+
+

‘कठपुतली’का निर्देशक भन्छन्- दरबारको कथाले विवाद ल्याउँछ भन्ने लाग्दैन

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १३ गते १३:५०

१३ पुस, काठमाडौं । नेपालमा केही हरर चलचित्र बनेता पनि ती सफल छैनन् । विशेषगरी हरर चलचित्र हेर्दा दर्शक डराउने भन्दा पनि हाँस्ने गरेका छन् । यी कारणले पनि नेपालमा बनेका हरर चलचित्रमा दर्शकले खासै विश्वास गरेको पाइँदैन ।

पुस १६ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘कठपुतली’का निर्देशक भीमसेन लामा भने हरर चलचित्रको विषयमा फरक सोच राख्छन् । अनलाइनखबरसँग कुरा गर्दै उनले भने, ‘मेरो विचारमा हरर चलचित्र त्यस्तो हुनुपर्छ, जसले दर्शकलाई हेरिसकेपछि पनि मनोवैज्ञानिक रुपमा प्रभाव पार्नुपर्छ । हरर चलचित्रमा जे पनि हुनसक्छ । एकदमै पागल, डाइनोसरको आतंक, भूत वा प्राकृतिक शक्ति । मानिसको दिमागमा खेलिरहेका कुराले नै चलचित्र हेर्दा प्रभाव पार्छ । राम्रो हरर चलचित्र हेर्दा मान्छे डराउँछ, तर उ रमाउँदै हेर्छ ।’

चलचित्र ‘कठपुतली’ले राजदरबारभित्र हुने गरेका विकृति र यौनलीलाका कथालाई पनि उठाएको छ । कतै, यो  विषयले विवाद त खडा गर्दैन भन्ने प्रश्नमा निर्देशक लामा भन्छन्, ‘यो वृत्तचित्र होइन, काल्पनिक चलचित्र हो । हामीले यसका केही विषयवस्तुहरुलाई अनुसन्धान नै गरेर उठाएका छौं । विश्व बजारमा कैयौं वास्तविक घटनामा चलचित्र बनेका छन् । चलचित्रमा इतिहासका कुराहरु उठाउनु स्वभाविक नै हो । यसैले मलाई विवाद आउँछ भन्ने लाग्दैन ।’

निर्देशक लामा चलचित्रको कथाले शीर्षक पुष्टि गर्ने दाबी गर्छन् । उनले कुराकानीका क्रममा भने, ‘यो एउटा नेपालमा नै निक्कै चलेको आकर्षित नाम हो । कथा पनि कठपुतलीको वरिपरि नै घुमेकाले शीर्षक पुष्टि गर्छ भन्ने लाग्छ । चलचित्रमा कसैले कसैलाई नचाइरहेको विषय उठाइएको छ ।’

निर्देशक लामा नेपाली दर्शकले हलिउड हरर चलचित्रलाई रुचाउने तर नेपाली हरर चलचित्रलाई नरुचाउनुको कारण खोज्नुपर्ने बताउँछन् । उनी भन्छन्, ‘दर्शकले हरर चलचित्रमा पनि रुचि देखाएका छन् । तर, हाम्रा चलचित्रहरु प्राविधिक र कलरको हिसाबमा निक्कै कमजोर भए । तपाईंले हरर चलचित्र म्युट गरेर हेर्नुभयो भने त्यसले तपाईंलाई कुनै असर पार्दैन । यसैले हरर चलचित्रको साउण्ड बलियो हुनुपर्छ ।’

चलचित्र ‘कठपुतली’लाई आफूले यही विषयमा अनुसन्धान गरेर कथा र प्राविधिक पाटोमा बलियो बनाउने कोशिश गरेको भीमसेन बताउँछन् । उनले आफूले थुप्रै छोटा हरर चलचित्र पनि बनाएकाले यही विषयलाई फिचर चलचित्रका लागि रोजेको बताए । नेपाली युवायुवतीले ‘कठपुतली’ले उठाएको विषयवस्तु मन पराउने उनको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?