+
+

कांग्रेस भ्रातृसंस्थाको कन्तबिजोग

प्रमुख भ्रातृसंस्था नेतृत्वविहीन, अधिकांश कोमामा

विधान अनुसार प्रत्येक चार वर्षमा गर्नुपर्ने पार्टीको महाधिवेशन झण्डै ६ वर्ष पुग्नै लाग्दा सम्पन्न गरेको कांग्रेसका भ्रातृसंस्थाको अवस्था भने दयनीय छ ।

खगेन्द्र भण्डारी खगेन्द्र भण्डारी
२०७८ पुष २८ गते २१:००

२८ पुस, काठमाडौं । विधानअनुसार प्रत्येक चार वर्षमा गर्नुपर्ने पार्टी महाधिवेशन झण्डै ६ वर्ष पुग्नै लाग्दा सम्पन्न गरेको नेपाली कांग्रेसको भ्रातृसंस्थाहरुको अवस्था भने दयनीय बन्दै गएको छ ।

पार्टीका शक्तिका रुपमा चिनिने भ्रातृसंस्थाहरु लामो समयदेखि अस्तित्वको संकटमा छन् । बल्लबल्ल पार्टी महाधिवेशन गरेको कांग्रेसलाई यतिबेला भ्रातृसंस्थाहरुको बिजोगले अत्याएको छ । प्रमुख भ्रातृसंस्था नेतृत्वविहीन छन् भने अधिकांश दशौं वर्षसम्म अधिवेशन गर्न नसकेर तदर्थवादबाट सञ्चालित छन् । कांग्रेसमा भ्रातृसंस्थाको आवधिक महाधिवेशन निकै टाढाको विषय बन्न थालेको छ ।

नेपाली राजनीतिमा नेपाली कांग्रेस र लोकतन्त्र एकअर्काका पर्याय मानिन्छन् । मुलुकमा लोकतन्त्र स्थापनाका लागि लामो समय संघर्ष गरेको र लोकतान्त्रिक व्यवस्थाकै पक्षपोषण गर्ने कांग्रेसभित्र भने आन्तरीक लोकतन्त्र निकै कमजोर भएको टिप्पणी पछिल्लो समय झन् प्रखर हुँदै आएको छ ।

लथालिंग भ्रातृसंस्थाको अवस्थाले कतिपयले त भ्रातृसंस्थाको औचित्य नै समाप्त भइसकेको बताउन थालेका छन् । पार्टीका विभागहरुलाई अधिकारसम्पन्न बनाउनुपर्नेमा उनीहरुको जोड छ । तर कांग्रेसका केन्द्रीय सदस्य एवं नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष नैनसिह महर पार्टीले भ्रातृसंस्थालाई आफू अनुकूल सञ्चालन गर्न खोज्दा भद्रगोलको अवस्था आएको बताउँछन् । ‘प्रजातान्त्रिक पद्धति मान्ने र प्रजातन्त्रलाई बलियो बनाउन भ्रातृसंस्थाको गठन गरिएको हो । अहिले पनि यसको आवश्यकता छ,’ उनले भने, ‘भ्रातृसंस्थाहरुको परिचालन र उनीहरुको नियमन गर्ने पार्टीले विधान कार्यान्वयन नगर्दा यस्तो समस्या देखिएको हो ।’

पार्टीमा देखिएको गुटको असरबाट भ्रातृसंस्थाहरु थप कमजोर बनेको नेताहरु स्वीकार गर्छन् । ‘आफू अनुकुल हुँदा विधान नचाहिने अनि अरु बेला विधानको कुरा गर्ने प्रवृत्ति कांग्रेस नेताहरुमा देखियो,’ नेता महरले अनलाइनखबरसँग भने, ‘नेविसंघमा टीका लगाएर आठ वटासम्म महामन्त्री बनाउने सहमति नेताहरुले गरे । विधानमा ३२ वर्षको प्रावधान छ तर व्यवहारमा त्यस्तो देखिएन । नेताहरुकै कारण भ्रातृसंस्थालाई पंगु बनाइयो ।’

लामो समय भ्रातृसंस्थाहरु चलायमान नहुँदा कांग्रेसको १४ औं महाधिवेशनमा अधिकांशले पार्टी राजनीतिको बाटो रोजे । लामो सयम भ्रातृ एवं शुभेच्छुक संस्थाबाटै राजनीतिक भूमिका खोजेकाहरु अन्तत पार्टीतिर लागे । एकातिर विधान अनुसार भ्रातृसंस्थाको आवधिक महाधिवेशन नहुने, अर्काेतर्फ पार्टी नेताहरुले संगठनमा क्रियाशील भन्दा पनि आफ्नो विश्वासिलो पात्रलाई रोज्ने प्रवृत्तिका कारण पनि भ्रातृसंस्थामा सक्रिय हुनुपर्ने बेलामा धेरैले पार्टी राजनीति रोजे । जसको परिणाम, कांग्रेसको वडा तहदेखि केन्द्रसम्म युवाको सहभागिता र उपस्थिति विगतका महाधिवेशनभन्दा निकै बढीरहेको नेताहरु बताउँछन् ।

बहसमा भ्रातृसंस्था

गएको मंसिरमा सम्पन्न पार्टीको महाधिवेशनपछि यति बेला कांग्रेसभित्र भ्रातृसंस्थाको अधिवेशन बहसको विषय बनेको छ । दुई युवा महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवालाई भेटेर भ्रातृसंस्थाको अधिवेशन र यिनीहरुको वैज्ञानिक परिचालनबारे छलफलसमेत गरेका छन् ।

‘सबै भ्रातृ एवं शुभेच्छुक संस्थाको एउटै समस्या छैन । भ्रातृसंस्था एवं समग्र पार्टीको संगठनमा देखिएका समस्याबारे हामीहरु आन्तरिक विमर्श गरेर दृष्टिकोण निर्माण गर्ने क्रममा छौं,’ कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले भने, ‘हामी उपयुक्त निष्कर्षमा पुग्छौं ।’

कांग्रेसमा १३ भ्रातृसंस्था र २८ वटा शुभेच्छुक संस्था छन् । पार्टीले समयावधि सकिएका सबै भ्रातृ एवं शुभेच्छुक संस्थाको कार्यकाल पछिल्लो समय ६ महिना थप गरेको थियो । कांग्रेसले लगातार तेस्रो पटक साउनसम्मका लागि भ्रातृ एवं शुभेच्छुक संस्थाहरुको समयावधि थप गरेको हो । लामो समय पार्टी महाधिवेशनका कारण प्रभावित हुँदै आएका कांग्रेस भ्रातृसंस्थाका महाधिवेशनहरु वैशाखदेखि सुरु हुने तीन तहको आमनिर्वाचनले झनै पछि धकेल्ने सम्भावना रहेको कांग्रेस नेताहरु बताउँछन् । ‘कि माघसम्म अधिवेशन गरिसक्नुपर्छ नत्र बैशाखमा हुने स्थानीय तहको निर्वाचनका कारण त्यसपछि भ्रातृसंस्थाका अधिवेशन गर्न सम्भव छैन,’ कांग्रेसका एक पदाधिकारीले भने, ‘यो सम्भावना निकै नै न्यून छ । संघीय आमनिर्वाचनपछि मात्रै धेरैका अधिवेशनहरु हुन्छन् ।’

नियमित कार्यतालिका अनुसार संघीय आमनिर्वाचन अर्काे वर्ष मंसिरमा हुनेछ । कोरोनाको तेस्रो लहर आउन सक्ने विज्ञहरुको चेतावनीका कारण पनि कांग्रेसका भ्रातृसंस्थाका अधिवेशन झनै अनिश्चित हुने निश्चित छ ।

प्रमुख पाँच भ्रातृसंस्था नेतृत्वविहीन

पार्टीलाई चलायमान र सशक्त बनाउने कांग्रेसका पाँच भ्रातृसंस्था नेतृत्वविहीन अवस्थामा छन् । कांग्रेस विधानको दफा ४२ मा भ्रातृसंस्थाका पदाधिकारी एवं सदस्य पार्टीको कुनै पनि तहको कार्यसमितिमा निर्वाचित वा मनोनीत भए भ्रातृसंघको पद स्वतः रिक्त हुने व्यवस्था छ । जसअनुसार नेविसंघ, नेपाल तरुण दल, नेपाल महिला संघ, नेपाल दलित संघ र नेपाल मुस्लिम संघका सभापतिहरु पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

नेविसंघ अध्यक्ष राजीव ढुंगाना, तरुण दल अध्यक्ष जितजंग बस्नेत र मुस्लिम संघ अध्यक्ष अब्दुल सतार १४ औं महाधिवेशनमा पार्टी केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । यसैगरी महिला संघ अध्यक्ष उमा रेग्मी र दलित संघ अध्यक्ष मीन विश्वकर्मालाई देउवाले केन्द्रीय सदस्यमा मनोनीत गरेका छन् । महिला संघको अधिकांश पदाधिकारीहरु पार्टी केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । उपाध्यक्ष सरस्वती अर्याल, महासचिव मञ्जु खाँण र कोषाध्यक्ष जानकी सिंह केन्द्रीय सदस्य निर्वाचित भएपछि महिला संघमा उनीहरुको पद रिक्त भएको हो ।

पार्टी केन्द्रीय कार्यसमितिमा निर्वाचित एवं मनोनीतहरूले भ्रातृसंस्थाको जिम्मेवारीबाट अलग भइसकेका छैनन् । तरुण दल अध्यक्ष बस्नेतले विधानको व्यवस्था भन्दा व्यवहारिकता हेर्नुपर्ने बताए । उनले भने, ‘अहिले पनि तरुण दलको अध्यक्ष मै हुँ र मैले नै महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्छु ।’

पार्टीले पनि भ्रातृसंस्थाबाट केन्द्रीय कार्यसमितिमा पुगेकाहरुको पुरानो जिम्मेवारीबारे कुनै निर्णय गरेको छैन । तर सभापति देउवा निकट एक पदाधिकारीले पाँच भ्रातृसंस्थामा नयाँ नेतृत्व आउने दाबी गरे । ‘यी सबैमा नयाँ नेतृत्व आउँछ । कसलाई के बनाउने, भ्रातृसंस्थाको नेतृत्वमा को-को आउँछन् भन्ने कुरा गौण हो,’ ती नेताले भने, ‘पार्टी विधानले दिएको प्रक्रिया अनुसार सबै काम गर्नुपर्छ भन्नेमा सभापतिज्यू पनि हुनुहुन्छ । अहिलेका अध्यक्षहरुलाई नै महाधिवेशन गराउने गरी पार्टीले जिम्मेवारी तोक्ने कि नयाँलाई संयोजक तोक्ने भन्नेबारे पार्टी संगठनले निर्णय गर्छ ।’

लथालिङ्ग भ्रातृसंस्था

६ महिनाभित्र महाधिवेशन गर्ने गरी पार्टीले २०७६ साल माघ १६ गते नेविसंघको अध्यक्षमा राजीव ढुंगानालाई नियुक्त गरेको थियो । सातौं महाधिवेशनबाट निर्वाचित नैनसिंह महर नेतृत्वको कार्यसमितिले विधान अनुसार महाधिवेशन गर्न नसकेपछि पार्टीले हस्तक्षेप गरेको थियो ।

तत्कालीन अध्यक्ष महरले राजीनामा बुझाएको एक वर्षपछि ढुंगाना नेविसंघ अध्यक्ष बने । ६ महिनाभित्रै महाधिवेशन गर्नुपर्ने जिम्मेवारी पाएका ढुंगाना दुई वर्षसम्म कार्यसमितिलाई पूर्णता दिन नसक्दै नेतृत्वबाट बाहिरिनुपरेको छ । १०१ सदस्यीय कार्यसमिति रहने भनिएकोमा जम्मा १० पदाधिकारीमा सीमित रह्यो नेविसंघ ।

नेविसंघको कार्यकाल दुई वर्ष रहने विधानको व्यवस्था छ । कांग्रेसको नर्सरीका रुपमा चिनिने नेविसंघको जुन हालत छ, बाँकी भ्रातृ एवं शुभेच्छुक संस्थाको हविगत फरक छैन ।

नेपाल तरुण दलका अध्यक्ष उदय शम्शेर राणाले २०७३ मंसिर पहिलो साता महाधिवेशनमार्फत् नेतृत्व हस्तान्तरण गरे । तरुण दलको अध्यक्ष बने नेविसंघ पृष्ठभूमिका बस्नेत । महाधिवेशनले चार जना पदाधिकारी मात्रै चयन गर्न सक्यो, त्यो पनि गुटगत भागवण्डामा । ९५ सदस्यीय कार्यसमितिका बाँकी सदस्य पार्टीले पछि मनोनीत गर्ने भनिए पनि तीन वर्षे कार्यकाल सकिएकै दुई वर्ष बितिसकेको छ । चार सदस्य रहेको तरुण दल तीन जनामा सीमित रह्यो भने अहिले नेतृत्वविहीन अवस्थामा पुगेको छ । देशभरका युवाहरुलाई संगठित गर्ने तरुण दल आफैं कोमामा पुगेको छ ।

नेपाल महिला संघको चार वर्षे कार्यकाल अघिल्लो वर्ष नै सम्पन्न भइसकेको छ । यतिबेला अध्यक्ष, उपाध्यक्ष, महासचिव र कोषाध्यक्ष पद नै रिक्त छन् ।

नेपाल दलित संघको नेतृत्वमा केन्द्रीय सदस्य मीन विश्वकर्मा विगत दश वर्षदेखि छन् । तीन वर्षे कार्यकाल रहेको संघको चौथो महाधिवेशन २०६९ सालमा सम्पन्न भएको थियो । त्यसपछि दलित संघले महाधिवेशन नगरेर कार्यकाल लम्ब्याउँदै आएको छ ।

किसान संघमा सबैभन्दा बढी भद्रगोल

कांग्रेसमा सबैभन्दा बढी भद्रगोल अवस्था नेपाल किसान संघमा छ । २०६४ सालमा गठन भएको संघले अहिलेसम्म अधिवेशन गर्न सकेको छैन ।

नेपाल प्रजातन्त्र सेनानी संघ र नेपाल भूतपूर्व सैनिक संघको आवश्यकता र औचित्यमाथि नै प्रश्न उठाउन थालिएको छ । सेनानी संघले २०६९ सालपछि अधिवेशन गरेकै छैन भने सैनिक संघले २०७३ साल केन्द्रीय अधिवेशन गरेको थियो ।

त्यस्तै नेपाल आदिवासी जनजाति संघमा २०६४ सालदेखि नै इन्द्रबहादुर गुरुङ अध्यक्ष छन् ।

राष्ट्रिय लोकतान्त्रिक अपांग संघले १२ वर्षदेखि अधिवेशन नै गरेको छैन । २०६६ सालमा गठन भएको संघले एकपटक पनि अधिवेशन गरेको छैन ।

नेपाल मुस्लिम संघले २०७५ साल वैशाखमा दोस्रो महाधिवेशन गरेको थियो भने नेपाल तामाङ संघको अध्यक्षमा १२ वर्षदेखि केवलबहादुर तामाङ रहेका छन् ।

नेपाल राष्ट्रिय मगर संघको पनि नियमित कार्यकाल सकिसकेको छ भने नेपाल ठाकुर समाजले २०६७ साल बैशाखदेखि महाधिवेशन गरेको छैन । १२ औं महाधिवेशनबाट भ्रातृसंस्थाको मान्यता पाएको ठाकुर समाज ११ वर्षदेखि पुरानै नेतृत्वबाट सञ्चालित छ ।

शुभेच्छुक संस्थाको पनि हविगत उस्तै

१३ भ्रातृसंस्था र १८ वटा शुभेच्छुक संस्था रहेको कांग्रेसमा पछिल्लो समय शुभेच्छुक संस्थाको संख्या २८ पुर्‍याइएको छ । पुराना १८ मध्ये अधिकांश शुभेच्छुक संस्थाहरु अधिवेशन नगरेर तदर्थवादबाटै सञ्चालित छन् ।

नेपाल प्रेस युनियन, नेपाल प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपाल सांस्कृतिक संघ, नेपाल गैरसरकारी लोकतान्त्रिक संस्था महासंघ, नेपाल लोकतान्त्रिक शेर्पा संघ, नेपाल कुमाल संघलगायत धेरैको नियमित कार्यकाल सकिएको वर्षौं हुँदासम्म पनि अधिवेशन हुन सकेको छैन । सांस्कृतिक संघ पाँच वर्षदेखि चार जना पदाधिकारीमा सीमित छ । प्रेस युनियनको अधिवेशन नभएकै आठ वर्ष भइसकेको छ ।

तरुण दलका पूर्वअध्यक्ष एवं कांग्रेस केन्द्रीय सदस्य उदय शम्शेर राणाले भ्रातृ एवं शुभेच्छुक संस्थाहरुलाई पार्टीले प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए । ‘कांग्रेसको भनेको केवल केन्द्रीय कार्यसमिति र पार्टी संगठन मात्रै होइन, त्यसलाई बलियो बनाउने र सबै पक्षलाई पार्टीमा समाहित गर्ने भनेकै भ्रातृसंस्थाहरुले हो,’ उनले भने, ‘पछिल्ला समय एकपछि अर्काे राष्ट्रिय निर्वाचन, पार्टी महाधिवेशन र कोरोना संक्रमणका कारण पनि भ्रातृसंस्थाका अधिवेशन हुन नसकेको हो । अब निश्चित समय तोकेर सबैलाई चलायमान बनाउन ढिलाइ गर्नुहुन्न ।’

भ्रातृ संस्था जति चलायमान भए, पार्टी उति नै बलियो हुने नेता राणाले बताए । आफूलाई लोकतन्त्रवादी भन्ने कांग्रेसले भ्रातृ संस्थाहरुको अधिवेशन समयमै गर्न नसक्नु शोभनीय विषय नभएको राजनीतिक विश्लेषकहरुको टिप्पणी छ ।

लेखकको बारेमा
खगेन्द्र भण्डारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?