
९ पुस, काठमाडौं । एक अध्ययनले कोभिड-१९ को नयाँ ओमिक्रोन भेरियन्टबाट संक्रमित मानिस अस्पताल गएर उपचार गर्नुपर्ने अवस्था अन्य भेरियन्टको तुलनामा ५० देखि ७० प्रतिशतले कम हुने देखाएको छ ।
बेलायतको स्वास्थ्य सुरक्षा निकाय (हेल्थ सेक्युरिटी एजेन्सी) ले गरेको एक अध्ययनले यसअघिका भेरियन्टको तुलनामा ओमिक्रोनका संक्रमितहरू अस्पताल गएर उपचार गर्नुपर्ने संभावना ५० देखि ७० प्रतिशतले कम हुने देखाएको हो ।
तर, बुस्टर डोज लगाएको १० हप्तापछि ओमिक्रोन संक्रमणबाट मानिसलाई जोगाउने खोपको क्षमता कम हुँदै जाने पनि अध्ययनमा भनिएको छ ।
अध्ययनका क्रममा अस्पताल भर्ना भएका ओमिक्रोनका १३२ संक्रमितसहित नोभेम्बरयता बेलायतमा देखिएका डेल्टा र ओमिक्रोन दुबै भेरियन्टका संक्रमितको अवस्थालाई विश्लेषण गरिएको थियो । अध्ययनपछि ओमिक्रोन संक्रमित मानिसलाई अस्पतालको आकस्मिक विभागमा लैजानु पर्ने अवस्था ३१ देखि ४५ प्रतिशतले कम हुने समेत देखिएको छ ।
स्वास्थ्य सुरक्षा निकायले आफ्नो अध्ययनको निष्कर्ष ‘उत्साहजनक’ भनेको छ । तर ओमिक्रोनका कारण ठूलो संख्यामा मानिसहरू अस्पताल आउन सक्ने समेत निकायको भनाइ छ ।
यसैबीच, बेलायतका स्वास्थ्य मन्त्री साजिद जाभिदले तत्कालै आगामी कदम निर्धारण गर्न हतार हुने बताएका छन् । प्रारम्भिक तथ्य ‘आशाजनक’ भएको र सरकारले उक्त तथ्यलाई हेरिरहेको उनको भनाइ थियो ।
तर ओमिक्रोनका लक्षण सामान्य भए पनि तीव रुपमा फैलिएका कारण अस्पतालमा चाप बढ्न सक्ने संभावना भने उच्च देखिन्छ ।
पछिल्लो समय बेलायतमा कोभिड-१९ का दैनिक संक्रमितको संख्या ह्वात्तै बढेका छन् । त्यहाँ बिहीबार १ लाख १९ हजार ७८९ जना नयाँ संक्रमित थपिएका छन् भने १४७ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4