+
+

सरकारले निजी क्षेत्रलाई भन्यो- आर्थिक गतिविधिमा प्रतिवन्ध लाग्दैन

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ५ गते १८:०४

५ माघ, काठमाडौं । कोभिड १९ को महामारीको तेस्रो लहर फैलिएसँगै यसले अर्थतन्त्रमा पार्न सक्ने सम्भावित जोखिमबारे अर्थ मन्त्रालयले निजी क्षेत्रसँग छलफल गरेको छ ।

बुधबार अर्थ मन्त्रालयमा आयोजित छलफलमा अर्थमन्त्री जनार्दन शर्मा तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले सरकार तत्काल आर्थिक गतिविधिमा प्रतिवन्ध लगाउने पक्षमा नरहेको स्पष्ट पारेका थिए ।

अर्थन्त्री जनार्दन शर्माले कोरोना महामारीको कारण मुलुक पुनः लकडाउन गर्नु परे मुलुक आर्थिक रुपमा चल्न नसक्ने बताए ।  मुलुकको अर्थतन्त्रका विषयमा छलफल गर्दै मन्त्री शर्माले सरकारले बन्द तथा लकडाउन गर्न नहुने भन्दै  पुनः लकडाउन गर्नु परे मुलुक आर्थिक रुपमा चल्न नसक्ने उनको भनाइ थियो ।

उनले मन्त्रीपरिषद्मा कोरोना महामारी बढ्दै गएको भन्दै बन्दका कुरा उठ्न लागेकाले बैठकमा बन्दको शब्द नै राख्न नहुने पक्षमा आफू रहेको बताए । मन्त्री शर्माले कोरोना महामारी नियन्त्रणको लागि सुरक्षाका विधिहरु कडाईका साथ लागु गरेर भए पनि अर्थतन्त्र चलायमान बनाउनु पर्ने अवस्था रहेको बताए । उनले नीजी क्षेत्र र सरकारको प्राथमिकता लकडाउन अथवा बन्द गर्न नहुने पक्षमा रहेकाले कोरोना रोकथामको विकल्प लकडाउन नभएको बताए ।

‘अहिले अर्थतन्त्र चलायमान गर्ने विषयमा प्रयासहरु जारी रहेका छन्, अर्थतन्त्रलाई बिगि्रएर जाने अवस्था नेपालको छैन, कोरोना महामारीको कुरामा कतै बन्दको कुरा उठ्ला भनेर मन्त्रीपरिषद्मा विरोध गरेका छौं’ अर्थमन्त्री शर्माले भने, ‘बन्द भन्ने शब्द नै हटाउनु पर्छ भनेका छौं, बन्द भन्ने शब्द नै नराख्नु भनेका छौं । हामीले कोरोना सुरक्षाको विधिहरु अपनाएर जानुपर्छ ।’

अब पनि कोरोना महामारी भनेर मुलुकमा बन्द लकडाउन गर्ने हो भने भने मुलुक नै चल्न गाह्रो हुने उनले बताए । अर्थतन्त्र चलायमान राख्नको लागि लकडाउन गर्नु हुन्न भन्ने पक्षमा अर्थमन्त्रालय रहेको उनले बताए । नीजी क्षेत्रको पनि लकडाउनको विरोध गरेकाले त्यही अनुसार अगाडि बढ्ने उनले बताउ ।

अर्थमन्त्री शर्माले अहिले अर्थथन्त्रमा नीतिगत तथा संरचनागत सुधारको आवश्यकता रहेको बताए । उनले अर्थतन्त्रको बाधक नीतिगत तथा संरचनागत व्यवस्था रहेको बताए । अहिले आफूले नीतिगत परिर्वतन गर्न रोजेको भए पनि बिरोध भइरहेको अर्थमन्त्री शर्माले बताए । उनले पछिल्लो समय बाहिर हल्ला भएजस्तो मुलुकको अर्थतन्त्र समाप्त नै नभएको बताए । अहिले नियोजित रुपमा बाहिर अर्थतन्त्र समाप्त भयो भनेर गतल प्रचार गरिएको प्रति मन्त्री शर्माले आपति जनाउनु भयो । उनले केही विषयमा चिन्ता गर्नु पर्ने भए पनि आंतक मच्चाए जस्तो अवस्था नरहेको बताए ।

‘ नेपालको अर्थतन्त्रमा देखिएका समस्याहरु नीतिगत तथा संरचनागत व्यवस्थाका कारण उत्पन्न भएका हुन । लगानी मैत्री बतावरण बनाउनको लागि नीतिगत तथा संरचनागत समस्या उठाउनु भयो । यी हाम्रा संस्थागत विकासका समस्याहरु हुन् । अर्थतन्त्र र राजनीतिसँगै जोडिएका कुरा हुन । यी अलग अलग कुरा होइन्न । हेर्दा अलग लाग्ने हो यसमा अर्थतन्त्रले राजनीतिलाई राजनीतिले अर्थतन्त्रलाई निर्देशित गर्ने हो । यसरी हामी नयाँ प्रक्रियागत कुरामा जाँदा अहिले धेरै समस्याहरु रहेका छन । अहिले मुलुकको अर्थतन्त्र चिन्ता गर्नु पर्ने अवस्थामा छ । तर व्यवसायीहरुले भने जस्तो अर्थतन्त्र बिगि्रसकेको अवस्था छैन,अर्थमन्त्री शर्माले भने,’अहिले अर्थतन्त्र तहसनहस नै भयो भनेर आंतक मच्चाउन खोजिएको छ । दुई किसिमका आंतक मच्चाउन छन् । नेपालको अर्थतन्त्र समाप्त बनाएर श्रीलंकाको जस्तो बनाए भन्दै ठूला मिडियाले नियोजित ढङगमा प्रचार गरेका छन् । यो राष्ट्रद्रोह हो कि के हो यो,देशलाई कता तिर लान खोजिदै छ । अहिले कतिपय क्षेत्रमा चिन्ता गर्नु पर्ने अवस्था आएको छ । सरकारले यो विषयमा चिन्ता गरेको छ । तर अर्थतन्त्र सबै समाप्त भयो भनेर जनता तथा व्यवसायीलाई जुन खालको त्रास फैल्याइदै छ यो गम्भिर विषय भएको छ ।’

अर्थमन्त्री शर्माले सरकारले नीजि क्षेत्रको हित भन्दा बाहिर गएर कुनै पनि काम नगरेको बताए । उनले जहिल्यै सरकार नीजि क्षेत्रको हितको लागि काम गरिरहेको बताए । मन्त्री शर्माले सरकारले नीजि क्षेत्रको उद्योगहरुमा लगानी बढाउनको लागि स्रोत नचाँहिने नीति ल्याए पनि कालो धनलाई प्रोसाहन भएको भन्दै विरोध भएको बताए । उनले सरकारले कालो धनलाई प्राथमिता दिने उद्देश्यले लगानी गर्दा स्रोत नचाँहिने नीति नबनाएको बताए । उनले सरकार र नीजी क्षेत्र दुबैले यो विषयमा प्रतिकार गर्नु जरुरी रहेको बताए ।

‘नीजी क्षेत्रको हित विपरित कुनै पनि काम गरिएको छैन, नीजि क्षेत्रको हित विपरित जानु भनेको राष्ट्रको हित विपरित जानु हो’ मन्त्री शर्माले भने, ‘त्यसरी जान दिने छैन, अहिले केही नीतीगत व्यवस्थामा परिर्वतन गर्नु पर्ने छ ।’

तर केही नीतिगत व्यवस्था गरौं भन्दा धेरै प्रश्न उठ्ने गरेको भन्दै उनले गुनासो गरे । ‘जस्तो लगानीको कुरा गर्दा लगानी गर्दा स्रोत नखोज्ने भन्दा कालो धनलाई प्राथमिकता दिइयो भनियो, तर सरकारले कालोधनलाई प्राथमिकता दिने उदेश्य छैन’ उनले भने, ‘लगानी पर्वद्धन गर्ने तथा सम्पति मूल्याङकन, अभिलेखन  तथा रेटिङ गर्ने कुरा आएका छन् । यी सबै अन्तर सम्बन्धित कुरा हुन तर लगानीको लागि वातावरण बनाउनु पर्छ त्यसमा प्रश्न उठ्छ ।’

मन्त्रालयका सहसचिव रितेशकुमार बैठकबारे अनलाइनखबरसँग शाक्यले भने, ‘अर्थ मन्त्रालयको जोड कोभिड-१९बाट बच्दै अर्थतन्त्र चलायमान बनिरहनु पर्छ भन्ने नै हो, यसबारे आज हामीले निजी क्षेत्रलाई आफ्नो धारणा जानकारी गरायौं ।’

बैठकमा निजी क्षेत्रको विभिन्न पेश व्यवसायमा प्रतिनिधित्व गर्ने संघसंस्थाका प्रतिनिधिलाई बोलाएर समस्याबारे टिपोट गर्ने काम भएको छ । यसले तत्काल रहेका समस्या समाधान गर्न र आगामी दिनमा चाल्नु पर्ने कदमबारे समेत सरकारलाई अपडेट प्राप्त भएको शाक्यले बताए ।

बैंक, बीमा, नेपाल उद्योग वाणिज्य महासंघ, पर्यटन, होटेलसहित अर्थतन्त्रका विभिन्न अवयवमा सरोकार राख्ने निजी क्षेत्रका प्रतिनिधि डाकेर अर्थले छलफल गरेको हो ।

छलफलमा कोभिडको दोस्रो लहरपछि खुला भएको गतिविधिका कारण आर्थिक क्षेत्रमा उत्साहजनक चलायमान देखिएको भन्दै यसलाई कायम राख्नु पर्ने निष्कर्ष निकालिएको छ । यस क्रममा कोभिड १९ को नयाँ भेरियन्टबाट बच्न मापदण्ड भने कडाईका साथ पालना गर्नुपर्ने निष्कर्षमा समेत छलफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?