 
																			८ माघ, स्याङ्जा । वालिङ नगरपालिकाले कोभिड-१९ को परीक्षण, भोजन तथा औषधिलाई निःशुल्क गरेको छ ।
नगरपालिकाले वालिङस्थित गह्रौँ प्राथमिक अस्पतालमा निर्माण गरेको आइसोलेसन सेन्टरमा कोभिड-१९ संक्रमणका कारण भर्ना भएर बसेका बिरामीलाई खाना, नास्ता तथा औषधि निःशुल्क उपलब्ध गराएको नगरप्रमुख एवं अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दिलीपप्रताप खाँणले बताए ।
‘विश्वभर महामारीका रुपमा फैलिएको नयाँ भेरियन्टसहितको कोभिड-१९ को संक्रमणदर वालिङमा पनि उच्च छ’, उनले भने, ‘अस्पतालकै क्यान्टिनबाट निःशुल्क खाना, नास्ता र अस्पतालबाट उपलब्ध हुने औषधिसहित उपचारलाई निःशुल्क गर्ने व्यवस्था मिलाएका छौँ ।’
कोभिड-१९ को संक्रमणदर बढ्दै जाँदा नगरपालिकाले गह्रौँ प्राथमिक अस्पतालमा ५० शय्यासहित अक्सिजन सिलिन्डर, अक्सिजन कन्सन्ट्रेटरलगायत स्वास्थ्य उपकरणहरू र स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राखिएको उनले जानकारी दिए । ‘यहाँका नागरिकको स्वास्थ्यप्रति हामी सचेत छौँ, पहिलो प्राथमिकता नागरिकको जीउज्यानको सुरक्षा हो,’ उनले भने, ‘विकास बरु पछि गर्दै जाउँला पहिला नागरिकको स्वास्थ्यमा ध्यान दिने गरी अगाडि बढेका छौँ ।’
अस्पतालमा कोभिड-१९ को परीक्षण गर्न आएका व्यक्तिहरूलाई निःशुल्क एन्टिजिन परीक्षण गरिदिने गरिएको स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले जानकारी दिए । अस्पतालमा भर्ना भएर बसेका संक्रमितहरूलाई निःशुल्क खाना, नास्ता तथा औषधि उपलब्ध गराइएको शाखा प्रमुख पाण्डेले बताए । ‘५० शय्या क्षमतासहित संक्रमितहरूको उपचारका लागि तयारी अवस्थामा छौँ,’ प्रमुख पाण्डेले भने, ‘हाल सातजना संक्रमितहरू अस्पतालमा भर्ना भएर नियमित उपचारमा हुनुहुन्छ ।’
श्वासप्रश्वासमा समस्या देखिएका संक्रमितहरूलाई अहिले भर्ना गरेर राखिएको छ भने अन्य सामान्य लक्षण देखिएका संक्रमितहरूलाई घरमै छुट्टै आइसोलेसनमा बस्न भनिएको प्रमुख पाण्डेले बताए । घरमै आइसोलेसनमा बसेका संक्रमितहरूलाई कुनै समस्या देखिए अस्पताल आउन आग्रह गरिएको अस्पतालका सूचना अधिकारी उदय पौडेलले जानकारी दिए । अस्पतालमा भर्ना भई बसेका बिरामीहरूलाई बिहानको नास्ता, खाजा, दिउँसो नास्ता र साँझ खाना निःशुल्क उपलब्ध गराउँदै आएको सूचना अधिकारी पौडेलले बताए ।
उनका अनुसार होम आइसोलेसनमा रहेका बिरामीहरू स्वास्थ्यकर्मीको नियमितरुपमा सम्पर्कमा रहेका छन् । कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको रोकथाम तथा नियन्त्रणका लागि सबैले स्वास्थ्यसम्बन्धी मापदण्डहरु पूर्णरुपमा पालना गर्न नगरपालिकाले सूचना तथा माइकिङमार्फत अनुरोध गरेको छ ।
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4