
काठमाडौं । ग्लोबल आईएमई बैंकले ग्लोबल किसान कार्डमार्फत् सहुलियतपूर्ण कृषि कर्जा दिने भएको छ ।
बैंकले खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका किसानलाई ग्लोबल किसान कार्डमार्फत् सहुलियतपूर्ण कृषि कर्जा उपलब्ध गराउने भएको हो ।
बैंकले कृषि क्षेत्रमा आत्मनिर्भर एवं व्यावसायिक कृषक उत्पादनका लागि आरएण्डडी इनोभेटिभ सोलुसन र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकासँग समझौता गरेको छ ।
सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, आरएण्डडी इनोभेटिभ सोलुसनका प्रमुख कार्यकारी अधिकृत सुनिता न्हेमाफुकी, नगरपालिकाकी उपमेयर विणादेवी राई र इन्फिकेयरका निर्देशक सविन मानन्धरले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार बैंकले आरएण्डडी इनोभेटिभ सोलुसन र उक्त नगरपालिकाको सिफारिसमा कृषि पेशामा आवद्ध व्यावसायिक कृषकहरूलाई आवश्यक मल, बिउ तथा विषादी खरिद गर्न ग्लोबल किसान कार्डमार्फत् कृषि कर्जा उपलब्ध गराउनेछ ।
सम्झौताअनुसार नगरपालिका र आरएण्डडी इनोभेटिभ सोलुसनले कृषक पहिचान तथा कृषकहरूलाई आवश्यक तालिम प्रदान गर्नेछ।
प्रतिक्रिया 4