+
+
Shares

निजी क्षेत्रलाई अन्तरदेशीय विद्युत् व्यापार बाटो खुल्यो, दुई वर्षसम्मको आशयपत्र दिइने

लामो समयदेखि अन्तरदेशीय विद्युत् व्यापारमा सहभागी हुन पाउनुपर्ने माग गर्दै आएको निजी क्षेत्रका लागि यो निर्णयले नयाँ व्यावसायिक अवसर सिर्जना गर्ने अपेक्षा छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ३० गते १६:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले निजी क्षेत्रलाई पहिलो पटक अन्तरदेशीय विद्युत् व्यापारको तयारीमा सहभागी हुन सैद्धान्तिक सहमति दिने निर्णय गरेको छ।
  • ऊर्जा मन्त्रालयले आशयपत्र प्राप्त कम्पनीलाई बजार सम्भाव्यता अध्ययन, खरिदकर्ता पहिचान र सम्झौता तयारी गर्न सक्ने व्यवस्था गरेको छ।
  • आशयपत्रले तत्काल विद्युत् व्यापारको अनुमति नदिने र वास्तविक कारोबारका लागि कानुनी तथा प्राविधिक प्रक्रिया पूरा गर्नुपर्नेछ।

३० असोज, काठमाडौं । सरकारले पहिलो पटक निजी क्षेत्रलाई अन्तरदेशीय विद्युत् व्यापारको तयारीमा सहभागी हुन सैद्धान्तिक सहमति दिने निर्णय गरेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले शुक्रबार निजी कम्पनीलाई आशयपत्र जारी गर्ने निर्णय गरेसँगै विद्युत् उत्पादनमा सीमित निजी क्षेत्रलाई अब बजार खोज्ने र विद्युत् व्यापारको तयारी गर्ने बाटो खुलेको हो ।

मन्त्रीस्तरीय निर्णय अनुसार आशयपत्र प्राप्त गर्ने कम्पनीले स्वदेश तथा विदेशमा सम्भावित विद्युत् खरिदकर्ता र व्यापारिक साझेदार पहिचान गर्न, बजार सम्भाव्यता अध्ययन गर्न तथा विद्युत् खरिदबिक्री गर्न आवश्यक सम्झौताको तयारी गर्न सक्नेछन् ।

लामो समयदेखि अन्तरदेशीय विद्युत् व्यापारमा सहभागी हुन पाउनुपर्ने माग गर्दै आएको निजी क्षेत्रका लागि यो निर्णयले नयाँ व्यावसायिक अवसर सिर्जना गर्ने अपेक्षा छ ।

यसअघि निजी क्षेत्रले विद्युत् आयोजना निर्माण र उत्पादनमा लगानी गर्न सक्ने भए पनि अन्तरदेशीय विद्युत् व्यापारमा प्रत्यक्ष सहभागी हुने प्रक्रिया स्पष्ट अघि बढ्न सकेको थिएन ।

सरकारको निर्णयले निजी क्षेत्रलाई विद्युत् उत्पादनसँगै बजार विस्तार र व्यापारिक साझेदार पहिचान गर्ने प्रक्रियामा समेत सहभागी गराउने छ ।

यसबाट विद्युत् उत्पादनमा लगानी गर्नुअघि सम्भावित बजार, मूल्य, माग र व्यापारका सर्तबारे जानकारी लिन सहज हुने अपेक्षा गरिएको छ ।

आशयपत्र पाए पनि तत्काल विद्युत् व्यापार गर्न नपाइने

आशयपत्र अन्तरदेशीय विद्युत् व्यापार तयारीका लागि दिइने सैद्धान्तिक सहमति हो । यसले कम्पनीलाई स्वत: विद्युत् व्यापार सञ्चालन गर्ने वा विद्युत् खरिदबिक्री गर्ने अनुमति भने दिने छैन ।

आशयपत्र प्राप्त कम्पनीले प्रचलित कानुन अनुसार प्राविधिक, वित्तीय तथा व्यावसायिक सम्भाव्यता अध्ययन गर्न, सम्भावित व्यापारिक साझेदारसँग छलफल गर्न र आवश्यक सम्झौताको तयारी गर्न सक्नेछन् ।

तर, वास्तविक व्यापार सञ्चालन गर्न, विद्युत् खरिदबिक्री सम्झौता कार्यान्वयन गर्न, प्रसारण क्षमता बुकिङ गर्न तथा प्रसारण प्रणालीमा खुला पहुँच प्रयोग गर्न सम्बन्धित कानुन बमोजिम आवश्यक अनुमतिपत्र, स्वीकृति र प्राविधिक व्यवस्था पूरा गर्नुपर्ने छ ।

यस व्यवस्थाले निजी क्षेत्रलाई अन्तरदेशीय विद्युत् व्यापार पूर्वतयारीमा प्रवेश दिए पनि कारोबार सञ्चालनका लागि भने थप कानुनी तथा प्राविधिक प्रक्रिया पूरा गर्नुपर्ने स्पष्ट पारेको छ ।

आशयपत्र अवधि अधिकतम दुई वर्ष

सरकारले आशयपत्र दुरुपयोग हुन नदिन विभिन्न सर्तसमेत निर्धारण गरेको छ । आशयपत्रका लागि आवेदन दिने कम्पनीले आफू प्रचलित कानुन बमोजिम कालोसूचीमा नरहेको, पेस गरेका विवरण तथा कागजात सत्य भएको र आशयपत्र दुरुपयोग गर्ने मनसाय नरहेको स्वघोषणा गर्नुपर्ने छ ।

आशयपत्रकै आधारमा अनुमतिपत्र प्राप्त गर्ने हक सिर्जना भएको दाबी गर्न पाइने छैन । त्यस्तै कम्पनी र उसका व्यापारिक साझेदारबीच हुने सम्झौताबाट नेपाल सरकारमाथि कुनै दायित्व सिर्जना हुने छैन ।

आशयपत्र प्राप्त कम्पनीले प्रत्येक त्रैमासिक अवधि समाप्त भएको १५ दिनभित्र मन्त्रालयमा प्रगति प्रतिवेदन बुझाउनुपर्ने छ । प्रतिवेदनमा सम्पन्न काम, उपलब्धि, निर्धारित लक्ष्य अनुसार प्रगति, देखिएका समस्या र आगामी कार्ययोजना समेट्नुपर्ने व्यवस्था गरिएको छ । आवश्यक परे मन्त्रालयले थप कागजात वा स्पष्टीकरण समेत माग गर्न सक्ने छ ।

कम्पनीको स्वामित्व वा सेयर संरचना परिवर्तन गर्दा प्रचलित कानुन अनुसार आवश्यक पूर्वस्वीकृति लिनुपर्ने छ । आशयपत्रका सर्त उल्लंघन भए, पेस गरिएका विवरण झुट्टा वा भ्रामक प्रमाणित भए वा सार्वजनिक हित र विद्युत् प्रणाली सुरक्षित सञ्चालनका लागि आवश्यक देखिए सरकारले कानुन बमोजिम आशयपत्र निलम्बन, खारेज वा संशोधन गर्न सक्ने छ ।

आशयपत्र अवधि कानुनले तोकेबमोजिम वा जारी भएको मितिदेखि बढीमा दुई वर्षसम्म रहने छ । अवधि थप गर्न आवश्यक भए म्याद सकिनुभन्दा कम्तीमा ३० दिनअघि प्रगति विवरण र कारण खुलाएर मन्त्रालयमा निवेदन दिनुपर्ने छ ।

उत्पादनबाट बजार विस्तारतर्फ निजी क्षेत्र

निजी क्षेत्रलाई अन्तरदेशीय विद्युत् व्यापार तयारीमा सहभागी गराउने निर्णयले नेपालको ऊर्जा क्षेत्रमा लगानी र व्यावसायिक सहभागिताको दायरा विस्तार गर्ने सम्भावना खोलेको छ ।

यसअघि विद्युत् उत्पादनमा केन्द्रित निजी लगानी अब बजार पहिचान र व्यापार तयारीसँग जोडिन सक्ने छ ।

निजी कम्पनीले सम्भावित खरिदकर्ता र साझेदारसँग छलफल गर्न थालेपछि कुन बजारमा कति विद्युत् माग छ, कस्तो मूल्यमा कारोबार सम्भव छ र व्यापारका सर्त तथा जोखिम के छन् भन्नेबारे जानकारी प्राप्त गर्न सक्नेछन् ।

यस्तो जानकारीले नयाँ विद्युत् आयोजना निर्माण गर्ने लगानी निर्णयलाई समेत बजार सम्भावनासँग जोड्न सहयोग पुग्न सक्छ ।

नेपालमा विद्युत् उत्पादन क्षमता विस्तार भइरहेका बेला उत्पादित विद्युत्का लागि स्वदेशी तथा विदेशी बजार खोज्नु ऊर्जा क्षेत्रको महत्त्वपूर्ण विषय बन्दै गएको छ ।

यस्तो अवस्थामा निजी क्षेत्रलाई व्यापार तयारीमा सहभागी गराउने निर्णयले उत्पादनमुखी संरचनालाई क्रमश: बजारमुखी बनाउन सहयोग पुर्‍याउन सक्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?