
२२ पुस, काठमाडौं। म्याग्दीमा यस वर्ष सुन्तलाको उत्पादन बढेको छ । गत वर्षको तुलनामा ४.५३ प्रतिशतले सुन्तला उत्पादन बढेको हो ।
कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले गत वर्षको तुलनामा १०० मेट्रिक टन सुन्तला बढी फलेको जानकारी दिए । उनले भने, ‘उत्पादन भएको ८० प्रतिशत सुन्तला बिक्री बजारमा पठाइएको छ।’
गत वर्ष ३४५ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिँदा दुई हजार ८० मेट्रिक टन उत्पादन भएको थियो । यस वर्ष ३५५ हेक्टरमा लगाइएको बोटबाट दुई हजार १८० मेट्रिक टन सुन्तला उत्पादन भएको पाण्डेले बताए ।
कृषकले बिक्री गरेको सरदर मूल्यका आधारमा जिल्लाभर रु १३ करोड बराबरको सुन्तला उत्पादन भएको छ । कृषकले प्रतिकिलो रु ५० देखि रु ८० का दरले सुन्तला बिक्री गरेका छन्।
राखु, मरेक, सुर्केमेला, बरङ्जा, भेडाबारी, अर्मन, रुन्मा, बिम, ओखरबोट, ताकम, घतान, पिप्ले, भगवती, बेग, दोवा, दोसल्ले, घार, भुरुङ तातोपानी, दाना र नारच्याङमा सुन्तला अत्यधिक उत्पादन हुन्छ ।
म्याग्दीको सुन्तला पोखरा, चितवन, बुटवल, काठमाडौँलगायत ठाउँमा बिक्री हुँदैआएको छ । व्यापारीले बगैँचामै आएर सुन्तला खरिद गर्ने गरेको बेनी नगरपालिका–३ राखुका थमबहादुर पुनले बताए ।
राखुमा रु एक करोड ५० लाख बराबरको सुन्तला बिक्री भएको छ । औसा परेर झर्ने समस्या नियन्त्रणका लागि कृषकलाई तालिम प्रदान गरिएको छ । बोट सुक्ने र पाक्ने बेलामा दाना झर्ने समस्या नियन्त्रणमा कृषक र प्राविधिक जुटेका छन् ।
प्रतिक्रिया 4