+
+

‘कोभिड महामारीमा सर्वाधिक धनी व्यक्तिको सम्पत्तिमा दुई गुणा वृद्धि’

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ३ गते १३:४७

३ माघ, काठमाडौं । कोभिड-१९ को महामारीमा विश्वका सबैभन्दा धनी १० व्यक्तिको कुल सम्पत्तिमा दुई गुणाले वृद्धि भएको परोपकारी संस्था अक्सफामले जनाएको छ ।

अक्सफामका अनुसार विश्वका सबैभन्दा धनी १० व्यक्तिको सम्पत्ति दोब्बरले बढेको तर गरिबीमा बाँच्ने मानिसको संख्या भने बढेको छ । २०२० को मार्चयता विश्वका धनाढ्य १० व्यक्तिको कुल सम्पत्ति २ गुणाभन्दा बढीले बढेको अक्सफामको भनाइ छ ।

कोभिड-१९ महामारीमा विश्वका अति धनी १० व्यक्तिको कुल सम्पत्ति ७ खर्ब अमेरिकी डलरबाट बढेर १५ खर्ब पुगेको छ । यसमध्ये मस्कको सम्पत्ति मात्रै हजार प्रतिशतभन्दा धेरैले बढेको छ भने गेट्सको भने केबल ३० प्रतिशतले वृद्धि भएको छ ।

अक्सफामले उदृत गरेको फोर्ब्सको तथ्याङ्कअनुसार विश्वका सर्वाधिक धनी व्यक्तिमा एलन मस्क, जेफ बेजोस, बर्नाड आर्नोल्ट, बिल गेट्स, ल्यारी एलिसन, ल्यारी पेज, सर्गेइ ब्रिन, मार्क जुकरबर्ग, स्टिभ बाल्मर र बारेन बफेट छन् ।

महामारीमा विश्वको ९९ प्रतिशत जनसंख्या कष्टकर जीवन बाँचिरहेका बेला हरेक दिन एक जना नयाँ अर्बपति थपिएको अक्सफाम ग्रेट ब्रिटेनका प्रमुख कार्यकारी धनञ्जय श्रीस्कन्दराजाले बताए ।
‘यो वर्ष देखिएको कुरा मापन गर्नै नसकिने खालको छ’, श्रीस्कन्दराजाले भने, ‘महामारीका बेला लगभग हरेक दिन एक जना अर्बपति जन्मिएका छन् जबकि विश्वको ९९ प्रतिशत जनसंख्या लकडाउन, न्यून अन्तर्राष्ट्रिय व्यापार र पर्यटनका कारण समस्यामा परेको छ र फलस्वरुप १६ करोड मानिस गरिबीतर्फ धकेलिएका छन् ।’

‘हाम्रो आर्थिक प्रणालीमा केही गम्भीर त्रुटि देखिन्छ’, उनले थपे ।

संसारका अति गरिब मानिसको आय न्यून हुँदा हरेक दिन २१ हजार मानिसको ज्यान गइरहेको पनि अक्सफामको पछिल्लो प्रतिवेदनमा दाबी गरिएको छ । अक्सफामले डाभोसमा जनवरीको अन्त्यतिर हुने वर्ल्ड इकोनोमिक फोरमको बैठक सुरु हुँदा विश्वव्यापी असमानताबारे आफ्नो प्रतिवेदन सार्वजनिक गर्दै आएको छ ।

प्राय: व्यापारिक तथा राजनीतिक नेता, सेलिब्रिटी, अभियानकर्मी, अर्थशास्त्री र पत्रकार भेला हुने उक्त बैठकमा छलफल, रमाइला भेला एवं कुराकानी हुने गर्छन् । नयाँ ओमिक्रोन भेरियन्ट फेला परेका कारण यसपटकको बैठक समेत भर्चुअल माध्यमबाट हुने र बैठकमा महामारीले लिन सक्ने भावी बाटो, खोपमा देखिएको असमानता एवं संक्रमणबारे छलफल हुने बीबीसीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?