
१६ पुस, काठमाडौं । पछिल्लो समय हरियो तरकारीको मूल्य महँगिएको छ । हिउँदमा उत्पादन हुने आलु, काउली, बन्दा, मटरकोसा, गोलभेडा लगायतका तरकारीको मूल्य थोकमै बढेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।
समितिकाअनुसार थोकमै किलोमा २० देखि ३० रुपैयाँसम्म यस्ता तरकारीको मूल्य बढेको छ । गत वर्ष जाडोमा मूल्य घटेका हरियो तरकारीको मूल्य यसवर्ष भने झनै बढेको छ ।
उत्पादनको स्रोतमै मूल्य बढेका कारण यसपटक बजारमा पनि मूल्य बढेको व्यवसायीले बताउने गरेको बजार विकास समितिका सूचना अधिकारी बिनय श्रेष्ठले बताए । ‘तरकारीको मूल्य घट्नु पर्ने हो तर घटेको छैन् । कतै उत्पादनको स्रोत मै लागत महँगो पर्यो कि भन्ने आशकां छ,’ सूचना अधिकारी श्रेष्ठले भने । तरकारीको आयातमा भने कुनै समस्या नरहेको बजार विकास समितिले जनाएको छ ।
गत वर्ष थोकमा किलोमा ५५ रुपैयाँ रहेको काउलीको मूल्य यस वर्ष ७५ रुपैयाँ छ । गत वर्ष ३० रुपैयाँ किलो रहेको बन्दाको मूल्य यो वर्ष १५ रुपैयाँले महँगो छ ।
यस्तै ५५ रुपैयाँको मटरकोसा ७५ रुपैयाँ पुग्दा ५५ रुपैयाँको गोलभेंडाको मूल्य ९५ रुपैयाँ पुगेको छ । गत वर्ष १२ रुपैयाँमा पाइएको सेतो मुलाको मूल्य यो वर्ष ३० रुपैयाँ कायम भएको छ । ४७ रुपैयाँ किलोको रातो मुलाको मूल्य यस वर्ष ६५ रुपैयाँ पुगेको छ ।
गत वर्ष थोकमा ५५ रुपैयाँमा खरिद बिक्री भएको ब्रो काउलीको मूल्य यो वर्ष ८५ रुपैयाँ पुगेको पनि बजार विकास समितिले जनाएको छ ।
गत वर्ष एक सय रुपैयाँ हाराहारीमा मात्रै खरिद बिक्री भएको सुन्तलाको मूल्य पनि यो वर्ष १३० देखि ४० रुपैयाँसम्म पुगेको पनि समितिले जनाएको छ । समितिका अनुसार थोकमै मूल्य बढेपछि त्यसको असर खुद्रामा पनि परेको छ ।
बजारमा अहिले दैनिक ४ देखि ७ लाख किलो तरकारी दैनिक भित्रिरहेको बजार विकास समितिले जनाएको छ । पुसको १५ दिनमा मात्रै बजार कुल १ करोड ४ लाख ३४ हजार किलो तरकारी भित्रिएको छ ।
प्रतिक्रिया 4