२० असोज, काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी बढुवा भएका छन् ।
बैंक सञ्चालक समितिको मंगलबार बसेको बैठकको निर्णय अनुसार रेग्मी डीसीईओमा बढुवा भएका हुन् ।
रेग्मी यसअघि बैंकको सहायक सीईओ थिए । सन् २००७ मा स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालबाट बैंकिङ करिअर सुरु गरेका रेग्मी २००९ देखि ग्लोबल आईएमई बैंकमा आबद्ध छन् ।
उनले बैंकको प्रमुख वित्तीय अधिकृत (सीएफओ), प्रमुख मानव संसाधन अधिकृत (सीएचआरओ), प्रमुख कर्जा अधिकृत (सीएलओ) तथा ट्रेड फाइनान्स प्रमुखको जिम्मेवारी सम्हालिसकेका छन् ।
बैंकको सहायक कम्पनी ग्लोबल आईएमई क्यापिटलका सञ्चालक समिति अध्यक्ष समेत रहेका रेग्मीले थाइल्यान्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआईटी) तथा डेनमार्कको कोपनहेगन बिजनेस स्कुलबाट बिजनेस एडमिनिस्ट्रेसनमा स्नातकोत्तर (एमबीए) उपाधि हासिल गरेका छन् ।
आधुनिक प्रविधि र उत्कृष्ट ग्राहक सेवाका कारण विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विधामा सम्मानित हुँदै आएको ग्लोबल आईएमई बैंकले ‘बैंक अफ द इयर २०१४’, ‘बेस्ट इन्टरनेट बैंक २०१६’ तथा सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेस्ट बैंक नेपाल’ को उपाधि प्राप्त गरिसकेको छ ।
यस्तै बैंकले युरोमनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेस्ट बैंक ईएसजी नेपाल २०२४ र बेस्ट इम्प्लोयर जस्ता प्रतिष्ठित पुरस्कार समेत प्राप्त गरेको छ ।
ग्लोबल आइएमई बैंकले हाल ३ सय ४१ शाखा, ३ सय ६६ एटीएम, १ सय ४७ शाखारहित, ६९ एक्स्टेन्सन तथा राजस्व संकलन काउन्टर र तीन वटा विदेशस्थित प्रतिनिधि कार्यालय सहित १ हजारभन्दा बढी केन्द्रमार्फत सेवा प्रदान गर्दैै आइरहेको छ ।
प्रतिक्रिया 4