+
+

खाद्य स्वच्छताको आधारमा वीरगञ्जका होटल तथा रेष्टुरेन्टको वर्गीकरण गरिने

खाद्य स्वच्छताको आधारमा वीरगञ्जका होटल तथा रेष्टुरेन्टको स्तरीकरण मूल्यांकन गरिने भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय वीरगञ्जले स्तरीकरण मूल्यांकनको तयारी गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १५ गते १६:३०

१५ पुस, वीरगञ्ज । खाद्य स्वच्छताको आधारमा वीरगञ्जका होटल तथा रेष्टुरेन्टको मूल्यांकन गरी वर्गीकरण गरिने भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय वीरगञ्जले स्तरीकरण मूल्यांकनको तयारी गरेको हो । त्यसलाई अभियानकै रुपमा सञ्चालन गर्ने तयारी भइहरहेको कार्यालयका कर्मचारीहरु बताउँछन् ।

वीरगञ्जमा तीन वर्षदेखि खाद्य स्वच्छताको आधारमा होटल तथा रेष्टुरेन्ट स्तरीकरण मूल्यांकन कार्य स्थगित छ । तीन वर्षअघि वीरगञ्जका केही होटल तथा रेष्टुरेन्टको स्तरीकरण मूल्यांकन गरेर लोगो टाँसिएको थियो । त्यसयता स्तरीकरण मूल्यांकन कार्य स्थगित छ ।

स्तरीकरण मूल्यांकनपछि लोगो टाँस गर्नुको साथै प्रमाणपत्र प्रदान गर्ने गरिएको छ । स्तरीकरण लोगो तथा प्रमाणपत्रको समयावधि १ वर्षको हुन्छ । प्रत्येक होटल, रेष्टुरेण्ट व्यवसायीले आफूले प्राप्त गरेको प्रमाणपत्र नवीकरणको लागि म्याद समाप्त भएको ३ महिनाभित्र सम्बन्धित विभाग वा कार्यालयमा निवेदन दिनुपर्ने हुन्छ।

साथै होटल सञ्चालकलाई गुणस्तरीय सेवा उपलब्ध गराउन, खानेकुरालाई राम्ररी पकाएर सुरक्षित तापक्रममा राख्न, काँचो र पकाएको खानेकुरा छु्ट्टाछुट्टै राख्न, स्वच्छ पानी र कच्चा पदार्थको प्रयोग गर्ने, खाना पकाउने, भण्डारण गर्ने र खुवाउने ठाउँ सफा राख्ने लगयतका १२ बुँदे लिखित प्रतिबद्धता जनाउन लगाइन्छ ।

कोरोना महामारी तथा जनशक्तिको अभावका कारण स्तरीकरण मूल्यांकन गर्न नसकिएको बताउँदै खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय वीरगञ्जका प्रमुख विक्‍की राउतले अब छिट्टै स्तरीकरण मुल्यांकनको काम शुरु गर्ने बताए ।

त्यसका लागि जिल्लामा सरोकारवाला सम्मिलित खाद्य स्वच्छता समिति गठनको प्रक्रिया शुरु गरिएको उनले जानकारी दिए । समितिमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका अधिकृत, उपभोक्ता अधिकारकर्मी, प्रहरी प्रशासनबाट खटाइएका प्रतिनिधि, स्थानीय तह, घरेलु तथा साना उद्योग कार्यालयका प्रतिनिधि लगायत ७ सदस्यीय समिति गठन गर्नुपर्न हुन्छ ।

समितिले खाद्य स्वच्छताको आधारमा होटल रेष्टुरेन्ट स्तरीकरण गर्नेसम्बन्धी निर्देशिका २०७४ मा भएको व्यवस्थाअनुसार ५० वटा सूचकको आधारमा होटल तथा रेष्टुरेन्टको स्तरीकरण मूल्यांकन गर्ने गर्छ ।

एउटा सूचकलाई २ नम्बर दिएर मूल्यांकन गर्दा ९० भन्दा माथि अंक ल्याउने होटलमा अति उत्तम (३ वटा स्टार सहितको हरियो लोगो ) ८० देखि ८९ नम्बर ल्याउने उत्तम (२ स्टार सहितको हरियो लोगो), ६५ देखि ८९ सम्म सन्तोषजनक (१ स्टार हरियो लोगो र ५० देखि ६४ सम्म अंक ल्याउने सामान्य (पहेँलो लोगो) टाँसिने खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय वीरगञ्जले जनाएको छ ।

त्यसअघि होटल तथा रेष्टुरेन्टका सञ्चालक तथा व्यवस्थापकलाई सचेत बनाउन वीरगञ्जमा बिहीबार अभिमुखीकरण कार्यक्रम भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, प्रदेश नं-२ को आयोजनामा लोगो स्तरीकरण तथा नवीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।

होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जको सह आयोजनामा भएको कार्यक्रममा खाद्य अनुसन्धान अधिकृत रत्नकान्त झाले बाहिर आकर्षक देखिएको होटलको भान्छामा समस्या हुन सक्ने बताए ।

‘थाल कचौरा मात्रै मापदण्ड अनुसार धुने हो भने फुड पोइजनको समस्या धेरै हदसम्म हट्छ । पानीको कारण पनि समस्या छ,’ उनले भने, ‘यस्ता कुराहरुमा सञ्चालकले ध्यान दिनुपर्छ । यसले एकातिर सेवा स्तरीय हुन्छ भने अर्कोतिर मूल्यांकनमा राम्रो नम्बर आउँछ ।’

मूल्यांकन टोलीले पहिलोपटक मापदण्ड पालना गर्न आग्रह गर्ने, सुधार्न भन्ने, पालना गरेको खण्डमा स्तर बढाउने तर अटेरी गरेको खण्डमा कारबाही गर्न सक्ने उनको भनाई छ ।

होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जका अध्यक्ष हरि पन्तले होटल तथा रेष्टुरेन्ट स्वच्छ सफा राख्ने दायित्व व्यवसायीको पनि भएको बताए । वीरगञ्जका होटल तथा पर्यटन व्यवसायीले आजै पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल र प्रहरी उपरीक्षक रमेश बस्नेतसँग शान्ति सुरक्षाका विषयमा छलफल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?