+
+
मेरो जीवनशैली :

खाना खान नभ्याउँदा पानी मात्र पिएर धेरै गीत गाएकी छु : अस्मिता अधिकारी

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २३ गते १८:४७

२३ पुस, काठमाडौं । अस्मिता अधिकारी पछिल्लो समय एकदमै रुचाइएकी गायिका हुन् । रियालिटी शो नेपाल आइडलबाट लाइमलाइटमा आएकी अस्मिताका टाढा भएपनि, सुनैको दरबार, रमरम मरौटी, तिम्रो मायाले बाँधेर राख लगायत थुप्रै गीत लोकप्रिय छन् ।

स्टुडियोदेखि स्टेजसम्म नै सर्वाधिक रोजाइकी गायिका अस्मिताको दिनचर्या कस्तो छ ? उनका रुचिहरु के के छन् ? लगायतका विषयमा गरिएको कुराकानी :

बिहान कति बजे उठ्नुहुन्छ ? उठ्ने तालिका नियमित छ कि छैन ?

सात बजेसम्म उठिसक्छु । तालिका नै भनौं ।

उठ्नासाथ के गर्नुहुन्छ ? मोबाइल चलाउनुहुन्छ कि पूजापाठ गर्नुहुन्छ ?

उठेर पानी पिउँछु । दुवै गर्दिन ।

बिहान फ्रेस भइसकेपछि योग ध्यान वा एक्सरसाइज गर्नुहुन्छ ?

बिहान फेस्र भइसकेपछि म आधा घण्टा हिँड्छु ।

बिहान नास्ता खानुहुन्छ कि हुन्न ?

त्यस्तो नास्ता नै भन्ने त छैन । चिया, अण्डा यस्तै खाने हो ।

बिहानको खाना कति बजे खानुहुन्छ ?

११ बजेसम्म खाइसक्छु ।

कस्तो खाना रुचाउनुहुन्छ ?

घरमा पाकेको दाल, भात र तरकारी । मलाई साधारण खाना मन पर्छ ।

तपाईंको खानामा छुट्दै नछुट्ने चिज के हो ?

दाल अनिवार्य हुन्छ ।

माछा–मासु कत्तिको खानुहुन्छ ?

दुवै मलाई मन पर्छ  । त्यसमा पनि माछा अझ बढी । मासुमा कुखुरा र खसीको खान्छु ।

मदिरापान गर्नुहुन्छ ?

गर्दिन ।

भान्सामा काम गर्ने जाँगर कति चल्छ ?

फुर्सद हुँदासम्म गर्छु ।

तपाईंलाई आफैंले बनाएको कुन खानेकुरा बढी मन पर्छ ?

कुखुराको मासु मीठो बनाउँछु जस्तो लाग्छ ।

बाहिर रेष्टुरेन्टमा मीठो कि घरमा बनाएको ?

म प्रायः बाहिर खाँदिन । घरकै धेरै मीठो हुन्छ ।

एकदमै भोक लागेको तर खाना खाने अनुकूलता नमिलेको कुनै क्षण छ ?

एकदमै भोक लागेको बेला खाना नपाएको क्षण त कति छ कति । रेकर्डिङकै सिलसिलामा कत्तिपटक भएको छ । कहिले त एक दिनमा तीन चारवटासम्म गीत रेकर्डिङ हुन्छ । एउटा रेकर्डिङपछि अर्को ओभरल्याप हुन्छ । एउटा स्टुडियोबाट अर्कोमा जाँदा ट्राफिक जाम हुन्छ यसले गर्दा खाना समयमा खान पाएकी छैन । पानी मात्र खाएर मैले धेरै गीत गाएकी छु ।

घरमा कुचो लगाउने, सरसफाइ गर्ने, भाँडा माझ्ने, लुगा धुने काम आफैं गर्नुहुन्छ ?

काठमाडौं बाहिर नगएको बेला बेलुका घरको काममा मम्मीलाई सहयोग गर्छु । खाना खाएपछि मम्मी र म मिलेर भान्साको काम सक्छौं ।

घरबाट बाहिर निस्कनुअघि मेकअपमा कति समय लाग्छ ?

मलाई आधा घण्टा लाग्छ ।

बाहिर हिंडडुल गर्दा कस्तो लुगा सहज लाग्छ ?

लगाउँदा सहज हुने एकदम सिम्पल लुगा राम्रो लाग्छ । जिन्स, टीसर्ट यस्तै ।

गरगहनामा कत्तिको आशक्ति छ ?

मलाई सुनको गहना मन पर्र्छ । सिक्री, औंठीसँगै घडी लगाएको छु ।

तपाईं कस्तो सवारी साधन प्रयोग गर्नुहुन्छ ?

भेस्पाको स्कुटी ।

प्रायः दिन कसरी बित्छ ?

धेरैजसो रेकर्डिङमै बित्छ । संगीतकर्ममा रमाउने भएकाले होला मेरो पूरा समय यसैमा बित्छ ।

एक दिनमा कतिवटासम्म गीत रेकर्ड गर्न भ्याउनुहुन्छ ?

मैले दिनमा चारवटासम्म गीत रेकर्ड गरेको छु ।

साँझ कति बजे घर फर्कनुहुन्छ ?

कामले निर्धारण गर्दछ । त्यस्तै ८ देखि ११ बजेभित्र घर फर्कंन्छु ।

बेलुकाको खाना कति बजे खानुहुन्छ ?

घर कति बेला पुग्छु भन्ने हुन्छ । यही समयमा खान्छु भन्ने छैन ।

बेलुकाको खानामा के के हुन्छ ?

साधारण दाल, भात र तरकारी ।

कति बजे सुत्नुहुन्छ ?

प्रायः १० देखि ११ बजेभित्र सुतिसक्छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?