
७ पुस, चितवन । चितवनमा आजबाट ई–पासपोर्ट (विद्युतीय राहदानी) वितरण सुरु हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी खेमराज पौडेलका अनुसार ई–पासपोर्ट विरणको शुभारम्भ चितवनका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले गर्ने छन् ।
उनले आज बुधवार अनलाइनबाट आवेदन भरेका २० जनालाई ई–पासपोर्ट दिइने जानकारी दिए । ‘केही दिन दैनिक २० जनाका दरले अनलाइनबाट आवेदन भरेकालाई ई–पासपोर्ट वितरण गर्छौं, यो हाम्रो ट्रायल फेज जस्तो पनि हो,’ सूचना अधिकारी पौडेलले भने, ‘अर्को आइतबारबाट यसलाई बढाउँदै लैजान्छौं ।’
अनलाइनबाट भरिने ई–पासपोर्टको लागि मिति र समय पहिले नै बुक गर्नुपर्ने हुन्छ । मोबाइलबाट पनि फारम भर्न मिल्छ । नागरिकता र फोटो ४ सय केबीसम्मको अपलोड हुने सूचना अधिकारी पौडेलले बताए ।
उनले आफैंले भर्न नसक्नेहरुले जिल्ला प्रशासन कार्यालयको हेल्प डेस्कमा आएर पनि कम शुल्कमा अनलाइनबाट फारम भर्न पाउने व्यवस्था गरिएको बताए ।
यस्तै अनलाइन फारम भर्ने सेवा दिने पसलहरुमा गएर पनि भर्न सकिने छ । त्यसका लागि शुल्क तोक्ने तयारी छ ।
सरकारले काठमाडौंस्थित राहदानी विभागबाट १ मंसिरदेखि ई–पासपोर्ट वितरण सुरु गरेको थियो ।
प्रतिक्रिया 4