+
+

बोलीको कला

रमा अर्याल पन्थी रमा अर्याल पन्थी
२०७८ पुष २० गते १०:२८

यस धर्तीमा उत्पत्ति भएका प्राणीमध्ये सबैभन्दा उत्कृष्ट प्राणी मानिस हो । मानिस बोल्न, हाँस्न, एकापसमा कुराकानी गर्न र सुखदुःख साटासाट गर्न सक्छ । संसारमा विभिन्न थरीका प्राणी छन् तर सबैमा यो क्षमता छैन जो मान्छेमा छ । बच्चा जन्मेको एक डेढ वर्षपछि बोल्न शुरु गर्छ । त्योभन्दा अगाडि अरुले बोलेको, काम गरेको, हिंडेको सबै कुरा सुनेर धारणा बनाई बुझ्ने प्रयास गर्छ विस्तारै सिकाइ हुँदै जान्छ ।

तोते बोलीबाट आफ्ना भनाइ राख्न शुरु गर्छ । शुरु शुरुमा उसले नबुझ्ने र आफूलाई सजिलो लाग्ने शब्द निकाल्छ र विस्तारै अन्य शब्द मार्फत बोल्ने बानीको विकास हुन्छ । बोल्ने बानी विकासमा आफ्नो घरपरिवारको सबैभन्दा पहिलो र महत्वपूर्ण भूमिका हुन्छ । त्यसपछि समाज साथीसंगतले असर गर्छ ।

बालक ४/५ वर्षमा राम्रोसँग बोल्ने भएपछि विद्यालयको सम्पर्कमा पुग्छ । एउटा बालक जन्मेपछि हुर्कने क्रममा जसरी उचित स्याहारसुसार खानपानको जरुरी हुन्छ उसैगरी उसले बोल्ने बोली व्यवहारको सिकाइ हुनु जरुरी हुन्छ ।

बालक आमाको गर्भमा रहँदा पनि आमाको खानपान, सोचाइ, घरव्यवहार, खुशी, तनाव र बाहिरी वातावरणमा भएका कुराकानी आमाको नाभिबाट श्रवण गरी धारणा बनाउँछ । बालक पेटमा आएको थाहा भएपछि गर्भवती महिलासँग सकारात्मक कुराकानी, उनी माथिको सोचाइ, पौष्टिक आहार आदिमा ध्यान दिनुपर्छ ।

महिलाले पनि मीठो र मधुर बोली बोल्नुपर्छ, राम्रा कुरा सुन्ने, तनाव, छटपटी, रीस–डाह नगर्ने हो भने गर्भमा रहेको शिशु पनि शान्त, शालीन, भलाद्मी, ज्ञानी जन्मने कुरा पक्का छ । यदि यस्तो नभएर घर परिवारमा झैझगडा हुने, खानपानमा ध्यान नदिने, एक अर्कोमा रीस-डाह हुने, तनावमा बस्ने हो भने गर्भमा रहेको बालकलाई नकारात्मक असर पर्छ ।

गर्भमा हुँदा नकारात्मक प्रवृत्तिको विकास भए जन्मेपछि पनि त्यो घर त्यस्तै हो बालकमा तिनै नकारात्मक कुराहरू भरिंदै जान्छन् । पछि बालबालिका पढ्न मन नगर्ने, कुलतमा लाग्ने, खराब संगतमा लागेर बाबा–आमाले भनेको नमान्ने भएपछि सबैलाई चिन्ता हुन्छ । मेरो छोरा/छोरी किन यस्तो भयो भनेको केही मान्दैन, आफ्नो मनखुशी गर्छ, बोल्दा झर्को मानेर बोल्छ, जे मन लाग्यो त्यही गर्छ लौ न नि के गर्ने होला ? बालकको बोलीव्यवहारले अभिभावकलाई हुनसम्मको चिन्ता हुन्छ ।

मानिसले परिवार, आफन्त, साथीभाइ, छरछिमेक, समाज, विद्यालय/शिक्षक सबैबाट मैत्रीपूर्ण बोलीव्यवहारको अपेक्षा गरेका हुन्छन् । तर कहिलेकाहीं जानेर वा नजानेर परिस्थिति त्यस्तो नहुन पनि सक्छ वा नकारात्मक बोली व्यवहार आउन सक्छ । त्यस्ता चोट पुर्‍याउने बोली व्यवहार/परिस्थितिले व्यक्तिलाई, नाता, सम्बन्धलाई नकारात्मक असर पार्न सक्छ भन्ने कुरामा सधैं होश पुर्‍याउनुपर्छ । त्यस्तो परिस्थिति आएमा एकछिन नबोली शान्त भएर सुनेर मात्र बस्दा केही बिग्रिंदैन जस्तो लाग्छ ।

बालक जन्मेर हुर्कंदै जाँदा अभिभावकहरूले घरमा उसँग र अन्य सदस्यसँग राम्रो मीठो मुस्कान सहितको बोलीवचन गर्नुपर्छ भन्ने कुरा सधैं हेक्का राख्नुपर्छ । किनकि घर बालबालिकाहरूको पहिलो पाठशाला/स्कूल हो भने आमाबुवा पहिलो गुरु/शिक्षक मानिएको छ । सिकाइको पहिलो खुड्किलो त्यहींबाट शुरु हुन्छ ।

आमा र बाबाबीच, दिदीभाइबीच, आमा र हजुरआमाबीच, बाबा र हजुरबाबाबीच एवं रीतले सबै सदस्यसँग सबैको मीठो कुराकानी सकारात्मक सोचाइ हेराइ हुनुपर्छ । घरमा केही समस्या आइपरेमा परिवारका सबैजना बसेर छलफल गर्ने, सबैले सबैको कुरा सुन्ने र एउटा निष्कर्षमा पुग्ने गर्नुपर्छ । बाँडेर खाने मिलेर बस्ने भावना राख्नाले हुर्कंदै गरेको बालकले सिक्दै र जीवनमा लागू गर्दै जान्छ ।

घरमा केही समस्या आइपरेमा परिवारका सबैजना बसेर छलफल गर्ने, सबैले सबैको कुरा सुन्ने र एउटा निष्कर्षमा पुग्ने गर्नुपर्छ । बाँडेर खाने मिलेर बस्ने भावना राख्नाले हुर्कंदै गरेको बालकले सिक्दै र जीवनमा लागू गर्दै जान्छ ।

बालक डेढ वर्षदेखि बोल्न शुरु गरेर नमरुज्जेल बोल्छ, बोल्नु ठूलो कुरा होइन रहेछ तर कसरी बोल्ने, कहिले बोल्ने, कहाँ बोल्ने, कोसँग बोल्ने यो महत्वपूर्ण हो । बालबालिकाहरूलाई मीठो र हाँसेर बोल्ने कला सिकाउनुपर्छ ।

दिलमा भएको ठाउँ हतियारले मिल्दैन न अधिकारले मिल्छ, दिलमा ठाउँ त केवल मधुर मुस्कान र मीठो वचनले मिल्न सक्छ । जो मीठो बोल्छ, मधुर बोल्छ उसँग मानिसहरू नजिक पर्दछन्, आफ्ना कुरा/भनाइ राख्न सक्छन् छलफल गर्दछन् तर्कवितर्क गर्दछन् । जुन मानिस झर्केर बोल्छ, रिसाएर बोल्छ, हकारेर बोल्छ उसको नजिक जान पनि डर लाग्छ, उसको नजिक जान नपरे हुनेथियो जस्तो लाग्छ । कुरा राख्नु त परैको कुरा हुन जान्छ ।

हाम्रो घर, परिवार, समाज, विद्यालयहरू र हरेक व्यक्ति सबैले राम्रो मीठो बोल्ने कला सिक्नुपर्छ, जुन कला सुनेपछि सुन्नेको मन आनन्दले भरियोस् सुनिरहुँ जस्तो लागोस् मनमा शीतलता भइरहोस् । वाणीलाई विष बनाउने कि अमृत आफ्नै हातमा हुन्छ । धेरै सुन्ने कम बोल्ने, बोल्नुभन्दा अगाडि एकछिन सोच्ने, बोल्न हतार नगर्ने, बोल्दा म आवेशमा आउनुहुन्न भन्ने सधैं सम्झिरहने, स्वभाव नै त्यस्तै छ भने पनि म कोसँग बोलेको छु भन्ने थाहा पाइरहन होशमा रहने गरेमा केहीहदसम्म कम हुन सक्छ ।

हाम्रो शरीरको सबैभन्दा राम्रो भाग अनुहार हो । शुरुमा कसैको नजर पर्दा अनुहारमा पर्छ त्यसमा पनि अनुहारकै आँखा र मुखमा पर्छ केही कुराकानी हुन्छ । प्रसंग अनुसार विषय अनुसार प्रस्तुति कसरी हुन्छ । विद्यालयहरूमा शिक्षक र बालबालिकाहरू बीच बालबालिकाहरू एकआपसमा बोल्नको लागि बोल्ने सीप सिक्नु/सिकाउनु आवश्यक पर्छ ।

आफ्ना बालबालिका असल होऊन्, ठूलालाई सम्मान, सानालाई माया गरून्, सबैसँग, मीठो नरम बोलीमा प्रस्तुत होउन् भन्ने भावना सबै शिक्षकमा हुनुपर्छ र सोही अनुसार शिक्षण सिकाइ गर्नुपर्छ । एउटा असल शिक्षकले बालबालिकालाई सिक्ने कुरामा सदैव प्रशंसा र सल्लाह सुझाव गर्ने गरेमा उनीहरूमा सिक्नको लागि अझ प्रेरणा एवं हौसला बढ्छ । प्रशंसा पाएमा सिकाइको मात्रा र सिकाइ उपलब्धि बढ्छ ।

हाम्रा विद्यालयहरूमा गणित, विज्ञान, अंग्रेजी, भूगोल, खगोल आदि विषयहरू सिकाइयो तर मुस्कानसहित मीठो नरम बोल्ने कला सिकाइएन कि ? मीठो मधुर बोल्नको लागि छुट्टै विषय आवश्यक पर्दैन र छैन पनि । भइरहेका विषयहरूलाई प्रस्तुति गर्दा मधुर मुस्कान सहित मीठो र नरम बोलीबाट सिकाइयो भने बालबालिकाहरूले छिटो सिक्छन् ।

शिक्षकहरूले बोलेका भनेका कुरा बालबालिकाहरूलाई विश्वास लाग्छ । गल्ती नै भने पनि सही हो भनिरहेका हुन्छन् । दण्ड सजाय दिएर होइन मायालु भावमा मीठो बोली बोलेर सिकाउँदा बढी प्रभावकारी हुने कुरा प्रमाणित भएकै हो । दण्ड सजाय शारीरिक रूपमा कुटपिट मात्र होइन भावनात्मक रूपमा आँखाको हेराइ, अनुहारको चाल, बोली आदिबाट पनि बालबालिकामा मनोवैज्ञानिक असर परिरहेको हुन्छ ।

हरेक मान्छेले आफ्नो व्यक्तित्व राम्रो बनाउन हर प्रयास गरेको हुन्छ । व्यक्तित्व पहिले बाहिर देखिने कुराहरूमा राम्रो कपडा लगाउने, जुत्ता लगाउने, दाह्री कपाल मिलाउने, क्रिम पाउडर लगाउने, गहना आदि लगाउने गरिन्छ । यी बाहिरी रूपमा सजिने कुराहरू भए र आवश्यक पनि छन् तर भित्री सुगन्ध बढाउन आफ्नो बोली व्यवहारमा ध्यान दिनैपर्ने हुन्छ त्यो हो मधुर र मुस्कान सहितको मीठो बोली । राम्रो व्यक्तित्वसँगै मधुर बोली सुनमा सुगन्ध जस्तो हुन जान्छ ।

ईश्वर भनौं वा प्रकृतिले हामीलाई धेरै कुराहरू दिएको हुन्छ- उपहारको रूपमा । हात, खुट्टा, आँखा, नाक, मुख, कान र सम्पूर्ण शरीरको भित्री बाहिरी अंगहरू तर प्रयोग कसरी गर्ने भन्ने हो, प्रयोग गर्ने आफैंले रहेछ, आफ्नै मनले । त्यसैले मनलाई वशमा राखौं । इन्द्रियहरू घोडा जस्तै हुन् यदि मनको लगाम भएन भने यिनले धरै बदमासी गर्दछन् । जहाँ यी इन्द्रियहरूको बदमासी हुन्छ त्यहाँ अक्सर विवाद भएको पाइन्छ ।

(लेखिका शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयकी उपसचिव हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?