
९ पुस, वीरगञ्ज । २०७५ चैत १७ गते आएको टोर्नाडो (आँधी)ले घर भत्काउँदा बाराको फेटा गाउँपालिका-१ भरवलीयाकी २२ वर्षीया गीतादेवी तीन महिनाको बच्चासँगै किचिइन् । केहीबेरपछि गाउँलेले आएर उद्दार गरे ।
शुरूमा राहतको रुपमा चाउचाउ र चिउरा आयो, पछि दालभात तरकारी गाउँमै पाक्न थाल्यो । तर, गर्भवती र सुत्केरीलाई चाहिने फलफूल, अण्डा, मासु लगायत खानेकुरा नपाउँदा गीतादेवीलाई आवश्यक पोषण र बच्चालाई आमाको दूध पुगेन ।
अहिले आमा र बच्चा दुवैको स्वास्थ्य कमजोर छ । ‘चिउरा, दालमोठ, चाउचाउ, बिष्कुट, तेल, दाल, चामल आउँथ्यो, त्यही खान्थ्यौं, खुवाउँथ्यौं । त्यसबाट सुत्केरी बुहारीलाई तागत पुगेन’, गीताकी सासु सुर्यवती देवी भन्छिन्, ‘उनको बेलाबेला रगत बग्न रोकिएको छैन । निको हुने गरी उपचार गराउन पनि सकिएन ।’
आमाबुवा, छोराबुहारी र तीन जना नातिनातिना भएको परिवारमा कमाउने एक्लो गीताको श्रीमान हुन् । सम्पत्तिको नाममा १० धुर घडेरीबाहेक केही छैन ।

भारतको नरकटीया माइती घर भएकी कलैया-१८ की पूजा पटेल सुत्केरी भएको १३ दिन मात्रै भएको थियो । माइतीघरमै हुँदा टोर्नाडो आयो । घर भत्किदा छोरीलाई जोगाउन खोज्दाखोज्दै उनको टाउको किच्यो । होस आउँदा उनी अस्पतालको बेडमा थिइन् । लामो समय बच्चा एकातिर, आमा अर्कोतिर भए । आमाछोरी दुवै अझ तंग्रिन सकेका छैनन् ।
टोर्नाडो आउँदा फेटामा गीतादेवी, पूजा जस्ता ३० जना सुत्केरी र गर्भवती थिए । सुत्केरीलाई घिउमा सुजी भुटेर दूधमा बनाएको हलुवा, अदुवा, सख्खर, माछा, मासु, अण्डा, स्याउ, अनार लगायत फलफूलका साथै गक्ष अनुसार सुत्केरी मसला बनाएर खुवाइन्छ । गर्भवतीलाई पनि सामान्य अवस्थामा भन्दा सकेसम्म पोषिलो खाना खुवाइन्छ ।
तर टोर्नाडोले घर भत्केर बस्नेखाने ठेगान नभएको समयमा गर्भवती र सुत्केरीहरुले सामान्य स्याहार पनि पाएनन् । त्यसको असर अहिलेसम्म पनि देखिएको महिला स्वयंसेविका बबितादेवी बताउँछन् । ‘राहतमा जे–जे आएका थिए बाँडेका थियौं’, उनले भनिन् ‘तर, गर्भवती र सुत्केरीहरुका लागि त्यो पटक्कै पुग्दो थिएन ।’
न बास, न गाँस
दिन पुग्नै लागेकी गर्भवती किरणदेवीले टोर्नाडो आउँदा जसोतसो ज्यान जोगाइन् । त्यसपछिका दिनमा चाउचाउ, बिष्कुट पाउँथिन्, तर, उनलाई खान मन लाग्दैनथ्यो । १५ दिनपछि त्रिपालमै सुत्केरी भइन् उनी ।
त्रिपालको बासमा गर्मी अत्याधिक हुन्थ्यो । बत्ती, पंखाको सुविधा थिएन । शिशु छटपटाउँथ्यो । फेरि आँधी आउने हो कि भन्ने डर पनि थियो । ‘बच्चालाई पोषिलो खुवाउन र गर्मीबाट जोगाउन सकिएन’, किरणदेवी भन्छिन् ‘१५ दिनपछि निमोनिया भएर आइसियूमा भर्ना गर्नुपर्यो ।’
टोर्नाडो आउँदा भारवलीयाकै रोभादेवी पनि सुत्केरी थिइन् । बस्ने घर थिएन, पोषिलो खान त परको कुरा दुई-तीन केही पनि पाकेन । उनको पेट दुख्थ्यो, कमजोरी जस्तो हुन्थ्यो । डाक्टरलाई देखाउन पैसा थिएन । आमालाई नै कुपोषण भएपछि बच्चा तन्दुरुस्त हुने कुरा भएन । ‘विरामी भइरहन्छ’, रोभादेवी भन्छिन् ।
गर्भवती बवितादेवी (२१)ले टोर्नाडो आएपछि पाँच दिनसम्म खान नै पाइनन् । त्यसपछि भुजा, चिउरा, बिष्कुट, चाउचाउ खाएर बसेको १५ दिनमा उनले त्रिपालमा छोरी जन्माइन् । टोलमा खाना पाक्न थालेपछि उनलाई थोरै राहत भयो । अहिले उनकी छोरी एकदमै कमजोर छिन् । ‘समय–समयमा ज्वरो आउँछ, पखाला पनि चलिरहन्छ’, बवितादेवी भन्छिन् ।
टोर्नाडो आउँदा लालमुनी खातुन (२६) आठ महिनाको गर्भवती थिइन् । घर भत्कदा उनको गोडा र जाँघमा गम्भीर चोट लाग्यो । बैशाख ८ गते शल्यक्रिया गरेर शिशु निकालिदा गोडा नै टेढो भएको रहेछ ।
१७ दिन अस्पताल बस्दा चिसोले भेटेर झनै गाह्रो भयो । अहिले पनि उनको गोडा दुखिरहन्छ । ‘आँधीपछि चाउचाउ, बिष्कुट जे मिल्थ्यो, त्यही खान्थ्यौं’, उनी भन्छिन्, ‘खानाको कारण पनि शरीर धेरै गल्यो ।’
सकेको गरियो : वडा अध्यक्ष
फेटा गाउँपालिका–१ भलुहीका वडा अध्यक्ष जयप्रकाश दास र वडा नम्बर ९ पुरैनियाका अध्यक्ष जाकिर अन्सारी टोर्नाडोपछि सुत्केरी र गर्भवतीलाई उचित ध्यान दिन नसकिएको बताउँछन् ।
‘अचानक विनाशकारी आँधी आएर सर्बत्र अस्तव्यस्त भयो, घाइतेको उपचार र मृत्यु भएकाको व्यवस्थापन प्राथमिकतामा पर्यो ’, दास भन्छन्, ‘सुत्केरी र गर्भवतीप्रति मनग्यै ध्यान पुर्याउन सकिएन ।’
तत्काल नसकेपनि पछि सक्दो मद्दत गरेको वडा अध्यक्ष अन्सारीको भनाइ छ । ‘सुरुको आपतकालमा नसकेपनि पछि हर्लिक्स, अण्डा, चना लगायत खानेकुरा दिएका हौं’, उनले भने, ‘गर्भवती र सुत्केरीका लागि त्यो प्रयाप्त भने थिएन ।’
विपदमा त्यस्ता महिलाका लागि छुट्टै टिम बनाएर काम गर्नुपर्ने अनुभव गरेको उनी बताउँछन् ।
वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसमा प्राध्यापन गर्ने भरवलियाका वीरेन्द्र साह आपतमा स्थानीय सरकार अलमलमा पर्दा गर्भवती र सुत्केरीको बिजोग भएको बताउँछन् ।
‘विभिन्न गैर–सरकारी संस्थाले गर्भवती र सुत्केरीका लागि पौष्टिक सामग्री दिए तर पालिकाले व्यवस्थापन गर्न सकेन’, उनले भने, ‘बरु आएको राहत सामाग्री समयमा वितरण नगरेर कुहाइदिए ।’
प्रतिक्रिया 4