
४ माघ, वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७८/७९ को ६ महिनामा एक खर्ब भन्दा बढी राजश्व संकलन गरेको छ । आयात निर्यात कारोबारका हिसाबले देशकै मुख्य नाकामध्येको एक वीरगञ्ज भन्सारले लक्ष्य भन्दा ६ प्रतिशत बढी राजश्व संकलन गरेको हो ।
भन्सार विभागले साउनदेखि पुससम्मका लागि १ खर्ब २२ करोड १५ लाख ३७ हजार रुपैयाँ राजश्व संकलनको लक्ष्य तोकेको थियो । कार्यालयले सो अवधिमा कुल १ खर्ब ५ अर्ब ९० करोड ८३ लाख ३५ हजार रुपैयाँ राजश्व संकलन गरेको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले जानकारी दिए ।
‘अघिल्लो आर्थिक वर्ष २०७७/७८ को समीक्षा अवधिको तुलनामा ३२ अर्ब रुपैयाँ बढी राजश्व संकलन गरेका छौं,’ प्रमुख भन्सार अधिकृत पौडेलले भने, ‘पुस महिनामा लक्ष्य अनुसार राजश्व संकलन भएन, तर पनि अन्य महिनामा लक्ष्यभन्दा बढी असुली भएको कारण ६ महिनाको लक्ष्य भेटेका छौं ।’
वीरगञ्ज भन्सारले गत आव २०७७÷७८ को पुससम्ममा ७३ अर्ब ५५ करोड रुपैयाँ योगदान दिएको थियो । प्रमुख भन्सार अधिकृत पौडेलका अनुसार पुस महिनामा १७ अर्ब ६० करोड ९० लाख ८ हजार राजश्व संकलनको लक्ष्य प्राप्त भएको थियो । कार्यालयले लक्ष्यको ९७.७ प्रतिशत अर्थात् १७ अर्ब २० करोड ९१ लाख ३४ हजार रुपैयाँ संकलन गरेको छ ।
‘पुसको छोटो दिनमा कारोबार नै कम हुन्छ,’ प्रमुख भन्सार अधिकृत पौडेलले भने । गत वर्ष कोरोना महामारीका कारण अवरुद्ध भएको वैदेशिक व्यापार यो वर्ष बढेकाले चालु आवमा आयातसँगै राजश्वमा संकलनमा पनि सुधार भएको छ ।
यो वर्षको शुरुआतसँगै आयात उल्लेख्य बढेर विदेशी विनिमयमा दबाब देखिएको छ । विदेशी मुद्राको सञ्चिति घटेपछि सरकारले आयात निरुत्साहित गर्ने नीति लिएको छ । जसका लागि राष्ट्र बैंकले परिपत्र गरिसकेको छ ।
‘बैंकमा पैसा नभएर आयात निर्यातको कारोबार घटेको छ, त्यसको असर अब भन्सार राजश्व संकलनमा देखिन्छ,’ भन्सार कार्यालयका एक अधिकृतले भने ।
कुन शीर्षकमा कति राजश्व ?
वीरगञ्ज भन्सार कार्यालयले सबैभन्दा बढी मूल्य अभिवृद्धि करबाट राजश्व संकलन गरेको छ । ३१ अर्ब १२ करोड ९५ लाख ७९ हजार रुपैयाँ कर उठाउने लक्ष्य लिएको भन्सारले मूल्य अभिवृद्धि करवापत लक्ष्यभन्दा ३२ प्रतिशत बढी ४१ अर्ब ३ करोड ४५ लाख रुपैयाँ संकलन गरेको छ ।
वीरगञ्ज भन्सार कार्यालय हुँदै भित्रिएका मालसामानबाट ६ महिनामा ३८ अर्ब ५७ करोड ७३ लाख रुपैयाँ भन्सार महसुल संकलन हुँदा निर्यात भएका मालवस्तुबाट एकदमै कम राजश्व संकलन भएको छ । निर्यात भएका मालवस्तुबाट १ करोड ३२ लाख १९ हजार रुपैयाँ भन्सार महसुल उठेको छ । जुन लक्ष्यको १९ प्रतिशत मात्रै हो । कार्यालयले पुस मसान्तसम्म ६ करोड ९९ लाख ७६ हजार भसार महसुल निर्याततर्फ संकलन गर्ने लक्ष्य राखेको थियो ।
अन्तःशुल्कतर्फ १२ अर्ब २६ करोड ८१ लाख ६४ हजार र पेट्रोलियम पदार्थको आयातमा लगाइएको पूर्वाधार कर मात्रै ७ अर्ब ९७ करोड ३२ लाख ३२ हजार रुपैयाँ संकलन भएको भन्सारले बताएको छ । अग्रिम आयकर १४ करोड ६८ लाख ९० हजार रुपैयाँ, स्वास्थ्य जोखिम कर ८३ लाख ६५ हजार, कृषि सुधार शुल्क ७३ करोड ६३ लाख ७६ हजार, सडक मर्मत तथा सुधार दस्तुर २ अर्ब ३९ लाख ९५ हजार संकलन गरेको छ ।
भन्सार सम्बन्धी अन्य आय शीर्षकमा ५ करोड ५७ लाख १८ हजार रुपैयाँ आम्दानी गरेको भन्सारले सडक निर्माण तथा मर्मत–सम्भार दस्तुर वापत ३ अर्ब ९ करोड ५ लाख ६१ हजार रुपैयाँ संकलन गरेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।
प्रतिक्रिया 4