+
+

बुधबारसम्म वर्षा र हिमपातको सम्भावना

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ११ गते २०:२४
फाइल तस्वीर

११ पुस, काठमाडौं । पश्चिमी वायुको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपात तथा पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना देखिएको छ ।

यस प्रणालीको प्रभाव आगामी बुधबारसम्म कायम रहने जल तथा मौसम विज्ञान विभागका मौसमविद् प्रतिभा मानन्धरले बताइन् । उनले अनलाइनखबरसँग भनिन्, ‘पश्चिमी वायुको प्रभाव आज (आइतबार)देखि बुधबारसम्‍म देशैभरि रहन्छ। बिहीबार मात्रै हट्छ । त्‍यसैले उक्त अवधिमा अधिकतम र न्यूनतम तापक्रममा गिरावट आई चिसो बढ्ने सम्भावना छ ।’

उनका अनुसार सोमबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत अन्य पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । साथै दूरपश्चिम, कर्णाली प्रदेशलगायत अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको पनि सम्भावना रहेको उनले बताइन् ।

मौसमविद मानन्धरले भनिन्, ‘देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । साथै तराईका भू-भागमा बिहानको समयमा हुस्सु-कुहिरो लाग्छ ।’

देशभर चिसो बढ्नेक्रम रहेकाले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन समेत मौसमविद् प्रधानले बताइन् ।

यता, मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम चार दशमलव एक डिग्री र अधिकतम तापक्रम १७ दशमलव चार डिग्री सेल्सियस रहेको छ।

त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ४.९ डिग्री र सबैभन्दा धेरै भैरहवाको अधिकतम तापक्रम २८.३ डिग्री सेल्सियस रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?