+
+
WC Series
पोखरा एभेन्जर्स 2025
0/0
VS
काठमान्डु गोर्खाज 2025
52/2 (8.6)
Shares

विश्वसाइकलयात्री पुष्कर शाहको नयाँ किताबलाई जेनजीको क्याबात्

प्रज्ञा भवनको डबलीमा जेन–जी आन्दोलनका अगुवा माजिद अन्सारी, युजन राजभण्डारी र भावना राउतसँगै लेखक शाहले पुस्तक सार्वजनिक गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १ गते २१:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विश्व साइकलयात्री पुष्कर शाहको दोस्रो किताब 'मृतसागरदेखि सगरमाथासम्म' प्रज्ञा भवनमा सार्वजनिक भएको छ।
  • जेन–जी आन्दोलनका अगुवा माजिद अन्सारीले शाहको किताबले युवाको सपनालाई साकार बनाउन प्रेरणा दिन्छ भनेका छन्।
  • लेखक शाहले इच्छाशक्तिले संसार घुम्न सकिने र आमाले दिएको १ सय रुपैयाँले धेरै भू–भाग घुम्न पाएको बताए।

१ मंसिर, काठमाडौं। विश्व साइकलयात्री तथा सगरमाथा आरोही पुष्कर शाहको दोस्रो किताब ‘मृतसागरदेखि सगरमाथासम्म’ सार्वजनिक भएको छ।

प्रज्ञा भवनको डबलीमा जेन–जी आन्दोलनका अगुवा माजिद अन्सारी, युजन राजभण्डारी र भावना राउतसँगै लेखक शाहले पुस्तक सार्वजनिक गरेका हुन् ।

किताबबारे बोल्दै जेन–जी आन्दोलनका अगुवा माजिद अन्सारीले पुष्कर शाहका यात्राका उतारचढावले जीवन सरल छैन भन्ने सिकाएको उल्लेख गरे।

उनले शाहको किताबमा यात्राका क्रममा भोक, अभाव, उत्साह र रोमान्स मात्रै नभएर सम्झौता गर्नुपर्दाका क्षणहरू कस्ता हुन्छन् भन्ने कुरा समावेश भएको बताए।

उनले भने, ‘किताबले युवाको सपनालाई साकार बनाउन जताततैबाट प्रेरणा दिन्छ।’ अर्का वक्ता युजन राजभण्डारीले शाहले किताबमा आफूले गरेको विश्व यात्राको सार प्रस्तुत गरेको बताए । उनले हिमालदेखि विभिन्न देशका संस्कृतिका कथाले धेरै कुराको ज्ञान दिने बताए । सरल र रोमान्चक भाषाको उनले खुलेर तारिफ गरे ।

त्यस्तै भावना राउतले शाहको पर्याप्त साधन स्रोत बिना पनि संसार घुम्छु भन्ने अदम्य साहस राख्ने कुरा युवा पुस्ताका लागि उदाहरणीय रहेको बताइन् ।

साथै उनले २०४६ सालको जिउँदो शहीदका रूपमा रहेका पुष्कर शाहले त्यति बेला गरेको क्रान्तिले देशले मुहार फेर्न नसकेपछि अहिले हाम्रो पुस्ताले फेरि क्रान्ति गर्नु परेको बताइन् । उनले भनिन्, “पुष्कर शाहको अदम्य आँट र साहस नै अहिलेका पुस्तालाई प्रेरणा लिन काफी छ।’

लेखक शाहले संसार पैसाले नभई इच्छाशक्तिले घुमिने हुँदा आमाले दिएको १ सय रुपैयाँको भरमा संसारका धेरै भू–भाग घुम्न पाउने भाग्यमानी कमै मान्छेभित्र पर्ने दाबी गरे । एक जीवनमा संसार घुम्न नसकिने बताउँदै उनले जेनजी पुस्तासँग किताब लोकार्पण गर्न पाएकोमा खुशी व्यक्त गरे।

११ वर्षअघि शाहकै पहिलो किताब ‘संसारलाई साढे पाँच फन्को’मार्फत बुकहिलको प्रकाशन यात्रा सुरुवात भएको प्रकाशक भूपेन्द्र खड्काले जानकारी दिए।

उनले शाहको संसार घुमेको यात्राकथासँगै आफ्नो प्रकाशन गृहको पनि सपना यथार्थमा बदलिँदै आज डेढ सयभन्दा बढी किताब प्रकाशन गरिसकेको स्थापित संस्था बनाउन सफल भएको बताए। मृतसागरदेखि सग्रमाथासम्मको बजार मूल्य ७०० रुपैयाँ रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?