+
+

वैज्ञानिक वन व्यवस्थापनमा दोषी वन अधिकृतविरुद्ध ७ करोडको भ्रष्टाचार मुद्दा

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २१ गते १७:२४

२१ पुस, काठमाडौं । वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमको अनियमिततामा दोषी देखिएका एक वन अधिकृतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झण्डै ७ करोड रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा मुद्दा चलाएको छ ।

सुदूरपश्चिम वन निर्देशनालय, धनगढीका निमित्त वन निर्देशक हेमराज विष्टले ६ करोड ८७ लाख ५७ हजार ८० रुपैयाँ ६० पैसा भ्रष्टाचार गरेको भन्दै अख्तियारले बुधबार विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।

संसदको सार्वजनिक लेखा समितिको उपसमितिले वैज्ञानिक वन ब्यवस्थापन कार्यक्रम अन्तर्गत अख्तियारको दुरुपयोग गरी भ्रष्टाचार गरेको भन्दै विष्टलाई दोषी किटान गरेको थियो ।

उनले सामुदायिक वन उपभोक्ता समूहका सदस्य र पदाधिकारीको कीर्ते दस्तखत गर्ने, नक्कली वन उपभोक्ता घरधुरी खडा गर्ने र एउटै घरलाई एक भन्दा धेरै वन उपभोक्ता समूहको सदस्य बनाई रुख कटान गरेको भन्दै उपसिमितिले छानबिन गरी कारबाही गर्न अख्तियारलाई सिफारिस गरेको थियो ।

त्यसपछि अख्तियारले छानबिन गर्दा २०५५ वैशाख २७ मा सरकारी सेवा प्रवेश गरेदेखि २०७७ कात्तिक १७ गतेसम्म विष्टको वैध आय १७ करोड ३७ लाख १२ हजार ६२९ रुपैयाँ ३८ पैसा हुनेमा लगानी र खर्च २४ करोड २४ लाख ६९ हजार ७०९ रुपैयाँ ९८ पैसा देखिएको थियो ।

यसै आधारमा उनीविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।

अख्तियारले विष्टविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार २ वर्ष कैद र भ्रष्टाचार गरेको जति रकम ६ करोड ८७ लाख ५७ हजार ८० रुपैयाँ ६० पैसा विगो माग गरेको छ ।

विष्टले भ्रष्टाचार गरी गैर कानुनी रुपमा आर्जन गरेको सम्पत्ति पत्नी रुबी जिसी विष्टको नाममा घर जग्गा तथा बैंक खातामा राखेको भेटिएको अख्तियारले जनाएको छ । त्यसैले अख्तियारले रुबी विरुद्ध पनि भ्रष्टाचार मुद्दा चलाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?