+
+

वैशाखमा सामान्य तरिकाले बिहे गर्ने रेखाको तयारी

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ५ गते २१:३५

५ माघ, काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा स्टारडमको पर्यायवाची बनेकी अभिनेत्री हुन् रेखा थापा । हिरोहरुको दबदबा रहेको समयमा दुई दशकअघिसम्म चलचित्र ‘हिरो’बाट नेपाली चलचित्रको पर्दामा फर्किएकी रेखा त्यसपछि एकछत्र रुपमा यो क्षेत्रमा राज गर्न सफल भइन् । ‘हिम्मत, किस्मत, हिफाजत, अन्दाज, कसले चोर्‍यो मेरो मन, काली, हिम्मतवाली, दुर्गा’ जस्ता चलचित्र उनले आफ्नै स्टारडमको बलमा हिट बनाइन् । नायकले नायिका जन्माउने यो क्षेत्रमा रेखाले भने नायकहरुलाई यो क्षेत्रमा जन्म दिइन् ।

रेखाले करिअर अगाडि बढाउँदै गर्दा उनको विवाह निर्माता छविराज ओझासँग भयो । छविसँग एक दशक वैवाहिक जीवनमा बाँधिएकी रेखाले एक दशकअगाडि नै पारपाचुके गरेर मित्रपार्कको अपार्टमेन्टमा बस्दै आएकी छन् ।

हुन त, रेखाको नाम चलचित्र क्षेत्रमा विभिन्न नायकहरुसँग नजोडिएको होइन । तर, ती सबै चलचित्र चलाउने फण्डा मात्र थिए भनेर बुझ्न गाह्रो छैन । छविसँग अलग भएको एक दशकपछि रेखाको बिहे चर्चा फेरि चलचित्र बजारमा चल्न थालेको छ । बुझिएअनुसार, रेखा वैशाख महिनामा बिहेको तयारीमा छिन् । स्रोतका अनुसार, रेखा केही समयदेखि एक युवकको प्रेम सम्बन्धमा छिन् । उनी प्रेमीसँग नै वैवाहिक जीवनको तयारीमा रहेको बुझिएको छ ।

रेखाले भने आउँदो साल आफूले विवाह गर्ने जवाफ मात्र दिँदै आएकी छन् । उनले विवाहको प्रश्नलाई टार्न यस्तो जवाफ दिने गरेको पनि बताउँछिन् । रेखाले विवाह भव्य रुपमा नगर्ने सोच बनाएकी छन् । रेखा निकट स्रोतका अनुसार, उनी सामान्य तरिकाले बिहे गरेर मिडिया र दर्शकलाई जानकारी दिने सोचमा छिन् ।

विवाह तामझामका साथ गर्न हुँदैन भन्ने सोच राख्ने रेखाले यो विषयमा सचेतना पनि जगाउँदै आएकी छन् । यसैले आफ्नो विवाह पनि भव्य रुपमा गर्दा गलत सन्देश जाने रेखाको बुझाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?