+
+

विशेषज्ञ डाक्टर नहुँदा रामपुर अस्पतालमा प्रसूती शल्यक्रिया सेवा ठप्प

पाल्पाको रामपुर अस्पतालमा सञ्चालन हुँदै आएको प्रसूती शल्यक्रिया सेवा ठप्प छ । विशेषज्ञ डाक्टर नहुँदा सो सेवा सञ्चालन गर्न सकिएको छैन । डाक्टर वासुदेव सुवेदीले अन्यत्र सरुवा भएपछि सो सेवा बन्द भएको हो ।

रासस रासस
२०७८ पुष १४ गते २०:०३

१४ पुस, काठमाडौं । पाल्पाको रामपुर अस्पतालमा सञ्चालन हुँदै आएको प्रसूती शल्यक्रिया सेवा ठप्प छ । विशेषज्ञ डाक्टर नहुँदा सो सेवा सञ्चालन गर्न सकिएको छैन । डाक्टर वासुदेव सुवेदीले अन्यत्र सरुवा भएपछि सो सेवा बन्द भएको हो ।

सामान्य प्रसूती सेवा भने यथावत् नै छ । यस अस्पतालमा २०७७ को चैत मसान्तमा शल्यक्रियामार्फत पहिलो पटक सफल बच्चा जन्मिएको थियो । सो समयदेखि नियमितरूपमा डाक्टर सुवेदीको नेतृत्वमा गत भदौसम्म शल्यक्रियामार्फत सफल प्रसूती सेवा प्रवाह भइरहेको थियो । डाक्टर सुवेदीको नेतृत्वमा सात जना स्वास्थ्यकर्मीको टोलीले सफल शल्यक्रिया सेवा दिएको थियो ।

शल्यक्रिया सेवालाई निरन्तरता दिन स्वास्थ्य मन्त्रालयमा एक जना विशेषज्ञ डाक्टर उपलब्ध गराउन अनुरोध गरेको अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन डाक्टर विजय परियार बताउँछन् ।

उनी भन्छन्, ‘अस्पतालमा शल्यक्रियामार्फत प्रसूती सेवा सुरु गरेर बीचमा विशेषज्ञ डाक्टरको समस्याले बन्द हुँदा यसमा सबैको चासो र चिन्तन बढेको छ, म आफू पनि डाक्टरको व्यवस्थापनका लागि पटकपटक मन्त्रालयमा पुगेको छु, अबको एक हप्ताभित्रमा डाक्टरको प्रबन्ध हुने आश्वासन पाएको छु।’

अस्पतालको सेवालाई नरोक्न विशेषज्ञ डाक्टरको व्यवस्थापनका निम्ति प्रदेश र संघीय सरकारसँग पटकपटक जानकारी गराइए पनि अहिलेसम्म डाक्टरको व्यवस्थापन हुन नसकेको डाक्टर परियारको भनाइ छ ।

सदरमुकाम तानसेनदेखि पूर्वमा रहेको रामपुरमा शल्यक्रिया सेवा सञ्चालन हुँदा प्रसूती सेवा लिन तानसेन जानुपर्ने समस्या हटेको थियो । सेवा सुरु भएको पाँच महिनामै बन्द हुन पुग्दा शल्यक्रियामार्फत प्रसूती सेवा लिन पाल्पा सदरमुकाम तानसेनमै जानुपर्ने बाध्यता छ ।

यहाँ पाँच महिनाको अवधिमा २७ जनाको शल्यक्रियामार्फत प्रसूती गराइएको शल्यक्रिया विभागका नर्स सुनिता गौतमले बताइन् । उनका अनुसार चालू आर्थिक वर्षको साउनदेखि हालसम्म १३९ जनाले प्रसूती सेवा लिएका छन् ।

‘हामीलाई पहिलो नै शल्यक्रिया सुरु गर्दा जोखिम थियो, पहिलो अपरेशन सफल भएपछि अरुको शल्यक्रिया गर्नलाई आत्मबल बढ्यो, ४५ मिनेटदेखि एक घण्टाको समयमा शल्यक्रिया गरेर बच्चा जन्मिएको छ’, उनले भने ।

लुम्बिनी प्रदेश सरकारका तत्कालीन सामाजिक विकासमन्त्री सुदर्शन बरालले २०७७ फागुन १६ गते विधिवत्रूपमा शल्यक्रिया सेवाको उद्घाटन गर्नुभएको थियो । विसं २०५२ मा प्राथमिक स्वास्थ्य केन्द्रका रूपमा स्थापना भएको यस अस्पतालमा झण्डै २५ वर्षपछि मात्रै शल्यक्रिया सेवा थालनी भए पनि बीचमै सेवा रोकिन पुगेको छ।

गर्भवती महिला, हर्निया, हाइड्रोसिल, एपेन्डिसाइटिस, गाँठागुठीको चिरफार लगायतको सेवा दिने गरी निक साइमन्स इन्सिच्युट ललितपुरको सहयोगमा शल्यक्रिया सेवा थालनी गरिएको हो ।

भिडियो एक्स-रे सेवा बन्द

अस्पतालमा रहेको भिडियो एक्स-रे सेवा पनि बन्द छ। भिडियो एक्स-रे गर्ने डाक्टरको अभावमा सो सेवा दिन नसकिएको अस्पतालका प्रशासन सहायक हिरा विक बताइन्।

अस्पतालमा भिडियो एक्स-रे गर्न नपाउँदा नागरिकले निजी स्वास्थ्य संस्थामा पुगेर महँगो मूल्यमा सेवा लिनुपर्ने समस्या रहेको रामपुर नगरपालिका–२ बस्ने स्थानीय खेमबहादुर राना गुनासो गर्छन् ।

‘अस्पतालमा भएको सेवा लिन पाइँदैन, अन्यत्र रकम खर्च गरेर सेवा लिन जानुपर्ने बाध्यता छ, अस्पताल व्यवस्थापन समितिले कर्मचारी व्यवस्थापनमा ध्यान नदिँदा नागरिकले सास्ती खेप्नु परिरहेको छ, हामीलाई एक त सेवा नपाउनु समस्या अर्को अन्यत्र निजी संस्थामा जाँदा आर्थिक भारको पिरलो छ’, उनले भने ।

यहाँ भिडियो एक्स-रे सेवा कहिले चल्ने कहिले बन्द हुने प्रवृत्तिले नागरिकले निकै झन्झट बेहोर्नु परेको छ । भिडियो एक्स–रेकै लागि टाढाटाढाबाट पनि बिरामी अस्पतालसम्म आउने गर्छन् । तर सेवा नपाउँदा त्यसै फर्कन बाध्य भएका छन् ।

अस्पतालमा दरबन्दी छ तर डाक्टर नै नभएपछि सेवा नै बन्द हुँदा बिरामी मारमा परेको छ । यहाँ पछिल्लो समय दिनहुँ बिरामीको चाप बढिरहेको छ । दैनिकजसो २०० देखि २५० सम्म बिरामी उपचारमा आउने गर्छन् ।

दरबन्दी अनुसारका डाक्टर नहुँदा तोकेअनुसारका नागरिकले अझै पनि पूरा सेवा पाउन सकिरहेका छैनन् । रामपुर अस्पताल पूर्वी पाल्पासँगै स्याङ्जा, तनहुँ र नवलपुर जिल्लाका नागरिकले सेवा लिने ठूलो अस्पताल हो ।

सम्बन्धित निकायले नागरिकको सेवा सुविधालाई मध्यनजर गर्दै छिटोभन्दा छिटो विशेषज्ञ डाक्टरको व्यवस्थापन गरिदिन स्थानीयको माग छ । लुम्बिनी प्रदेश सरकार स्वास्थ्य जनसङ्ख्या तथा परिवार कल्याण मन्त्रालयअन्तर्गत पर्ने सो अस्पतालको सेवा प्रवाह, कर्मचारी व्यवस्थापनसम्बन्धी प्रदेश सरकारले चासो देखाएको छैन ।

समय समयमा अस्पतालको अनुगमन तथा कर्मचारी व्यवस्थापन, नागरिकले सेवा पाए नपाएका सम्बन्धमा प्रदेश सरकारको बेवास्ताले यहाँ विशेषज्ञ डाक्टरको समस्या निम्तिएको हो । भौगोलिक हिसाबले सदरमुकाम तानसेनदेखि ६५ किलोमिटर पूर्वमा पर्ने यस अस्पतालको स्तरोन्नति भई अहिले ५० श्ययाको भवन निर्माण कार्य अन्तिम चरणमा छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?