+
+
मेरो जीवनशैली :

खाना मीठो-नमीठो भन्ने छैन, पेट भर्न पाए पुग्छ : महावीर पुन

सम्झना विक सम्झना विक
२०७८ पुष २५ गते १८:०४
महावीर पुन । फाइल तस्वीर

२६ पुस, काठमाडौं । महावीर पुन आविष्कारक तथा सामाजिक अभियन्ता हुन् । अमेरिकाको नेब्रास्का विश्वविद्यालयबाट स्नातकोत्तर गरेपछि आफ्नो गृहजिल्ला म्याग्दी फर्किएर उनले शिक्षा तथा प्रविधिको क्षेत्रमा उल्लेखनीय काम गरे । सामाजिक क्षेत्रमा योगदान गरेवापत सन् २००७ मा एसियाको नोबेल पुरस्कार मानिने म्यागासेस पुरस्कारबाट सम्मानित भएका पुन राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक हुन् ।

दुर्गम ठाउँमा बेतारे प्रविधिको इन्टरनेट जडान, जलविद्यतु आयोजना, दुर्गम भेगमा ड्रोनको प्रयोग जस्ता उल्लेखनीय कार्यले उनी आम मानिसबीच पनि निक्कै लोकप्रिय छन् । आफूलाई एक साधारण नेपाली भन्न रुचाउने महावीर पुनको जीवनशैली कस्तो छ ? उनका रुचिहरु के के छन् ? लगायतका विषयमा गरिएको कुराकानी :

बिहान कति बजे उठ्नुहुन्छ ? उठ्ने तालिका नियमित छ कि छैन ?

उठ्ने नियमित तालिका छैन । ६ देखि ७ बजेसम्म उठिसक्छु ।

उठ्नासाथ के गर्नुहुन्छ ? मोबाइल चलाउनुहुन्छ वा पूजापाठ गर्नुहुन्छ ?

उठ्नासाथ ल्यापटप खोल्छु । दुवै गर्दिन ।

बिहान फ्रेस भइसकेपछि योग ध्यान वा एक्सरसाइज गर्नुहुन्छ ?

त्यस्तो केही गर्दिन । टेबलमा बसेर कम्युटरमा काम गर्छु, त्यहींबाट फ्रेस हुन्छु ।

बिहान नास्ता खानुहुन्छ कि हुन्न ?

नास्ता खाँदिन बिहान । कालो चिया वा कफी मात्रै खान्छु ।

बिहानको खाना कति बजे खानुहुन्छ ?

छिटो खाइयो भने १० बजे । नत्र त दिउँसोको २ पनि बज्न सक्छ ।

कस्तो खाना रुचाउनुहुन्छ ?

मलाई कुनै खाना नखाने भन्ने नै छैन, जस्तो पनि रुचाउँछु । मेरो भोक मेटिनु पर्‍यो ।

तपाईंको खानामा छुट्दै नछुट्ने चिज के हो ?

मैले पकाएर खाँदिन, डुल्ने मान्छेलाई जसले जे दिन्छ त्यही खाने हो । भोकमा खाना पाइयोस् भन्ने मात्र हो ।

माछा-मासु कत्तिको खानुहुन्छ ?

सबै खान्छु पाएसम्म । मलाई खानामा यो खान्नँ त्यो खान्नँ भन्ने नै छैन । खानलायक सबै खाना खान्छु ।

मदिरापान गर्नुहुन्छ ?

यो पनि कसैले दियो भने गर्छु ।

कहिलेकाहीं भ्याउनुभयो भने भान्सामा काम गर्ने जाँगर कति चल्छ ?

म अविष्कार केन्द्रकै काममा व्यस्त हुन्छु । भान्सामा काम गर्ने समय नै हुँदैन ।

पकाउनै पर्‍यो भने कुन खानेकुरा मीठो बनाउनुहुन्छ ?

हेर्नुस् म त्यस्तो खाना पकाउने मान्छे नै होइन, यसमा भन्दा मलाई अविष्कारमै रुचि छ । त्यही पनि बनाउनै पर्‍यो भने सबै एकैठाँउमा हालेर खिचडी बनाउँछु ।

बाहिर रेष्टुरेन्टको खाना मीठो कि घरमा बनाएको ?

खानेकुरा घरको मीठो कि बाहिरको भन्ने वास्ता गर्दिन । मलाई खाना भोकको लागि हो, स्वादको लागि भन्दा पनि ।

एकदमै भोक लागेको तर खाना खाने अनुकूलता नमिलेको क्षण छ ?

शरीरलाई चाहिएको बेलामा मात्र खान्छु । म भोकमा आत्तिने मान्छे पनि होइन । म डुल्ने मान्छे हुँ । झोलामा मकै, चिउरा लिएर हिँड्छु । खाना भनेको भातै मात्र पनि होइन नि । काम गर्दा भोकको ध्यान पनि त्यति हुँदैन ।

घरमा कुचो लगाउने, सरसफाइ गर्ने, भाँडा माझ्ने, लुगा धुने लगायतका काम आफैं गर्नुहुन्छ ?

म घरमै बस्दिनँ, त्यसैले घरको काम गर्ने भन्ने कुरै आउँदैन ।

घरबाट बाहिर निस्कनुअघि तयार हुन कति समय लाग्छ ?

ओहो मलाई यस्तो प्रश्न नगरेकै राम्रो । म यसबाट धेरै टाढा छु ।

बाहिर हिँडडुल गर्दा कस्तो लुगा सहज लाग्छ ?

म एक साधारण मान्छे हुँ । मलाई लुगामा कुनै मतलब लाग्दैन । म जस्तो पनि लगाउँछु ।

गरगहनामा रुचि छ कि ?

पटक्कै छैन ।

तपाईं कस्तो सवारी साधन प्रयोग गर्नुहुन्छ ?

सार्वजनिक यातायात ।

प्रायः दिन कसरी बित्छ ?

प्रायःजसो अविष्कार केन्द्रमा बित्छ । नयाँ-नयाँ भाइबहिनीहरुसँग भेट्छु । मेरो जिन्दगी नै अविष्कार केन्द्रमा छ ।

बेलुकाको खाना कति बजे खानुहुन्छ ?

निश्चित हुँदैन, यस्तै राति १० देखि ११ बजेसम्म ।

बेलुकाको खाना कस्तो खानुहुन्छ नि ?

अघि नै भनें नि । जे भेटिन्छ त्यही खाने मान्छे हुँ म । यो रुचाउने त्यो नरुचाउने भन्ने छैन ।

कति बजे सुत्नुहुन्छ ?

राति १२ बजेसम्म सुतिसक्छु ।

लेखकको बारेमा
सम्झना विक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?