+
+

सीमामा हेल्थडेस्क प्रभावकारी भएन

रासस रासस
२०७८ माघ ८ गते १३:३८
फाइल फोटो

बुटवल, ८ माघ । नेपाल-भारत सीमा नाका बेलहियाबाट संक्रमित भएका पनि निर्वाध आवतजावत गर्न थालेका छन् । कोरोनाको संक्रमण रोकथाम गर्न सीमा नाकामा सामान्य अस्थायी हेल्थडेस्क र होल्डिङ सेन्टर बनाइए पनि प्रभावकारी नभएका कारण त्यस्तो समस्या देखिएको स्थानीयवासीले बताएका छन् । नाकामा सामान्य ज्वरो मापन मात्रै गरिएको छ । भारतीय बजारमा किनमेल गर्न जाने नेपाली उपभोक्ताका कारण बढेको भीडले पनि संक्रमण बढाएको अनुमान गरिएको छ ।

रुपन्देहीको बेलहिया नाका हुँदै दैनिक कैयौं नेपाली भारतीय बजारमा सामान खरिद गर्न जान्छन् । उनीहरूको न कोरोना परीक्षण भएको छ, न उनीहरू स्वयंले स्वास्थ्य मापदण्ड पालना गर्ने गरेका छन् । कोरोना संक्रमण रोकथामका लागि स्थानीय प्रशासनले जारी गरेको आदेश पनि कार्यान्वयन भएको पाइँदैन । भारतीय पर्यटक र भारतमा काम गरेर गरेर फर्किने नेपालीबाहेक सामान खरिद गर्न जानेको कोरोना परीक्षण नगरिएकाले संक्रमण फैलाउने जोखिम झनै बढाएको बेलहिया हेल्थ डेस्कका स्वास्थ्य संयोजक लालमोहन चौधरी बताउँछन् ।

पछिल्लो समय बेलहिया नाका हुँदै नेपाल प्रवेश गर्ने भारतीय र नेपालीमा कोरोना संक्रमण देखिएको छ । नाकामा स्वास्थ्य मन्त्रालय, सिद्धार्थनगर नगरपालिका र विभिन्न सङ्घसंस्थाले हेल्थडेस्क राखेका छन् । सुरक्षाकर्मी पनि तैनाथ छन् । ‘यसरी आवतजावत गर्नेलाई परीक्षण त टाढाको कुरा हो सोधखोज र रोकतोकसमेत गरिएको छैन’, बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष उज्ज्वल कसजु भन्छन् ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले सीमा नाकामा स्वास्थ्य सर्तकता र स्वास्थ्य जाँचलाई कडाईं गरिएको भने पनि त्यहाँको जनशक्तिले त्यो भीड थेग्नसक्ने अवस्था देखिँदैन । बेलहिया नाका हुँदै दैनिक ५०० को हाराहारीमा मालबाहक सवारी साधन भित्रिन्छन्, तर सवारी चालक र सहचालकको पनि कोरोना परीक्षण गरिएको पाइँदैन । नाकामा संक्रमण देखिएका पनि होम आइसोलेसनमा बस्ने सर्तमा सिंधै घर जाने गरेका बताइन्छ ।

भारतमा बढ्दो कोरोना संक्रमणका कारण रोजगारीमा गएका नेपाली फर्कने क्रम बढ्दो छ । बेलहिया नाकाबाट करिब तीन हजार, रुपैडिया नाकाबाट करिब चार हजार, कृष्णनगर, महेशपुरबाट करिब दुई हजार नेपाली केही समययता दिनहुँ आइरहेका छन् । योबाहेक अन्य जिल्लाका साना नाकाबाट पनि उत्तिकै सङ्ख्यामा नागरिक आइरहेका छन् ।

कोरोना संक्रमण बढे पनि अहिले खोप कार्डका आधारमा गाडीका गाडी भारतीय पर्यटक तीर्थस्थल र पर्यटकीयस्थल घुम्न आएका देखिन्छ । बेलहिया नाकाबाट मात्र दैनिक सरदरमा ७०० गाडी नेपाल आइरहेको बेलहियास्थित इलाका प्रहरी कार्यालय र भैरहवा भन्सार कार्यालयले जनाएको छ, तर सीमामा न त स्वास्थ्य परीक्षणका लागि पर्याप्त जनशक्ति नै छ, न होल्डिङ सेन्टर नै । सीमित स्वास्थ्यकर्मीबाट काम चलाइएको नाकामा स्वास्थ्यकर्मी आफैँ संक्रमित भएका छन् ।

नाकामा दैनिक ५०० भन्दाबढीको एन्टिजेन परीक्षण हुने गरे पनि प्रवेश गर्ने सबैको परीक्षण हुँदैन । यसअघि पनि भारतबाट आउने व्यक्तिबाटै कोरोना संक्रमण फैलिएको भन्दै उद्योगी तथा व्यवसायीले सीमानाकामा परीक्षणलाई प्रभावकारी बनाउन माग गरेको बुटवल उद्योग वाणिज्य सङ्घका जिल्ला अध्यक्ष कसजु स्मरण गराउँछन् । ।

कोरोना जाँच सहजरुपमा गरेर ढुक्कसँग नेपाल आउने वातावरण मिलाउनुपर्नेमा उनी जोड दिन्छन् । त्यसो त प्रदेश सरकारले यसअघि बनाउने भनिएको होल्डिङ सेन्टर अहिलेसम्म बनेका छैनन् । रुपन्देही, कपिलवस्तु र बाँकेमा बनाउने भनिएको होल्डिङ सेन्टरका लागि रुपन्देहीमा जग्गाको व्यवस्था नै भएन, बाँकेमा पनि निकै ढिलो काम भएको छ भने कपिलवस्तुको कृष्णनगरमा काम अन्तिम चरणमा पुगेको छ । प्रदेश स्वास्थ्य कार्यालयका प्रवक्ता पुष्पराज पौडेलकाअनुसार बजेट अभावभन्दा पनि काम नै समयमा सुरु नभएर ढिलाइ भएको हो ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?