+
+

प्रधानमन्त्री कप क्रिकेट : एपीएफले आर्मीलाई दियो २३१ रनको लक्ष्य

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ४ गते १५:२८

४ माघ, काठमाडौं । युवा व्याटर लोकेश बमले प्रधानमन्त्री कप पुरुष टी-२० क्रिकेटमा १४ बलमै अर्धशतक प्रहार गरेका छन् । एपीएफबाट खेलिरहेका लोकेशले आफ्नै पूर्व टिम त्रिभुवन आर्मी विरुद्ध दोस्रो सेमिफाइनलमा सबैभन्दा छिटो अर्धशतक प्रहार गरेका हुन् ।

ओपनरद्वय आसिफ शेख र प्रदिप ऐरीको १५० रनको साझेदारीसँगै लोकेशको विष्फोटक ब्याटिङमा एपीएफले आर्मीलाई २३१ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ ।

चौथो नम्बरमा व्याटिङ गरेका लोकेशले छक्का र चौकाको वर्षा गर्दै १४ बलमै ५२ रन बनाएका थिए । उनले ७ छक्का र २ चौका प्रहार गर्दै अर्धशतक पूरा गरेका थिए । लोकेश कूल १८ बल खेल्दै २ चौका र ९ छक्का मद्दतमा अविजित ६६ रन बनाए ।

१७औं ओभरको तेस्रो बलमा कप्तान शरद भेषावकर आउट भएपछि क्रिजमा पुगेका लोकेशले त्यस ओभरको तीन बलमा जितेन्द्र मुखियालाई लगातार छक्का प्रहार गरेका थिए । १८औं ओभरमा उनले हरि चौहानलाई १ चौका र १ छक्का प्रहार गरे । १९औं ओभरमा फेरि जितेन्द्रलाई नै लगातार तीन छक्का प्रहार गरे । त्यसपछि २०औं ओभरमा सुशन भारीलाई २ छक्का र एक चौका प्रहार गरे ।

तेस्रो विकेटका लागि लोकेशले प्रदिप ऐरीसँग २१ बलमै अविजित ६८ रनको साझेदारी गरे । ओपनर प्रदिपले ५३ बल खेल्दै ७ चौका र १ छक्का मद्दतमा अविजित ५७ रन जोडे ।

अर्का ओपनर आसिफ शेखले त्यसअघि आक्रमक ब्याटिङ गर्दै सर्वाधिक ८४ रन बनाए । आसिफले ४३ बल खेल्ने क्रममा १० चौका र ५ छक्का प्रहार गरे । पहिलो विकेटका लागि आसिफ र प्रदिपले १५ ओभरमा १५० रनको साझेदारी गरेका थिए ।

आर्मीका लागि जितेन्द्र मुखिया र सुमित श्रेष्ठले समान १ विकेट लिए । तर दुवै खेलाडी महँगा बने । जितेन्द्रले ४ ओभरमा ५७ रन खर्चिँदा सुमितले १ ओभरमै १९ रन दिए । सुमितले नै आसिफ र प्रदिपको शतकिय साझेदारी भने तोडेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?