+
+

कांग्रेसमा शेखर कोइरालाको वरियता २० औं नम्बरमा

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १० गते १९:४३

१० पुस, काठमाडौं । नेपाली कांग्रेसले १४ औं महाधिवेशनमा सभापतिमा पराजित नेता शेखर कोइरालाको वरियता २० औं नम्बरमा तोकेको छ ।

नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठकअघि सभापति शेरबहादुर देउवाले तोकेको वरियता अनुसार पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीपछि शेखर कोइरालालाई राखिएको हो ।

नयाँ वरियताअनुसार सभापति देउवा र पार्टीका उपसभापति, महामन्त्री र सहमहामन्त्रीहरु छन् । त्यसपछि पूर्वउपसभापति गोपालमान श्रेष्ठ, पूर्वमहामन्त्री शशांक कोइराला, पूर्वकोषाध्यक्ष चित्रलेखा यादव, पूर्वसहमहामन्त्रीहरु अर्जनुनरसिंह केसी, रामशरण महत र सुनील थापा रहेका छन् ।

त्यसपछि शेखरलाई राख्दा उनको वरियता २० औंमा परेको हो । १३ औं महाधिवेशनमा केन्द्रीय सदस्यमात्रै रहेका कोइरालाको त्यतिबेलाको वरियता ३५ औं नम्बरमा थियो ।

नेपाली कांग्रेसमा यसअघिको महाधिवेशनमा सभापति पदमा दोस्रो स्थानमा रहेका उम्मेदवार सभापतिपछिको वरियतामा रहने प्रचलन थियो ।

१३ औं महाधिवेशनमा देउवासँग पराजित रामचन्द्र पौडेलको वरियता देउवापछि दोस्रो स्थानमा कायम गरिएको थियो । त्यसअघि १२ औं महाधिवेशनमा सुशील कोइरालासँग सभापतिमा पराजित भएका देउवाको वरियता पनि दोस्रो स्थानमा कायम गरिएको थियो ।

नेपाली कांग्रेसका एक पदाधिकारीका अनुसार यो वरियता स्थायी होइन । ‘पहिलो बैठक भएकाले आज यो वरियता मिलाइएको हो, अब एक समिति गठन गर्ने र समितिको सिफारिसका आधारमा वरियताक्रम तय हुन्छ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?