
१८ पुस, काठमाडौं । हास्य कलाकार तथा मोडल सागर लम्साल ‘बले’ले आफू र मोडल प्रिज्मा खतिवडाबीच ‘ब्रेकअप’ भएको भन्ने खबर गलत भएको दाबी गरेका छन् । आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले आफूहरु मिल्ने साथी मात्र भएको दाबी गरे ।
सागरले आफूहरु चाँडै सँगै काम गर्न लागेको समेत बताए । ‘म आफैं केही महिनादेखि मिडियासँग टाढा छु । मेरो पारिवारिक समस्याका कारण म मिडियामा आउन नसकेको हुँ,’ उनले भने, ‘यो बीचमा मैले प्रिज्मा र प्रिन्सी खतिवडाको अन्तर्वार्ता पनि हेरें । उहाँहरु आफ्नो विगतलाई सम्झिएर भावुक हुनुभएको थियो । रुने प्रिन्सी, माफी माग्ने प्रिज्मा र गाली खाने म भएँ ।’
सागरले आफ्नो विवाह हुन लागेको भन्ने खबरमा समेत सत्यता नभएको बताए । काठमाडौंमा आयोजना भएको ‘हो हो नि माया’ बोलको गीत सार्वजनिक कार्यक्रममा सागरले भने, ‘यो विषयमा त म आफैं दोधारमा छु । बिहेको अहिले कुनै योजना छैन ।’ सागरले प्रिज्मा र प्रिन्सी आफ्नो लागि उस्तै भएको समेत बताए । उनले भने, ‘अरुका लागि प्रिज्मा र प्रिन्सी फरक होलान्, मेरो लागि एउटै हुन् । सबैको जीवनमा मिल्ने साथी हुन्छन्, मेरो प्रिज्मा र प्रिन्सी हुन् ।’
उनले ‘तिम्रो मन बदलिएछ’ गीतको सिरिज बनाउने तयारी गरेको र त्यसको भिडियोमा प्रिज्मा र प्रिन्सी नै हुने जानकारी दिए ।
प्रतिक्रिया 4