
२१ पुस, काठमाडौं। नेकपा एमालेको चार जिल्लामा शनिबार अधिवेशन नहुने भएको छ । संखुवासभाले २६ पुसमा जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ ।
चिसोका कारण मनाङ, मुस्ताङ र हुम्लाको अधिवेशन पनि नहुने भएको छ । बाँकी जिल्लाहरुमा भने शनिबार अधिवेशन हुने प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताए ।
अधिवेशनका निम्ति अधिकांश जिल्लामा प्रतिनिधि चयन भइसकेको छ । धेरैजसो जिल्लाले गएको १७ पुस शनिबार प्रतिनिधि चयन गरेको थियो । प्रतिनिधि चयनको मापदण्ड निर्धारण गर्ने अधिकार जिल्ला कमिटीलाई एमालेले दिएको छ ।
‘जिल्ला अधिवेशन र प्रदेश अधिवेशनपछि एमाले सम्पूर्ण रुपमा नयाँ नेतृत्व र संरचनमा जान्छ’, रिजाल भन्छन् । गएको वर्ष २३ फागुनमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकता प्रक्रिया भंग गर्दै सर्वोच्च अदालतले एमाले ब्यूँताएपछि पहिलोपटक जिल्ला अधिवेशन हुन लागेको हो ।
एमालेले गएको ६ कात्तिकमा वडा र ९ कात्तिकमा पालिका अधिवेशन गरिसकेको छ । चितवनमा १०–१४ मंसिरमा १०औं महाधिवेशन गरेको एमालेले शनिबार जिल्ला अधिवेशन गर्दैछ ।
एमालेमा ७७ भौगोलिक र चार गैरभौगोलिक (मजदुर, विद्यार्थी, उद्योग व्यावसायी र उपत्यका) जिल्ला संरचना छ । जिल्ला अधिवेशनपछि ८ माघमा एमालेको प्रदेश अधिवेशन हुँदैछ ।
प्रतिक्रिया 4