+
+

न्युयोर्कमा ‘रमझम साँझ’

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १३ गते १९:१३

१३ पुस, काठमाडौं । नेपाली-अमेरिकन कलाकार संघले न्युयोर्कमा ‘रमझम साँझ-२०२१’ सम्पन्न गरेको छ । गत आइतबार (डिसेम्बर २६) राति न्युयोर्कस्थित क्विन प्यालेसमा भएको कार्यक्रममा थुप्रै लोकप्रिय कलाकारहरुले प्रस्तुति दिए ।

कार्यक्रममा गायक प्रकाश सपूतले आफ्ना चर्चित गीतहरुसँगै उपस्थितलाई झुमाए । उनले ‘गलबन्दी’ गीत गाउँदा उपस्थित दर्शकहरु मज्जाले झुमे । त्यस्तै, उनले आफू अभिनित चर्चित गीत ‘डाँडाघरे साइँली’बाट पनि उपस्थितलाई नचाए ।

‘रमझम साँझ’मा प्रकाशसँगै चलचित्र निर्देशक तथा अभिनेत्री दीपाश्री निरौला, मोडल तथा निर्देशक शंकर बीसी, भ्वाइस अफ नेपाल सिजन–३ विजेता गायक किरण गजमेरले पनि आफ्नो प्रस्तुति दिए । कार्यक्रममा गायक भगवान भण्डारी, उदय भट्टराई, लक्ष्मण पौडेल, गायिका रेश्मा सुनुवार, शान्ति भण्डारी, अञ्जना गुरुङ, डान्सर गीता राई लगायतको पनि प्रस्तुति रहेको थियो ।

अमेरिकाको मेरिल्याण्ड तथा पेन्सिलभेनिया राज्यका लागि नेपाल सरकारका अवैतनिक महावाणिज्यदूत लोकगायक प्रेमराजा महतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम भव्यताका साथ सम्पन्न भएको आयोजक संस्थाकी महासचिव संगीता थापा मगरले बताइन् ।

कार्यक्रममा गायिका सपनाश्री र गायक जगदीश समाललाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ तथा वसन्ती राईलाई ‘विशेष सम्मान’ गरिएको नेपाली अमेरिकन कलाकार संघका पूर्व अध्यक्ष गायक विमल डाँगीले बताए । संस्थाकी अध्यक्ष निशा सुनारले कार्यक्रम सम्पन्न गर्नका लागि खटिने सम्पूर्णलाई धन्यवाद दिँदै आउँदा दिनमा पनि यसप्रकारको सांगीतिक कार्यक्रमलाई निरन्तरता दिने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?