+
+

‘काफल कम्ला’देखि ‘जुलुम कर्दिया’सम्म, यस्ता छन् साताका १० गीत

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ११ गते १४:१४

११ पुस, काठमाडौं । गत साता गायक प्रमोद खरेलका केही गीत युट्युबमा सार्वजनिक भए । त्यस्तै मिलन लामा, प्रकाश ओझादेखि विष्णु माझी, अस्मिता अधिकारी, शान्तिश्री परियारसम्मको स्वर रहेका गीतहरु युट्युबमा सार्वजनिक भए ।

यता स्वस्तिमा खड्का, नीता ढुंगानादेखि पल शाह, पुस्कल शर्मासम्मले अभिनय गरेका गीतका भिडियो युट्युबमा सार्वजनिक भए । गत आइतबारदेखि शनिबारसम्म चार दर्जन बढी गीतका भिडियो युट्युबमा सार्वजनिक भएका छन् । त्यसमध्ये १० गीतको चर्चा यहाँ चर्चा गरिएको छ ।

अस्मिताको स्वर र स्वस्तिमाको अभिनयमा ‘काफल कम्ला’

बुधबार ‘काफल कम्ला’बोलको गीतको नयाँ भर्सनको भिडियो सार्वजनिक गरिएको हो । गीतमा गायिका अस्मिता अधिकारीको स्वर छ । उनलाई जनक ताम्राकारले पनि साथ दिएका छन् ।

महेश ताम्राकारको शब्द तथा संगीत रहेको गीतलाई उदयराज पौडेलले एरेन्ज गरेका हुन् । भिडियोमा अभिनेत्री स्वस्तिमा खड्काको अभिनय छ । साथमा अभिनेता निश्चल बस्नेत विशेष भूमिकामा देखिएका छन् । असिम शाहको निर्देशनमा बनेको भिडियोलाई सौरभ लामिछानेले छायांकन तथा सम्पादन गरेका हुन् ।

पहिले नै स्रोताहरुले रुचाइसकेको गीतको यो भर्सनलाई पनि निक्कै रुचाइएको छ । टिकटकमा पनि यो गीत राम्रैसँग छाएको छ । भिडियोले चार दिनमा ११ लाख ३० बढी भ्युज पाउँदै युट्युब ट्रेण्डिङको चौथो स्थान ओगटेको छ । गायिका अस्मिताले गीतबाट पाएको राम्रो प्रतिक्रियाका लागि स्रोता–दर्शकलाई धन्यवाद दिएकी छन् ।

बीबी अनुरागीको ‘उड्यो मालचरा’

संगीतकार बीबी अनुरागीले गत आइतबार ‘उड्यो मालचरा’ बोलको गीत आफ्नै युट्युब च्यानलमा सार्वजनिक गरेका हुन् ।

बीबीको शब्द, संगीत र संगीत संयोजन रहेको गीतमा कलौटे गन्धर्व, मुसी गन्धर्व, विराज गन्धर्व, हेमराज गन्धर्व, सरस्वती गन्धर्व, मिलन गन्धर्व र भरत गन्धर्वको स्वर छ ।

गीतमा स्वर दिएका कलौटे गन्धर्व र मुसी गन्धर्वले यसअघि ‘जोडी परेवा’ बोलको गीत गाएका थिए । संगीतकार बीबी लेसानैदेखि सारंगी खेलाउँदै हुर्केका र गाउँबस्तीमा गीत गाएर आफ्नो साँझ बिहानको छाक टार्दै आएका कलौटे र मुसीलाई काठमाडौं ल्याएर ‘जोडी परेवा’ बोलको गीत रेकर्ड गराएका थिए । जुन गीतलाई स्रोता–दर्शकले रुचाएका थिए ।

मिराज अर्याल, डीबी लोहनी र अर्जुन लोहारको छायांकन रहेको ‘उड्यो मालचरा’मा उत्साह घिमिरे, वर्षा विश्वकर्मा, प्रकृति विश्वकर्मा, विन्दु जीएम, सुवास विश्वकर्मा, निशान्त विश्वकर्मा लगायतलाई देखाइएको छ । जीवन सेञ्चुरीको सम्पादन रहेको भिडियोले आइतबार दिउँसोसम्म युट्युबमा ६ लाख ५८ हजार बढी भ्युज पाएको छ । यो गीत युट्युबमा म्युजिकतर्फ ट्रेण्डिङ १ मा छ ।

डीआर सुजनको शब्द, संगीत तथा निर्देशनमा ‘जोडी मरेको’

गत आइतबार शान्तिश्री परियार र खिम विश्वकर्माको स्वर रहेको ‘जोडी मरेको’गीत सार्वजनिक गरिएको हो । यो गीतको भिडियोमा जीबी चिरन र रोशनी कार्कीको अभिनय छ । डीआर सुजनको शब्द तथा संगीत रहेको गीतलाई विनोद बाजुरालीले एरेन्ज गरेका हुन् । डीआर सुजनको कथा तथा निर्देशनमा बनेको भिडियोमा मायाप्रेममा विछोडिएपछिको कथा देखाउन खोजिएको छ ।

रेशम दर्लामीको छायांकन रहेको भिडियोलाई विकाश ज्ञवालीले सम्पादन गरेका हुन् । भिडियोलाई आइतबार दिउँसोसम्म युट्युबमा ५ लाख ६१ हजार बढीपटक हेरिएको छ ।

प्रमोदको स्वरमा ‘खुशी फिर्ता दे’

प्रमोद खरेलको स्वर रहेको ‘खुशी फिर्ता दे’ गीतको भिडियो गत बुधबार नै युट्युबमा सार्वजनिक गरिएको हो ।

स्वाभिमान सुवेदीको शब्द, कार्की जीको संगीत रहेको यो प्रेम विरहको गीतलाई विशाल निरौलाले एरेन्ज गरेका हुन् । विक्रम चौहानको निर्देशनमा बनेको भिडियोमा स्वाभिमान सुवेदी, रविन गिरी, अश्मी ढकाल लगायतको अभिनय छ । प्रकाश खड्काको छायांकन रहेको भिडियोलाई मिलन विश्वकर्माले सम्पादन गरेका हुन् । भिडियोले आइतबार दिउँसोसम्म युट्युबमा ३ लाख भ्युज पाएको छ । भिडियोमा युट्युबमा म्युजिकतर्फ ट्रेन्डिङ ४ मा छ ।

नीता र लोमसको अभिनयमा ‘तिम्रो आँखैमा’

अभिनेत्री नीता ढुंगाना र मोडल लोमस शर्माको अभिनय रहेको ‘तिम्रो आँखैमा’ गीतको भिडियो गत सोमबार सार्वजनिक गरिएको हो ।

प्रल्हाद सुवेदीको शब्द तथा संगीत रहेको गीतलाई कृष्ण केसीले एरेन्ज गरेका छन् । गीतमा शान्तिश्री परियार, कर्ण रसाइली र प्रल्हाद सुवेदीको स्वर छ । कुमार केसीको निर्देशनमा अजय रेग्मीको छायांकन रहेको भिडियोलाई प्रविन भट्टले सम्पादन गरेका हुन् । भिडियोलाई आइतबार दिउँसोसम्म ४ लाख बढी पटक हेरिएको छ । भिडियो युट्युबमा म्युजिकतर्फ ट्रेन्डिङ ६ मा छ ।

पुस्कल र रञ्जिताको अभिनयमा ‘तिम्रो के हाल छ’

‘तिम्रो के हाल छ’ बोलको गीत गत मंगलबार युट्युबमा सार्वजनिक गरिएको हो । यो गीतमा विष्णु माझी र अमितबाबु रोकायको स्वर छ । जगत बस्नेतको शब्द, अमितबाबुको संगीत रहेको गीतलाई विनोद बाजुरालीले एरेन्ज गरेका हुन् । प्रेम विरहको गीतको भिडियोमा गायक पुस्कल र मोडल रञ्जिता गुरुङको शीर्ष अभिनय छ ।

सिर्जन बराल (ऋषि)को निर्देशनमा बनेको भिडियोलाई आइतबार दिउँसोसम्म युट्युबमा २ लाख ४५ हजार बढीपटक हेरिएको छ । गीत युट्युब ट्रेन्डिङमा समेत उक्लिन सफल छ । राम केसीको छायांकन रहेको ‘तिम्रो के हाल छ’लाई अमृत चापागाईंले सम्पादन गरेका हुन् ।

फेरि ‘भत्काइदिन्छु बाख्राको खोर पनि’

गायक प्रकाश ओझाको स्वरमा रहेको कमेडी गीत ‘भत्काइदिन्छु बाख्राको खोर पनि’ पुनः रेकर्ड गरेर भिडियोसहित सार्वजनिक गरिएको छ ।

ओएसआर डिजिटलको प्रस्तुति रहेको गीतमा प्रकाश ओझाकै स्वर र संगीत रहेको छ । स्वरमा बबिना किरातीको समेत स्वर सुन्न सकिन्छ । डम्बर विकेलको शब्द रचना रहेको गीतलाई कृष्ण केसीले एरेन्ज गरेका छन् ।

यो केही वर्षअघिको निकै चर्चित गीत हो । वसन्त निरौलाको निर्देशनमा बनेको भिडियोमा प्रकाश ओझा स्वयंको अभिनय छ । साथै कृष्ण सिवाकोटी, विन्दा खतिवडा, विनय पौडेल, कमला पौडेल लगायतको अभिनय भिडियोमा देख्न सकिन्छ । दिव्यराज सुवेदीको छायांकन रहेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् । गत सोमबार सार्वजनिक भिडियोले १ लाख २२ हजार बढी भ्युज पाएको छ ।

प्रमोदको देश सम्झाउने गीत ‘विदेश’

प्रमोद खरेलको स्वर तथा पल शाहको अभिनयमा ‘विदेश’ बोलको गीत गत आइतबार सार्वजनिक गरिएको हो । सरला श्रेष्ठको शब्द, कृति न्यौपानेको संगीत र पुरुषोत्तम सुवेदीको एरेञ्ज रहेको गीतले राष्ट्रभाव बोकेको छ । सुब्रतराज आचार्यको निर्देशन रहेको भिडियोमा पलका अलावा सुवर्णजंग श्रेष्ठ र तुलसीदेवी श्रेष्ठको समेत अभिनय छ ।

उत्सव दाहालको छायांकन रहेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् । जीविकोपार्जनका लागि विदेशिन बाध्य एक युवकले मातृभूमि सम्झेर व्यक्त गरेका भाव गीत र भिडियोमा प्रस्तुत गरिएको छ । भिडियोले हालसम्म युट्युबमा २ लाख ७० हजार भ्युज पाएको छ ।

खुमन र शान्तिश्रीको स्वरमा ‘सानुको अंगालो’

लोकगायक खुमन अधिकारी र लोकगायिका शान्तिश्री परियारको स्वर रहेको ‘सानुको अंगालो’ बोलको गीत गत सोमबार सार्वजनिक गरिएको हो ।

विष्णु न्यौपानेको शब्द रहेको गीतमा खुमन अधिकारीकै संगीत छ भने गीतलाई विनोद बाजुरालीले एरेन्ज गरेका हुन् । मायाप्रेमको भाव समेटिएको गीतको भिडियोमा अभिषेक खड्का र गीता ढुंगानाको अभिनय छ ।

विक्रम चौहानको निर्देशन रहेको भिडियोलाई प्रकाश खड्काले छायांकन र लक्ष्मण चौहानले सम्पादन गरेका हुन् । आइतबार दिउँसोसम्म भिडियोलाई ३ लाख ९ हजार बढी पटक हेरिएको छ ।

मिलन लामाको ‘जुलुम कर्दिया’

धेरै वर्षको अन्तरालमा गायक मिलन लामाले नयाँ गीत ‘जुलुम कर्दिया’ सार्वजनिक गरेका हुन् । शुक्रबार मात्रै सार्वजनिक यस गीतमा मिलन र टीका पुनको स्वर छ । मिलनकै शब्द तथा संगीत रहेको गीतलाई झलक संगीतमले एरेन्ज गरेका हुन् । शिव विकको कोरियोग्राफी एवं निर्देशनमा बनेको भिडियोमा मिलन स्वयंका साथमा शकु शाहको अभिनय छ ।

रवीन्द्र बरालको छायांकन रहेको भिडियोलाई मिलन विश्वकर्माले सम्पादन गरेका हुन् । आइतबार दिउँसोसम्म भिडियोले झण्डै ६६ हजार भ्युज पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?