+
+

ए डिभिजन लिगको छैटौं चरण : मछिन्द्रको शान, संकटाको लय

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०७८ पुष १३ गते १५:४१

१३ पुस, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगको १३ मध्ये ६ वटा चरणको खेल सकिएको छ । छैटौं चरणका खेल सकिँदा केही रोमाञ्चक खेलहरु भए । छैटौं चरणका खेलहरुमध्ये उपाधि दाबेदार दुई क्लब मछिन्द्र फुटबल क्लब र मनाङ मर्स्याङ्दी क्लबबीचको खेलमा दर्शकको उल्लेख्य उपस्थिति थियो ।

सर्वाधिक ८ पटकको च्याम्पियन मनाङको अपराजित यात्रालाई साविक विजेता मछिन्द्रले ब्रेक लगाउँदै शीर्ष स्थानमा उक्लँदा फ्रेण्ड्स भने अझै जितको खोजीमै छ । यस चरणमा एकै खेलमा ६ गोलसमेत भए भने रेफ्रीको आलोचना पनि चर्चायोग्य विषय बने ।

छैटौं चरणमा आइपुग्दा थ्रीस्टार क्लबले गोल गर्न संघर्ष गरिरहँदा संकटाले लय कायम राखेको छ । च्यासल युथलाई रेलिगेसनको दबाब बढ्दैछ । त्रिभुवन आर्मी क्लब एएफसी कप छनोटको होडबाट बाहिरिएको छ । सुरुवाती तीन खेल हारेको जाउलाखेल पछिल्लो दुईमा लगातार जित हात पार्दै लयमा फर्केको छ ।

शहीद स्मारक ए डिभिजन लिगको करिब आधा खेल सकिँदा उपाधि होडमा मछिन्द्र, मनाङ मर्स्याङ्दी र संकटा क्लब देखिएका छन् । तीन क्लबबीच जम्मा २ अंकको मात्र अन्तर छ । मछिन्द्र १४ अंकसहित शीर्ष स्थानमा उक्लँदा मनाङ १३ अंकसहित दोस्रोमा छ भने १२ अंक जोडेको संकटा तेस्रोमा छ ।

६ गोल

छैटौं चरणको पहिलो खेल एनआरटी र एपीएफबीच भयो । लिग तालिकाको मध्यतिर रहेको एनआरटी र र रेलिगेसन जोनबाट भर्खरै माथि उठेको एपीएफ क्लबबीच खेल रोमाञ्चक होला भनेर धेरैले सोचेका थिएनन् । तर जारी लिगकै सर्वाधिक गोल भएको खेल ३-३ को बराबरीमा टुंगियो । एनआरटीले दुई गोलको अग्रता जोगाउन सकेन भने एपीएफले शानदार पुनरागमन गर्‍यो ।

दर्शन गुरुङले लगातार गोल गर्दै एनआरटीलाई अग्रता दिलाएका थिए । तर एपीएफका आशिष लामाले बराबरी गोल फर्काए । त्यसपछि दर्शन र मेसुके ओलोमोउले गोल गरेपछि एनआरटीले ३-१ को अग्रता बनाएपनि जोगाउन सकेन । तर चार मिनेट अन्तरमा नविन लामा र दिपेश धिमालले गोल फर्काएपछि एपीएफले अंक खोसेको हो ।

हेभीवेट भिडन्त

जारी लिगको ३९ औं खेल साविक विजेता मछिन्द्र क्लब र मनाङ मर्स्याङ्दीबीच थियो । लिगका शीर्ष दुई टिम, उपाधि दाबेदार अनि एएफसी कप छनोटका लागि छानिने होडमा रहेका टोलीबीचको खेलमा जम्मा एक गोल मात्र भयो ।

यसमा निर्णायक बने मछिन्द्रका सुनिल बल । उनले इन्जुरी टाइमको दोस्रो मिनेटमा गोल गर्दै मछिन्द्रको जित सुनिश्चित गरे । १० हजार दर्शक उपस्थित खेलमा ९० मिनेटसम्म कुनै गोल नहुँदा उपाधि दाबेदार दुई क्लब अंक बाँड्ने स्थितिमा थिए । तर  मनाङका सोमिडेले बल ह्याण्ड गरेपछि मछिन्द्रले फ्रिकिक पायो । त्यसमा सुनिल बलले शानदार गोल गरे ।

मनाङलाई हराएर शीर्ष स्थानमा उक्लेको मछिन्द्रले एएफसी कप छनोट खेल्ने सम्भावना बलियो बनाउदै पोल पोलिसनमा पुग्दा मनाङले भने आफ्नै गल्तीले खेल गुमायो । मछिन्द्रसंग बराबरीले मात्र पनि मनाङलाई फाइदा हुने स्थितीमा ३ अंकको पछि लाग्दा मनाङले अंक नै जोड्न सकेन ।

संकटाको लय

संकटा क्लबमा कुनै स्टार खेलाडी छैनन् । राष्ट्रिय टिमबाट खेल्ने वर्तमान टिमको पनि कोही खेलाडी छैन । न स्टार विदेशी खेलाडी छ । तैपनि युवा प्रशिक्षक विष्णु गुरुङको प्रशिक्षणमा संकटाले गज्जबको प्रदर्शन गरिरहेको छ । रवि सिलवालको कप्तानीमा रहेको संकटा मछिन्द्र र आर्मीसंगै छैटौं चरणसम्म अपराजित रहने क्रममा शीर्ष तीनभित्र छ ।

छैटौं खेलमा ब्रिगेड ब्वाइजमाथि ३-० को शानदार जितपछि संकटा १२ अंक जोडेर तेस्रो स्थानमा छ । संकटाले उपाधि दाबेदार मछिन्द्र र मनाङलाई पछ्याइरहेको छ भने अर्को दाबेदार मानिएको आर्मीलाई २ अंकले पछि पारिसकेको छ ।

लिगको उपाधि दाबेदार मछिन्द्र र मनाङसंग बराबरी खेल्दै अंक जोड्न सफल संकटाले फ्रेण्ड्स, नेपाल पुलिस र ब्रिगेडलाई हराएको छ । लिगको पहिलो खेलमा संकटाले हिमालयन शेर्पासंग बराबरी खेलेको थियो ।

पूर्व खेलाडी विष्णु गुरुङले यसै सिजनदेखि ए डिभिजन लिगमा प्रशिक्षकको रुपमा डेब्यु गरेका हुन् ।

आर्मी एएफसी कप होडबाट बाहिर

थ्री स्टारसंग गोलरहित बराबरी खेलेपछि आर्मी एएफसी कप छनोट खेल्ने होडबाट बाहिरिएको छ । क्लब लाइसेन्स पाएकामध्ये सातौं चरणको समाप्तीमा धेरै अंक जोड्ने क्लब २०२२ को एएफसी कपको प्रारम्भिक चरणमा छनोट हुने प्रावधान छ ।

अघिल्लो खेलमा साविक विजेता मछिन्द्रले मनाङलाई पराजित गरेपछि आर्मीका लागि पनि अवसर थियो । क्लब लाइसेन्स पाएका चारमध्ये मछिन्द्र र मनाङसंगै आर्मीपनि होडमा थियो । तर थ्रीस्टारसंग बराबरीपछि आर्मी होडबाट बाहिरियो । ६ खेलबाट १० अंक मात्र जोडेको आर्मी शीर्ष स्थानको मछिन्द्र भन्दा ४ अंकले पछि छ । अब एपीएफ विरुद्ध हुने खेल जितेपनि आर्मीले मछिन्द्रलाई भेट्ने छैन ।

थ्री स्टार ४ खेलमा शून्य गोल

लिग सुरु हुनुअघि थ्रीस्टारका प्रशिक्षक उर्जन श्रेष्ठले उपाधि जित्नका लागि खेल्ने लक्ष्य सुनाएका थिए । पहिलो खेलमा छिमेकी च्यासललाई ३-० ले हराएर थ्रीस्टारले त्यसको छनक पनि देखायो । तर त्यसपछि भने थ्रीस्टारले लय गुमायो । दोस्रो खेलमै नवप्रवेशी सातदोबाटोसंग पराजित भएको थ्रीस्टारले ६ मध्ये ४ खेलमा गोल गर्न सकेको छैन ।

पछिल्लो तीन खेलमा थ्री स्टारले लगातार गोलरहित बराबरी खेल्दा गोल गर्न सकेको छैन  । तेस्रो खेलमा फ्रेण्ड्ससंग १-१ को बराबरी खेलेको थ्रीस्टारले त्यसयता एपीएफ, एनआरटी र आर्मीसंग गोलरहित बराबरी खेल्यो । अहिलेसम्म चार खेलमा क्लिनसिट राखेपनि थ्री स्टारले चार खेलमा गोल गर्न सकेको छैन ।

 जितको खोजीमै फ्रेण्ड्स

फ्रेण्ड्स क्लब छैटौं चरण सकिँदासम्म पनि जितविहीन छ र जित्न बाँकी एक मात्र टोली छ । छैटौं चरणको खेलमा फ्रेण्ड्सले नेपाल पुलिसंग गोलरहित बराबरी खेल्दै अंक बाँड्यो । फ्रेण्ड्स दुई खेलमा सुरुवाती अग्रता लिएर पनि जोगाउन नसक्दा अंक गुमायो । संकटासंग अग्रता लिएर पनि हारेको फ्रेण्ड्सले थ्रीस्टारसंग अग्रता लिएर पनि बराबरी खेल्नुपर्‍यो ।

प्रशिक्षक मृगेन्द्र मिश्रले हरेक खेल महत्वपूर्ण हुने बताउँदै आएपनि फ्रेण्ड्सले जित्न सकेको छैन । लिगअघि नै रेलिगेसनबाट बच्ने पहिलो लक्ष्य राखेको फ्रेण्ड्स लिग जारी रहँदा रेलिगेसन क्षेत्रबाट माथि उठ्न संघर्ष गरिरहेको छ ।

 विशालको लगातार ५ क्लिनसिट

साविक विजेता मछिन्द्रले लिगको पहिलो खेलमा एनआरटीलाई २-१ ले पराजित गर्दा सिजनको पहिलो गोल बेहोरेको थियो । छैटौं चरणसम्म अपराजित रहेको मछिन्द्रले त्यसयता भने गोल खाएको छैन । त्यसमा गोलकिपर विशाल श्रेष्ठले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । उनले लगातार पाँच खेलमा क्लिनसिट राख्दै कुनै गोल हुन दिएका छैन । मछिन्द्रले यस सिजन लगातार ४८६ मिनेट गोल खाएको छैन ।

दोस्रो खेलमा आर्मीसंग गोलरहित बराबरी खेलेको मछिन्द्रले तेस्रो खेलमा जावलाखेल युथ क्लबलाई २-० र चौथो खेलमा हिमालयन शेर्पालाई ३-० ले हरायो । पाँचौं खेलमा संङ्कटासंग गोलरहित बराबरी खेलेको मछिन्द्रले छैटौं चरणमा मनाङ मर्स्याङ्दीलाई १-० ले नै हरायो ।

छैटौं चरणको खेलको नतिजा

एपीएफ ३-३ एनआरटी

पुलिस ०-० फ्रेण्ड्स

हिमालयन शेर्पा ३-१ च्यासल

मनाङ ०-० मछिन्द्र

संकटा ३-० ब्रिगेड

थ्रीस्टार ०-० आर्मी

सातदोबाटो ०-२ जावलाखेल

छैटौं चरणको खेलको गोलकर्ता

दर्शन गुरुङ,  (२ गोल) एनआरटी

मेसुके ओलोमोउ, एनआरटी

आशिष लामा, एपीएफ

नविन लामा, एपीएफ

दिपेश धिमाल, एपीएफ

पिस्टोन मुटुम्बा, (२ गोल) हिमालयन शेर्पा

सुरेश कुमाल, हिमालयन शेर्पा

रुमेश बर्तौला, च्यासल

सुनिल बल, मछिन्द्र

उत्तम राई, (२ गोल) संकटा

लक्ष्मण रुचाल, संकटा

विपिन कँडेल, जाउलाखेल

निकोलस फर्नान्डेज, जाउलाखेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?