+
+

अर्थतन्त्र आयातमुखी बन्नुको कारण श्रम निर्यात हो : अर्थमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २३ गते १२:२५

२३ पुस, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले नेपालको अर्थतन्त्र आयातमुखी हुनुको प्रमुख कारण ‘श्रम निर्यात’ रहेको बताएका छन् । बिहीबार नेपाल निर्यात परिषद् (इकोन) को २४औं साधारणसभा तथा छैठौँ निर्यात दिवसको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

नेपालबाट ठूलो श्रमशक्ति विदेश गइरहेको र त्यसले नेपालको उत्पादनमा असर गरेको भन्दै मन्त्री शर्माले त्यो श्रमशक्तिलाई रोक्न उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्ने बताए । उनले उत्पादनमूलक क्षेत्रमा लगानी गरेर रोजगारी श्रृष्टि गर्नु नै समस्याको समाधान रहेको उल्लेख गरे ।

‘हामीले वस्तु निर्यात गर्नुपर्ने ठाउँमा श्रम निर्यात गरेका छौँ । यही नै मुख्य समस्या हो । सङ्कटको कारण यही हो’, मन्त्री शर्माले भने । यो समस्या समाधान गर्न उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनु पर्ने र नेपालमा व्यवसाय वृद्धि गर्दै रोजगारी सिर्जना गर्नुपर्ने बताए ।

विभिन्न वस्तुको पहिचान गरी कतिपय वस्तु आत्मनिर्भर र केही वस्तु निर्यातका लागि उत्पादन गर्नुपर्ने उनको भनाईं छ । त्यसका लागि सरकार र निजी क्षेत्रले हातेमालो गरेर अगाडि बढ्नुपर्नेमा उनले जोड दिए । नीतिगत, संरचनागत, व्यवहारिक र व्यवसायिक क्षेत्रमा हातेमालो गर्नुपर्ने उनको धारणा छ ।

मन्त्री शर्माले इकोनले निर्यातको सानो ‘डोरेटो’ निर्माण गरेको भन्दै संस्थाको प्रशंसा गरे । ‘इकोनले निर्यातको डोरेटो बनाएको छ । यसलाई हाइवेमा नबदलेसम्म हाम्रो व्यापार घाटा अन्त्य हुन सक्दैन’, उनले भने । उनले नीतिगत र संरचनागत सुधारका लागि सरकार सधैँ प्रतिवद्ध रहेको पनि स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?