ डिग्री सेल्सियस तापक्रम पुर्याउनु पर्ने, माछामासु जस्ता खाद्य पदार्थलाई ५ डिग्री भन्दा तलको तापक्रममा कोल्ड होल्डमा राख्नु पर्ने मापदण्डमा भनिएको छ ।
अनुगमन गर्दा यस्ता मापदण्ड पालना नगरेको पाइएको वरिष्ठ खाद्य अनुसन्धान अधिकृत मोहनकृष्ण मर्हजन बताउँछन् । ‘पार्टी प्यालेसमा राखिएको डेरि प्रडक्ट म्याद सकिएको पाईयो, यस्ता घटनाबाट उनीहरुको हेलचेक्रयाईं प्रष्ट्याँछ,’ मर्हजनले भने ।
‘गल्ती गर्न छुट कसैलाई छैन’
नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ महासंघका अध्यक्ष लिला जीसी पार्टी प्यालेसको व्यापारलाई नै असर गर्नेगरी भएको ‘छिटफुट घटना’ प्रति गम्भिर ध्यानाकर्षण भएको बताउँछन् । लगानी र रोजगारीका दृष्टिले देशको ठूलो उद्योगको रुपमा फष्टाएको व्यवसायमा खाद्य स्वच्छता र स्वस्थतामा कुनै खाले सौदावाजी नहुने उनले बताए ।
‘कोभिडपछि व्यवसाय पुनः सुरु हुने बितिक्कै स्वच्छता र शुद्धतामा कुनै कमि हुनुहुन्न भनेर व्यवसायीहरुलाई भनेका थियौं, तर केहीले कमजोरी गरेको सुनियोे,’ अध्यक्ष जीसी भन्छन्, ‘गल्ति गर्नेलाई कारबाहीको दायरामा ल्याइनुपर्छ । यसमा महासंघको सहमति छ ।’
पार्टी प्यालेसहरुमा हुने कमजोरीमा कतिपय अवस्थामा उपभोक्ता पनि दोषी रहने जिसिले बताए । उनका अनुसार, खासगरेर टार्ने उद्येश्यले आयोजना गरिने पार्टीहरुमा धेरै हेलचेक्रयाई हुन्छ ।
पार्टी धेरै हुने समयमा नियोजित रुपमा बजारमा मूल्य वृद्धि गरिँदा पनि पार्टी प्यालेसहरु मारमा परेको भन्दै उनले भने, ‘महँगी नियन्त्रणमा सरकारले काम गरे पार्टी प्यालेस व्यवसायीहरु सही बाटोमा हिँड्न अझ प्रेरित हुने थिए ।’
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4