+
+

सातामा एक नेपाली फिल्म : विदेशीलाई बाटो दिने ‘ट्रिकी स्टाइल’ ?

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १२ गते १२:२८

१२ पुस, काठमाडौं । असोज १० गतेबाट पुस अन्तिम सातासम्म नेपाल चलचित्र संघ अन्तर्गतको ‘चलचित्र प्रदर्शन व्यवस्थापन समिति’ले गरेको निर्णयमा दुई साताको अन्तरमा मात्र एक नेपाली चलचित्र रिलिज गर्न पाउने निर्णय गरिएको थियो ।

अब यो नियम वैशाख १ गतेसम्म लागू गरिने भएको छ । यसअनुसार अब वैशाख १ गतेसम्म कुनै पनि नेपाली चलचित्र एकसाथ जुध्न पाउने छैनन् । अर्थात, एक सातामा एउटा मात्र नेपाली चलचित्र रिलिज गर्नुपर्नेछ ।

चलचित्र संघ र निर्माता संघ मिलेर तयार पारेको यो नियमलाई मान्दै ‘चपली हाइट ३’ निर्माता अर्जुन कुमारले पुस १५ बाट पुस ३० गतेलाई चलचित्रको प्रदर्शन मिति सारिसकेका छन् ।

तर, नेपाली चलचित्रमा यो नियम लागू हुँदै गर्दा विदेशी चलचित्र भने स्वतन्त्र रुपमा रिलिज भइरहेका छन् । पुस २ गते एकाएक नेपाल भित्रिएको साउथ चलचित्र ‘पुष्पा’लाई हेर्ने हो भने पनि यो कुरा प्रष्ट हुन्छ ।

अझ अनौठो कुरा त के छ भने यहाँ विश्व बजारमा रिलिज भइसकेका चलचित्र पनि एक वा दुई सातापछि भित्रिन्छन् र विना रोकटोक रिलिज हुन्छन् । विश्व बजारमा ओटीटी प्लेटफर्ममा रिलिज भएको हिन्दी चलचित्र ‘अतरंगी रे’ नेपालमा हलमा रिलिज भयो । अर्थात्, ओटीटीमा रिलिज भएको चलचित्रलाई पनि नेपाली वितरकले हलमा रिलिज गर्न छाडेनन् ।

आइतबार चलचित्र संघमा आयोजना भएको पत्रकार सम्मेलनमा यही प्रश्न उठ्यो । नेपाली चलचित्रलाई एक सातामा एउटा मात्र रिलिज गर्न पाउनुपर्ने नियम बनाएर कतै वितरक र प्रदर्शकले विदेशीलाई बाटो छाडिदिने ‘ट्रिकी स्टाइल’ त बनाएका होइनन् भन्ने प्रश्न उठेको थियो ।

यसमा जवाफ दिँदै महासचिव अशोक शर्माले आफूहरुले विदेशी चलचित्रलाई महत्व दिएर नेपाली चलचित्रलाई पाखा नलगाएको स्पष्टीकरण दिए । उनले अगाडि भने, ‘हामी यहाँ अधिकांश ३० देखि ३५ वर्ष नेपाली चलचित्रका लागि नै बिताएका चलचित्रकर्मी छौं । हामीलाई पनि नेपाली चलचित्रको माया छ । यसैले मिडियाकर्मी साथीहरुले हाम्रो नियतमा शंका नगरिदिनुहोला ।’

अशोकले यसो भन्दै गर्दा उनकै कम्पनी डीसीएनले वितरण गरेको ‘चुरीफुरी’ नामक नेपाली चलचित्रले क्यूएफएक्सको काठमाडौं चेनमा एक शो पनि पाएन । जबकि, भारतमा ओटीटीमा रिलिज भएको ‘अतरंगी रे’ नामक चलचित्रले यहाँ मज्जैले शो कब्जा गर्‍यो ।

‘चपली हाइट ३’ले शो नपाउने भयले पुस २ गतेबाट पछि सर्दै गर्दा साउथको हिन्दी डब चलचित्र ‘पुष्पा’ले मल्टिप्लेक्स कब्जा गरेको थियो ।

यसैले एक सातामा एउटा मात्र नेपाली चलचित्र रिलिज गरेर विदेशी चलचित्रलाई बाटो अझै सहज बनाइदिने ‘ट्रिकी स्टाइल’मा वितरक र प्रदर्शक देखिएकोमा प्रश्न उठेको थियो ।

चलचित्र पत्रकार संघका अध्यक्ष दिनेश सिटौलाले नेपाली चलचित्रलाई पनि स्वतन्त्र रुपमा रिलिज गर्न दिनुपर्ने बताए । उनले कहीं नभएको नियम नेपालमा मात्र किन लागू हुन्छ भनेर प्रश्न गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?