+
+

धर्म र राजनीति

सन्देश ढकाल सन्देश ढकाल
२०७८ पुष १३ गते १२:२५

सर्वप्रथम त म यो स्पष्ट गर्न चाहन्छु कि यो मेरो नितान्त व्यक्तिगत विचार हो र यहाँहरूको फरक मतको सम्मान गर्छु। म हिन्दू सनातन धर्म मान्छु र अन्य सबै धर्मप्रति सम्मान प्रकट गर्न चाहन्छु। कुनै पनि धर्मप्रति मेरो द्वेष, घृणा छैन।

एक वरिष्ठ पत्रकारले केही वर्षअगाडि कुनै नेतालाई अन्तर्वार्ताको क्रममा सोधे- ‘धर्म र रिलिजन फरक कुरा हुन् ?’ ‘संविधानमा धर्मको विषयमा मौन बसिदिएको भए हुँदैनथ्यो ?’ त्यसको जवाफ त सम्झना भएन तर उनको प्रश्नमा दम थियो।

धर्मको खास अर्थ हो- कर्तव्य, सत्कर्म, लोकको रक्षा। महाभारतमा श्रीकृष्णले अर्जुनलाई दिएको गीता उपदेशमा बारम्बार ‘धर्मको रक्षाको लागि’ भन्ने उद्गार प्रयोग भएको पाइन्छ। यसको अर्थ हिन्दू संस्कृतिको रक्षा गर भनेको होइन, पाण्डव कौरव सबै भगवानमा आस्था राख्दथे र यसर्थमा त कौरव झनै धार्मिक थिए। श्रीकृष्णको आशय थियो- ‘कर्तव्यको लागि लड, सत्यको लागि लड र अधिकारको लागि लड।’

धर्मनिरपेक्षता नराम्रो हैन, मात्र यहाँ यसको राजनीति गर्न गलत व्याख्या गरिएको हो। यसको खास अर्थ हो- सबै धर्मलाई सम्मान गर्ने, कुनै धर्माबलम्वीप्रति धर्मका आधारमा भेदभाव नगरिने राज्यको नीतिलाई धर्मनिरपेक्षता भनिन्छ। धर्म निरपेक्षता भनेको धर्मको विरोध होइन तर मुलुक धर्मदेखि स्वतन्त्र हुनु हो। मतलब देशको कुनै धर्म हुँदैन तर देशका जनतालाई आफ्नो आस्थाको धर्म संस्कृति मान्न पूर्ण रूपमा छूट छ। प्रायः सबै विकसित मुलुकहरूले यो व्यवस्था अपनाएका छन्।

कार्ल मार्क्सको कम्युनिज्मको सिद्धान्त आजको विश्वले पूर्ण रूपमा अस्वीकार गरे पनि ‘धर्म अफिम हो’ भन्ने लाइन चाहिं आज पनि सान्दर्भिक छ। धर्म अफिम त्यतिबेला हो जब धर्मको राजनीति गरिन्छ।

धर्मको राजनीति किन गरिन्छ ? सिम्पल ! यो सजिलो छ। यो राजनीति गर्न काम गर्नुपर्दैन। धर्म रक्षाका उत्तेजक अभिव्यक्ति दिए पुग्छ। अर्को, धर्मले कसरी देश बर्बाद पारिरहेको छ भनेर बताए पुग्छ। जुलूस आमसभा गर्दा पार्टीको झन्डा चाहिंदैन, राष्ट्रिय झन्डा बोके पुग्छ।

सन् १९८० अगाडि एउटा धार्मिक संस्था रहेको भारतीय जनता पार्टी बाबरी मस्जिद भएको अयोध्यालाई लक्षित गरेर ‘मन्दिर वही बनाएंगे’ चुनावी नारा बोकेरै आज भारतको सबैभन्दा ठूलो राजनीतिक शक्ति भएको छ। हिन्दू संगठन राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) को सदस्यबाट राजनीति थालेका नरेन्द्र मोदी मुख्यमन्त्री हुँदै दुईपटक प्रधानमन्त्री बने।

सनातन धर्म मान्न रोकावट नगरौं, धार्मिक कार्यलाई स्वतन्त्रता दिऔं। धर्मको राजनीतिलाई निरुत्साहित गरौं। मानिसले धर्मको रक्षा गर्ने हैन, धर्मले मानिसको रक्षा गर्ने हो। धार्मिक बनौं, कट्टर नबनौं। जबर्जस्ती धर्मान्तरणलाई रोकौं तर इच्छाले धर्म परिवर्तन गर्न चाहनेलाई उत्पीडन नगरौं। भावनामा नबगी यथार्थपरक सत्यको खोजी गरौं

त्यही देखेर हो कि हाम्रा पूर्व प्रधानमन्त्रीले पदमा रहँदै भने- ‘राम अयोध्या होइन ठोरीमा जन्मिएका हुन्।’ (अथवा उनको आशय ठोरी नै असली अयोध्या हो भन्ने हो) त्यहाँ मन्दिर बनाउनुपर्छ।

अचम्मको कुरा त जनता उनको भनाइलाई समर्थन गर्न लागे। उनको भनाइलाई डिफेन्स गर्न लागे, जस्टिफाई गर्न लागे र प्रुफ गर्न लागे। धर्म अफिम हो भन्ने लाइन यहाँनिर चरितार्थ हुन्छ।

हो, मठ मन्दिर बनाइनुपर्छ, संस्कृतिको संरक्षण गरिनुपर्छ तर त्यो समुदायस्तरमा हुनुपर्छ। कुनै राजनीतिक पार्टीको मूल एजेन्डा हुनुहुँदैन।

आज यो प्रसंग कसरी आयो ?

प्रसंग यो हो कि धर्म र राजतन्त्रलाई केन्द्रमा राखेर राजनीति गर्ने अमूक राजनीतिक दलप्रति जनताको झुकाव बढ्दै गइरहेको छ। यो राम्रो समाचार होइन। कुनै पनि पोलिटिकल आइडोलोजीको समर्थन गर्न जनता स्वतन्त्र छन् तर उग्र दक्षिणपन्थले विनाश ल्याउँछ- इतिहास साक्षी छ। मानवीय भावनाको राजनीति गर्ने शक्तिहरूलाई सानो नठाने हुन्छ, यिनीहरू आगोको फिलुङ्गो हो, डढेलो लाग्न बेर लाग्दैन। तर आशा राखौं- अबको नेतृत्वले त्यही धर्मको राजनीतिलाई निरन्तरता नदिई लोकतान्त्रिक समतामूलक समाज निर्माणको बाटो समाओस्।

हुन त राजन्त्र र धर्मको राजनीति गर्नेहरूको आत्मविश्वास बढ्नुमा मुख्य जिम्मेवार मूलधारका राजनीतिक पार्टीहरू नै हुन्। यिनीहरूले गणतन्त्र स्थापनाका यत्तिका वर्ष बितिसक्दा पनि जनताका भावना सम्बोधन गर्न सकेनन्। अझ भनौं- जनताको धैर्यको अवमूल्यन गरिरहे। जसको कारण जनतामा पर्न गयो- ‘बरु तिनै राजावादी ठीक।’

धर्म र नश्लको राजनीति सुन्दा सामान्य लागे पनि यसले कस्तो परिणाम ल्याउँछ, केही उदाहरणहरू हेरौं।

घटना नं. १- हिटलरको बारेमा सबैलाई थाहा छ- उसले फरक धर्म र संस्कृति भएका ६० लाख यहुदीहरूको नरसंहार गर्‍यो।

कमैलाई थाहा छ- जर्मनीका जनता पनि कठोर बनिसकेका थिए। उनीहरू यहुदीहरूप्रति सहानुभूति राख्दैनथे, घृणा गर्थे। हिटलर प्रशासनले जर्मनहरूको यसरी ब्रेन वास गर्‍यो कि उनीहरू हिटलरका भक्त भए र यहुदीहरूको जानकारी प्रशासनलाई दिन थाले।

घटना नं. २- रुवान्डामा सन् १९९४ अप्रिलदेखि जूनसम्म त्यहाँका दुई समुदाय हुतु र तुत्सीबीच हिंसा भयो। त्यहाँको सरकार र सेनाले नै ‘राष्ट्रवाद नभएका’ र ‘फरक संस्कृति भएका’ भनी तुत्सी समुदायलाई मार्न हुतु समुदायलाई उक्सायो साथै तुत्सी समुदायको घर, जग्गा र सम्पत्ति हुतु समुदायलाई दिने घोषणा गर्‍यो। अनि शुरु भयो भयंकर रक्तपात। छिमेकीले छिमेकी मारे, साथीले साथी मार्‍यो, शिक्षकले विद्यार्थी मारे, चर्चमा मान्छे थुनेर आगो लगाइयो। फलस्वरूप १०० दिनको अवधिमा करिब १० लाख मान्छे मारिए। इगोको कारण स्पष्ट थियो आर्थिक, सांस्कृतिक र धार्मिक बेमेल।

घटना नं. ३ – हाम्रै छिमेकी भारतमा धार्मिक दंगाका घटना कति भए कति !

मुख्यतः गुजरातको सोमनाथ मन्दिरदेखि अयोध्यासम्मको करीब १० हजार किलोमिटरको यात्रामा बाबरी मस्जिद ढालेर राम मन्दिर बनाउन गएका हिन्दू कारसेवक र मुस्लिम समुदायको झडपमा कैयौं मानिस मारिए। धर्मगुरु र दक्षिणपन्थी नेताहरूको भड्किलो र उक्साहटपूर्ण भाषणले भीडलाई थप उग्र बनायो। फलस्वरूप ६ डिसेम्बर १९९२ मा बाबरी मस्जिद ढालियो। बम्बई लगायत देशभरि दंगा भयो। सरकारी तथ्यांक अनुसार मुम्बईमा मात्र करीब ९०० र देशभरिमा करीब २००० मानिस मारिए। मर्नेहरू धेरै मुसलमान भएकोले पाकिस्तान र बंगलादेशमा हिन्दूमाथि दमन गरियो, मन्दिर तोडफोड गरियो।

मुसलमान मारिएको बदला लिन पाकिस्तानले अन्डरवर्ल्ड डन दाउदको सहयोगमा १९९३ मा मुम्बईमा सिरियल बम ब्लास्ट गरायो। करीब २०० जना मारिए, हजारौं घाइते भए।

घटना नं. ४- त्योभन्दा ठूलो भारतकै कालो दिन मानिएको गोधरा काण्डमा मानवीयताले फेरि हार्‍यो। २७ फेब्रुअरी २००२ मा अयोध्याबाट कारसेवक हिन्दू बोकेर गुजरात आइरहेको सावरमती एक्सप्रेसको रेलमा पेट्रोल बम फ्याकी ५८ जनालाई ज्यूँदै जलाइयो। आक्रोशित हूललाई धार्मिक नेताको भड्काउ भाषणले थप उत्तेजित गरायो फलस्वरूप गुजरात दंगा भयो। उत्तेजित भीडद्वारा सरकारी डाटा अनुसार करीब ७९० मुसलमान र २५४ हिन्दू गरी १००० (गैरसरकारी रिपोर्ट अनुसार १९००-२००० मारिएको मानिन्छ) मारिए। दशौं हजार घाइते भए, लुटपाट, बलात्कार भयो।

यस्ता धार्मिक दंगा धेरै अफ्रिकी मुलुक, म्यानमार, श्रीलंका, पाकिस्तान, बंगलादेशमा, भारत आदि देशमा अझै पनि हुने गरेका छन्।

यी सबै घटनाको समानता भनेको धर्मको राजनीति हो, प्रत्येक घटनामा नेताले जनतालाई उक्साएका छन्। एउटा धर्मका मानिसहरूले हाम्रो धर्म महान र अर्काको धर्म नीच भनेका छन्। बहुसंख्यकले अल्पसंख्यकलाई दबाएका छन् र घृणा फैलाएका छन्। र कुनै न कुनै रूपमा राजनीतिक फाइदा लिइरहेका छन्।

रवान्डामा हुतुले सरकार हत्यायो। अयोध्यामा राम मन्दिर बनाउने एजेन्डा बोकेको भारतीय जनता पार्टीका नरेन्द्र मोदी दुई पटक प्रधानमन्त्री भए।

अहिले भारत धर्मको लागि भित्रभित्रै विभाजित छ। धार्मिक कुसंस्कारको विरोध गर्ने फिल्म बहिष्कार गरिन्छ। सरकारको विरोध गर्नेहरूलाई ‘एन्टी नेशनल’, टुकडे टुकडे ग्याङ, ‘अर्बन नक्सल’ र ‘खालिस्तानी’ जस्ता शब्दले अपमानित गर्छन्।

देशको मूल मुद्दा गरीबी र बेरोजगारी भए पनि हरेक दिन ट्वीटरमा देखिन्छ- ‘हिन्दू खतरेमे है’। भारतीयहरू महात्मा गान्धीको हत्याका योजनाकार मानिएका सावरकरलाई आदर्श बनाउन थालिसके।

आजभोलि विस्तारै चियापसल र युवाहरूको जमघटमा सुनिन्छ— नेपाल हिन्दू राष्ट्र हुनुपर्छ। ए भाइ ! २०६३ साल अघि पनि नेपाल नेपाल हिन्दू राष्ट्र नै थियो। भोलि सरकारले नेपाल हिन्दू राष्ट्र भनेर घोषणा गर्दियो भने पनि कुनै चमत्कार हुँदैन। किनकि यहाँ बस्ने तिमी हामी नै हो, हाम्रो काम उही हो र सोच उही हो। कुनै धर्मको आधारमा देशको पहिचान हुनु गलत हो। त्यसको सही उदाहरण मुस्लिम देशहरूलाई हेरे पुग्छ। अविकसित मुस्लिम देशहरू त पछाडि भइहाले भौतिक विकास भएका मध्यपूर्वका खाडी देशहरूमा मुस्लिम महिलाहरूको अवस्था के छ ? अभिव्यक्ति स्वतन्त्रताको अधिकार के छ ? सबैलाई जगजाहेर नै छ।

कमसेकम नेता बेइमान भए चुनावको विकल्प त छ, भ्रष्ट नेताहरूलाई फाल्न सकिन्छ तर नयाँ हिटलर, मुसोलिनी जन्मिए सजिलै फाल्न सक्छौ ?

कोही युवा हिन्दू राज्य भए धार्मिक पर्यटन बढ्ने कुरा गर्छन्। अरे यार ! धार्मिक पर्यटन बढाउन धर्मनिरपेक्षताले रोकेको छ र ! हिन्दू राज्य हुन्जेल पर्यटकको ओइरो लागेको र धर्मनिरपेक्ष भएपछि कम भएको हो र ?

अझ विदेशी विशेषगरी विकसित देशका पर्यटकहरू धर्मनिरपेक्ष देशमा सहज महसूस गर्छन्। स्वतन्त्र भएर घुम्नैको लागि त अफगानिस्तान भन्दा युरोप सुरक्षित छ हैन र !

अनि धेरै युवाहरूलाई चिन्ता छ- ‘क्रिश्चियनहरूले देश सक्ने भए !’

हो, लोभलालचमा पारेर या जबर्जस्ती धर्म परिवर्तन गराउनु अपराध हो, सुनियोजित रूपमा धर्म परिवर्तन गर्ने गिरोहलाई कारबाही हुनुपर्छ। तर पल्लो टोलका ढिंडे विक र जुठे नेपालीले आफूखुशी अर्को धर्म रोजे कि त ! अर्काको चुलोमा मात्र हैन पानी पँधेरो र मन्दिरमा समेत नचलेपछि आत्मसम्मानको लागि क्रिश्चियन धर्मतिर लागे कि त ! कुसंस्कार विरुद्ध बोल्ने हाम्रो त हिम्मत छैन, ती दलितको होला र ? मूल जरो खोजेको खोइ ? हिन्दू धर्ममा नै दलितहरूको सम्मानजनक उपस्थितिको पहल गर्नुपर्ने हैन र ?

सारांश

-सनातन धर्म मान्न रोकावट नगरौं, धार्मिक कार्यलाई स्वतन्त्रता दिऔं।

-धर्मको राजनीतिलाई निरुत्साहित गरौं।

-मानिसले धर्मको रक्षा गर्ने हैन, धर्मले मानिसको रक्षा गर्ने हो।

– धार्मिक बनौं, कट्टर नबनौं।

-जबर्जस्ती धर्मान्तरणलाई रोकौं तर इच्छाले धर्म परिवर्तन गर्न चाहनेलाई उत्पीडन नगरौं।

-भावनामा नबगी यथार्थपरक सत्यको खोजी गरौं।

अन्त्यमा— अष्टादश पुराणेषु व्यासस्य वचन द्वयम्, परोपकारः पुण्याय पापाय परपीडनम्।

अर्थात् परोपकार नै पुण्य हो र अरुलाई पीडा दिनु पाप हो।

(मेलम्ची, सिन्धुपाल्चोक)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?