+
+

कोइलाखानीले उजाडिएको परिवार

आभास बुढाथोकी आभास बुढाथोकी
२०७८ माघ ६ गते २०:४०
११ वर्षीया शर्मिला, उनका दाजु दीपक, भाइ र बहिनी

६ माघ, दाङ । घोराही नगरपालिका-१९, तिर्साङकी ११ वर्षीया शर्मिला कामी हुर्कन नपाउँदै बाआमाको साथ खोसियो, सँगै दुई भाइबहिनी हुर्काउने दायित्व उनलाई थपिएको छ । वर्ष दिनभित्रै बुबा र आमाको मुत्यु भएपछि ९ महिनाकी बहिनी सोनिया र ६ वर्षका भाइ अशोक उनको काखमा आएका छन् । उनका दाजु दीपक १३ वर्षका छन् ।

बालकैमा बेसहारा बनेका दीपक र शर्मिला दाजुबहिनीलाई अब कसरी घर चलाउने थाहा छैन । सोनिया र अशोक समेत घरीघरी आमा खोज्दै रोइरहन्छन् ।

घोराही-१९, राम्चेस्थित कोइलाखानीमा मजदुरी गर्थे उनीहरुका बाबु मोहनलाल कामी । गत वर्षको फागुन १० गते सधैंझैं खानीको सुरुङभित्र पसेका उनी फर्कन पाएनन् । १६० मिटरभित्र काम गर्दागर्दै पुरिएर उनको ज्यान गयो ।

त्यो दिन ९ दिनकी सुत्केरी रहेकी उनकी श्रीमती शान्तिले पनि मंसिर २८ गते संसार छाडिन् । घरमा अब चार लालाबाला छन् ।

वडाध्यक्ष भन्छन् सबै जिम्मेवारी लिन्छु

वडाध्यक्ष भीमबहादुर सार्कीसँग शर्मिला, उनका दाजु, भाइ र बहिनी

टुहुरा बालबालिकाबारे सुनेका घोराही-४ का वडाध्यक्ष भीमबहादुर सार्की लत्ताकपडा र खानेकुरा लिएर मंगलबार तिर्साङ पुगे ।

श्रीमतीसहित पुगेका उनले बालबालिकाको पालनपोषण कसरी गर्ने भन्ने विषयमा सल्लाह गरिरहेको बताए । ‘हामी घरमै राखेर पढाउँछौं, बढाउँछौं, उनीहरुको सबै जिम्मेवारी लिन्छौं,’ उनले भने, ‘उनीहरु त्यही गाउँमा बसेपनि लालनपालनको जिम्मेवारी हामी लिन्छौं ।’

तिर्साङमा शर्मिलाका काकी छन् । काम गर्न भारत गएका काका फर्किनेवाला छन् । उनी आएपछि सल्लाह गरेर बालबालिकाको पालनपोषणको जिम्मेवारी आफूले लिने योजना रहेको वडाध्यक्ष सार्कीले सुनाए ।

आफ्नी ९ महिनाकी बहिनीलाई बोक्दै शर्मिला

तिर्साङका टुहुरा बालबालिकाबारे पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पनि चासो रहेको उनले बताए । ‘यहाँको घटनाबारे उहाँले पनि सुन्नुभएको रहेछ,’ उनले भने, ‘यी बालबालिकाको सुरक्षित भविष्यबारे उहाँको पनि चासो छ ।’

लेखकको बारेमा
आभास बुढाथोकी

बुढाथोकी अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?