+
+

अन्माएकी छोरीलाई पिताको पत्र – जीवन यस्तो होस्

तिलक पौडेल तिलक पौडेल
२०७८ माघ ८ गते १६:३२

प्यारी छोरी !
चिरञ्जीवी शुभाशिष ।

उत्तराधिकारको सांसारिक नियमको अविच्छिन्नताका लागि आज तिम्रै निर्णयानुसारको व्यहोरा कार्यान्वयन गरेर पितृ दायित्वबाट हलुङ्गिएको महसूस गरेको छु । यथार्थता बिदाइका बेलाको अवस्थाले जनाएकै थियो । र पनि, तिमीहरूको मनचिन्ते भविष्य हस्तगत हवोस् भन्ने कामनासाथ केही व्यहोराहरू लेख्ने मन लागेर निम्नानुसार कार्याग्रसर भएको छु । व्यहोराप्रति हंसन्याय गर्ने खूबी आर्जन गरेकै छौ, सोही बमोजिम उपयुक्तानुपयुक्त जाँची आदर्श र व्यवहारलाई सन्तुलित गरेर अघि बढ्ने छौ भन्ने पूर्णाशा राखेको छु ।

तिमीहरू सानै हुँदादेखि घरायसी बैठकका आयोजना गर्ने गर्दथ्यौं । वास्तवमा, बैठकलाई अनौपचारिक र औपचारिक हिसाबले वर्गीकरण गर्न सकिन्छ । औपचारिक बैठकमा गरिने निर्णय अभिलेख वास्तवमा सजीव इतिहास बन्दोरहेछ । आज दाइ-भाउजू अमेरिका, हामी यहाँ र तिमी त्यहाँ भए पनि उबेलाका निर्णय पुस्तिका हेर्दा तिमीहरूका कोमल हातका हस्तलिपि देख्न पाउँछु – मनमा रमाइलो महसूस हुँदोरहेछ । अर्को कुरा बैठकमा सर्वसहमतिमा हरेकले सम्पादन गर्ने गरी तयार पारिएको कार्ययोजनाको मूल्याङ्कन एवम् समीक्षा गर्न पनि लिखित निर्णयले विस्मृतिको पर्दा खोलिदिने रहेछ ।

आखिर योजना भन्नु नै हामी कहाँ छौं ? हामी कहाँ जान चाहन्छौं ? त्यहाँ पुग्ने सहज, सरल, एवम् प्रभावकारी उपाय के हो ? भन्ने व्यहोराको दस्तावेज न हो रहेछ र त्यो उपाय अवलम्बन गर्न को, कसले, के, कहिले, कति, कसरी गर्न सकिन्छ भन्नु नै कार्ययोजना हो । यो बेला हामीले घरायसी आवधिक योजना समेत तयार पारेको मलाई स्मरण भैरहेछ ।

जेहोस् आफ्नो, जोडीको, घरको, कार्यालयको, सम्भव भए टोल छिमेकको, गाउँ-नगरको, जिल्लाको, राष्ट्र/अन्तर्राष्ट्रको लक्ष्य/उद्देश्य तय गरी समन्वयात्मक हिसाबले कार्ययोजना बनाई अघि बढ्दा आफ्नो कार्यसम्पादनले कहिल्यै होर्ल्याङ्पाटा खानु (असन्तुलित हुनु) पर्दैन । हुन पनि तिमी-हामीले शिशु कक्षादेखि स्नातकोत्तर, विद्यावारिधिसम्म पढ्दा नेपालीको पिरियडमा गणित कहिल्यै पढेनौं । पढाइका विषयहरूको समग्रतालाई तोकिएकै समयमा अध्ययन गरेर यहाँ आइपुग्यौं ।

भनेपछि हाम्रा चौबीस घण्टा, साप्ताहिक, मासिक, द्वैमासिक, चौमासिक, अर्धवार्षिक, वार्षिक प्रकृतिका समस्त कामकारबाहीलाई समयाबद्ध तालिका बनाई अघि बढ्दा नि:सन्देह प्रतिफल चुस्त एवम् कार्य सम्पादन दुरुस्त हुन्छ – यो बुबाको अनुभव पनि हो । ख्याल गर्नुपर्ने के पनि हो भने, अरूसमेतको संलग्नता हुने कार्यमा अरूहरूको पनि तदारुकता जरुरी हुन्छ, जुन जिम्मेवारी तालिका बनाउँदा नै तय गरिएको हुनुपर्दछ ।

अब दैनन्दिनीबाट मेरा रहर र सुझावहरू राख्दछु । सामान्यत: बिहान सकेसम्म एक प्रहर रात छँदै अर्थात् उज्यालो हुनुभन्दा कम्तीमा एकघण्टा जति पहिले विस्ताराबाट अलग्गिनु स्वास्थप्रद मानिन्छ । स्थूल शरीरलाई बानी पार्न केही समय असहज लागे पनि सुत्नेबेलामै मनलाई दृढ आज्ञा दिइयो भने शरीरका इन्जाइमहरूले आफ्नो आज्ञाकारिता प्रकट गर्ने हुँदा थोरै दिनमै बानीको विकास हुन्छ । मन बिउँझेपछि एकपटक आत्माको आस्था ‘परमात्मा’ प्रति आभार व्यक्त गर्ने र दुवै हातलाई ११/१२ पटक रगडेर तातोपनसँग आँखा ढाकेर हत्केला हटाइसँगै आँखा खोल्नु, जीवनको त्यो दिन/क्षण सम्झेर मुस्कुराउनु र दायाँ कोल्टोबाट उठ्नु राम्रो हुँदोरहेछ ।

उठेपछि पहिला बिस्तारालाई अद्यावधिक गर्नुपर्दछ । त्यसपछि सम्भवत: कागती, बिरेनुन मिसाएको मनतातो पानी पिउनु, तिर्खा नलागी प्रशस्त पानी पिउने क्षण भनेको यही हो । यसले दिसा-पिसाब गर्ने आदेश गर्दछ । यदि भएन भने आफूलाई मनपर्ने धुन बजाई नृत्य चिकित्सा गरेमा शौचादि कार्यसम्पादनको रहराङ्कुरण हुन्छ र बल नगरी सहज हिसाबमा नहतारिई शौच गर्ने गर्नुपर्दछ । बरू दुई-चार पानाको ‘बाथरुम रिडिङ्’ पनि फलदायी नै हुन्छ, जुन तिमीले पनि अनुकूलताका आधारमा अवलम्बन गर्ने गरेकी छु भन्थ्यौ ।

तदुपरान्त सबै शरीर रुझाएर नुहाउनु । मैले स्नानका समयमा साबुन लगाई काइयोले सबै अङ्गहरूलाई कोर्ने गर्दछु । यसो गर्नाले केशिका नसाहरूको रक्तसञ्चालनमा सहजता हुन गई शरीरमा स्फूर्ति एवम् ताजगीपन महसूस गर्ने गरेको छु । साबुनै लगाएर नुहाउने तालिका मेरो हकमा हप्तामा दुईपटक रहने गरेको छ । त्यसपछि सबै अङ्गहरूलाई सुसन्देश पुग्ने गरी सामान्य योग र कम्तीमा पन्ध्र मिनेटको एकाग्र ध्यान गर्ने गर्नुपर्दछ । त्यसपछि नवप्रभातीलाई नमन गरी चौथाइ घण्टा पूजाआजामा बिताउनु आत्मिक शान्तिको लागि उपयुक्त ठहर्छ ।

अनि अग्रजानुजहरूलाई शुभदिनको कामनासहित हस्मुखे अभिवादन सर्वग्राही मानिन्छ । भान्सामा एकाधघण्टा आफैं सरिकिंदा वा सहयोगी भूमिका निर्वाह गर्दा स्वास्थप्रद मनचिन्ते भोजन बन्न/बनाउन सहयोग पुग्दछ । सहयोगीहरू स्वास्थभन्दा स्वादसंवेदनशील हुन्छन् । तसर्थ, आफ्नो निगरानीका लागि समयको अनिवार्य विनियोजन गर्ने गर्नु राम्रो हुनेछ । शरीर/आत्मालाई स्वस्थ, चुस्त, दुरुस्त राख्नका लागि भोजन उचित हुनु अनिवार्य छ, त्यसका लागि जेसुकै त्याग्नु परे पनि त्याग गर्नुपर्दछ ।

प्रभातकालीन नास्ताका रूपमा यथासम्भव आफैं घरमा बनाएको सर्वोत्तम पीठो परिवारजनलाई पनि दूध, चिया, पानीमा स्वाद अनुरूप गुलियो वा नुनिलो मिसाएर उपभोग गर्नु उपयुक्त हुन्छ । गुलियोको लागि पनि चिनीभन्दा मह, सक्खर, खुदोको उपयोग उत्तम मानिन्छ ।

डा. राजु अधिकारीका अनुसार, भान्सा भनेको खन्चुवा रोगको औषधि बनाउने ठाउँ – ‘फर्मास्युटिकल’, हो भने भान्से ‘फर्मासिष्ट’ हो । दुरुस्त कार्यसम्पादनका लागि दृढ मन (आत्मबल ~ बलियो आत्मा), त्यसका लागि स्वस्थ तन अनि स्वस्थ तनका लागि उपयुक्त भोजन अपरिहार्य हुन्छ । चाणक्य नीतिमा पनि भनिएको छ – कुलको भलाइका लागि एउटा व्यक्तिलाई, गाउँको भलाइका लागि कुललाई, राष्ट्रको भलाइको लागि गाउँलाई, आफ्नो आत्माको भलाइका लागि पृथ्वीकै त्याग गर्नु उचित मानिन्छ ।

त्यसैले घरको भान्सा होस् वा बाहिरको चमेनागृह ! शरीररूपी गाडी सञ्चालनार्थ इन्धनरूपी खानाप्रति सदा संवेदनशील रहने गर्नुपर्दछ । सादा र शाकाहारी भोजन अत्युपयुक्त भएतापनि घरसल्लाह अनुसार आवधिक रूपमा माछाहार, मांसाहारको व्यवस्था मिलाउनु उपयुक्त हुनसक्छ । भोजन सादा भए पनि आवश्यक तत्वको सन्तुलित संयोजनमा सदा ध्यान पुर्‍याउनुपर्दछ । भोजनसँग मौसमानुसारको सलाद र अन्त्यमा मोहीलाई सकेसम्म नटुटाउँदा स्वास्थ्य अनुकूल भएको अनुभव छ । भनिएकै पनि रहेछ – दिनान्ते च पिवेत् दुग्धम्, निशान्ते च पिवेत् पय । भोजनान्ते पिवेत् तक्रम् वैद्यस्य किं प्रयोजनम् ।।

अर्थात् दिन सकिएपछि अर्थात् रात परेपछि दूध पिउने (त्यसमा पनि सर्दीको शिकायत छ भने बेसार वा मह घोलेर, हाड जोर्नीको दु:खाइ छ भने शिलाजित घोलेर, जीवनलाई ऊर्जावान् राख्न जीवनबुटी – यार्सागुम्बासँग मनतातो दूध पिउनु श्रेयस्कर मानिंदो रहेछ), रात सकिएपछि अर्थात् बिहान उठेपछि पहिला पानी पिउने (त्यसमा पनि तामाको भाँडामा कम्तीमा ३ घण्टा राखिएको पानीलाई तातोपानी मिसाई मनतातो बनाएर कागती, बिरेनुन हालेर मुखमा बसेको लेठसमेत कुल्ला गरेर निल्नु उपयुक्त हुँदोरहेछ), खाना खाएपछि मोही पिउने हो भने वैद्यको के खाँचो ? भन्ने जानकारी मिलेपछि मोही खाने गर्दा पनि फाइदा पुर्याएको महसूस भएको छ ।

सलाद बनाउँदा पनि बजारबाट किनेर ल्याएको हकमा पोटासपानी, नूनपानी वा सफापानीमा कम्तीमा १५/२० मिनेट भिजाई काटेर बिरेनुन र कागतीको रस मिसाउँदा सुपाच्य हुन्छ । सलादमा सकेसम्म काँक्रो हुनु र खानाको अन्त्यमा खानु ठीक हुँदोरहेछ । शास्त्रोक्ति हेर्दा – अभुक्त्या वयरी पथ्यम्, भुक्त्या पथ्यं च कर्कटे । इक्षुदण्ड सदा पथ्यम्, कदली न कदाचन ।। भनेको पाइन्छ ।

अर्थात् नखाँदैको खाली/भोको पेटमा वयर पथ्य हुन्छ, खाएपछिको भरी पेटमा काँक्रो पथ्य हुन्छ, उखु जतिखेर पनि पथ्य हुन्छ, केरा कहिल्यै पनि अर्थात् खाली वा भरिपेटमा पथ्य हुँदैन भनिएको व्यहोरा जानकारी भएपछि उपलब्ध भएसम्म यथासम्भव मौसम अनुसारको सलाद उल्लिखित विधिबाट तयार पारी खाँदा सबैलाई राम्रो भएको अनुभवको साक्षी स्वयम् तिमी पनि छौ । त्यसैगरी खानापछि सौंप (बोके जिरा) आधा भुटेको र आधा काँचो मिसाएर, मधुमेह रोग छैन भने मिस्रीचिनी पनि नत्र ल्वाङ, सुकुमेल अनि मुखभित्र घाउहरु आउने गर्दैन भने सुपारी समेतको सेवनले हाम्रो शरीरको ‘त्रिदोष’ मध्ये ‘पित्त’लाई सन्तुलित बनाउन सहायकसिद्ध हुने अनुभव तिमी स्वयंले गरेकै छौ, नियमितता दिनु ।

कार्यालय रमाना हुँदा गाडी जसले चलाए पनि नहतारिनु अनि ट्राफिक नियममा आत्मानुशासित बन्नुपर्दछ । कार्यालयको कार्य सम्पादनलाई पनि व्यवस्थित बनाउन कार्ययोजना दैनिकी खडा गरिराख्दा राम्रो हुन्छ । अचेल त अति जरुरी कामलाई मोबाइलमा ‘रिमाइण्डर’ पनि राख्नु उपयुक्त हुन्छ । ‘आफूभन्दा ठूलाको आदर र सानाप्रति माया’ दर्साउन चुक्नुहुँदैन । शरीरमा ७०-८० प्रतिशत द्रव हुन्छ, जसको सन्तुलनका लागि स्वच्छ पानीको चुस्की लिंदै पिइरहने गर्नु स्वस्थकर हुन्छ । जति नै हतारमा भए पनि दिसा, पिसाबलाई रोक्नु हितकर हुँदैन ।

कुनै पनि प्रकारको आवेगलाई कहिल्यै पनि रोक्नु उपयुक्त हुँदैन, त्यसले शारीरिक एवम् मानसिक प्रतिकूलता सिर्जना गराउँछ । नास्तादि खाने विषयमा पनि आफूलाई के खाँदा उपयुक्त हुन्छ र के खाँदा गडबड हुनछ भन्ने व्यहोरा ख्याल गर्दै माथि उल्लेख भए बमोजिम यथासमयमा यथोचित मात्रामा खाने गर्नुपर्दछ । भनिन्छ – सबैभन्दा भरपर्दो डाक्टर – स्वयम् आफैं हो । यसमा पनि बनिबनाउ खाना – जङ्कफूड, जसमा अजिनोमोतो र प्रिजर्भेटिवको प्रयोग हुन्छ, स्वादप्रिय भए पनि न्यूनातिन्यून उपयोग गर्ने गर्नु ।

यो व्यहोरा परिवारजनमा पनि अनुरोध गरी साप्ताहिक काम गर्दाका समयमा नास्ताको यथोचित व्यवस्था मिलाउनु राम्रो हुन्छ । कार्यालयमा गर्नुपर्ने ‘ओभरटाइम’लाई पनि सहकर्मी छलफलबाट स्वनियन्त्रित बनाउनु उपयुक्त हुन्छ । भैपरी/अपर्झट आइपर्ने काम बाहेक अरू कामलाई तालिकाबद्ध गर्ने/गराउने गर्दा कार्यबोझ हलुङ्गो महसूस हुन्छ । अपर्झट काम आइपरेर घर फर्कन ढिला हुने भएमा घरमा यथासमयमा जानकारी गराउने कार्यलाई उच्च प्राथमिकतामा राख्ने गर्नुपर्दछ ।

घर र कार्यालयलाई सम्हाल्ने एउटै मस्तिष्क भए पनि दुवैतिरको तनावादिलाई यथासम्भव मिसमास नगर्नु सर्वथा उचित मानिन्छ । तर कार्यालय पनि एउटा घर न हो, त्यहाँ अभ्यास गरिएका राम्रा अनुभवलाई भने घरमा पनि प्रयोगमा ल्याउन सकिन्छ । मनमा पीडा नै भए पनि मुस्कुराएको चेहराले वरिपरिका जनहरूलाई सन्तुष्टि प्रदान गर्ने हुन्छ । घरमा फर्केपछि पोशाक बदली फ्रेस भएर पानीको चुस्की लिंदै अग्रजानुजको कार्यापेक्षाप्रति संवेदनशील हुनु ।

मुस्कुराउने, हाँस्ने खूबी प्रकृतिले मानवमात्रलाई दिएको अनुपम उपहार हो, यसको प्रयोगमा कञ्जुस्याइँ गर्नुहुँदैन । जहिले पनि दैनिक काम शुरु गर्नुभन्दा पहिले सँगसँगै गर्न मिल्ने र अलग-अलग गर्नुपर्ने कामको टुङ्गो लगाई समयको मितव्ययितापूर्वक उपयोग गर्दा कार्य सम्पादन सहज हुन्छ । यथाशक्य खाने समय, सुत्ने समय, शेयरिङ समय, समाचार/पत्रपत्रिका समयलाई समयाबद्ध गराउँदा कसैले यन्त्रमानवको संज्ञा दिए पनि अन्तत: जिम्मेवारीवहन गर्ने शरीर उही भएकाले त्यसको रक्षार्थ समयतालिकामा गरिने आबद्धता उपयुक्त नै हुनेछ, यो अनुभविएको तथ्य हो ।

दिनको एकपटक मुलुकको समाचारप्रति अद्यावधिक भैरहनुपर्दछ । सायंकालीन भोजनमा मोही/दही/साग नखानु र दूधमा पूर्वानुच्छेदमा उल्लेख गरे झैं उपयुक्तताको आधारमा बेसार, मह, शिलाजित, यार्सागुम्बा, च्यावनप्रास मिसाई वा सादा दूधपान गरी आराम गर्नु । आराम गर्दा खाना खाएको तीन घण्टा पनि नभएको भए, वायाँ कोल्टो सुत्ने गर्नु, यसले पाचनप्रणालीलाई सहजीकरण गर्दछ भन्छन् – सरोकारी विद्वानहरू ! सुतेपछि चौथाइ घण्टा बराबरको समय दिनको पुनरावलोकनमा खर्चनु र इष्टदेव, पितृहरूको स्मरण गर्दै भोलिपल्टको आफ्नो निर्धारित जिम्मेवारीलाई बनाइएको कार्ययोजना अनुरूप मनन गरी अङ्ग-प्रत्याङ्गलाई ठोस सन्देश दिएर सुत्दा कार्यसम्पादनमा सशक्तता प्राप्त भई प्रभावकारी कार्यान्वयन गर्न सकिने हुन्छ ।

वास्तवमा आफ्नो कार्ययोजनालाई अवचेतन मन (सबकन्सस माइण्ड) मा ठोस सन्देशका रूपमा ‘नोट’ गराउन सक्ने हो भने ‘टाइमर/अलार्म सेट’ नगरे पनि यथासमयमा बिउँझन सकिन्छ । मैले भौतिक घडीभन्दा जैविक घडी निकै भरपर्दो महसूस गरेको छु । कदाचित् निद्रा लागेन भने शवासनको रूप दिई खुट्टाको बूढी औंलादेखि सर्वाङ्गको मनन गर्दै सु-स्वास्थ्य रहेको सन्देश दिंदै शिरसम्म पुग्नु । मेरो अनुभवमा शिरसम्म पुग्नुपरेको हेक्का विरलै हुने गरेको छ, पहिल्यै निद्रादेवीले शरणमा लिइसक्छिन् ।

मैले निवृत्त जीवन शुरु गरेपछि ‘हामी दुई’ मात्र घर कुरुवा जस्तो बनेका छौं । परिआएका कार्यमा सहभागिता अनिवार्य, अपरिहार्य हुने नै भयो । स्वभावत: भान्साको कार्य जिम्मेवारीलाई पनि वहन गर्ने गरेको छु ।

संयोग, नवजात शिशु – वृशांकसाथ आयौ, करिब महीना दिनको सहबसाइमा पनि उल्लिखित व्यहोराहरूको व्यवहारीकरण अनुभव गरिहोलिऊ । आज तिमी र नातिलाई कान्छो छोरा – रञ्जनसाथ विमानस्थलमा बिदाइ गर्दा प्रसन्नतानुभूतिले आँखा रसाए । हो ! अश्रुवहाव सुख र दु:ख दुवै क्षणमा हुन्छ भन्थे, आज प्रमाणित भयो । हुन्छ ! यसपटकलाई यत्तिमै पूर्णबिराम गर्दछु । नाति लगायत सबैप्रति स्वास्थ्य संवेदनशील रहनु । तिमीहरूको सुआरोग्यताको कामनामा बिदा हुन्छु । शेष अर्को पत्रमा !

…सके सपारौं, नसके नबिगारौं…
#हामी सबैको कल्याण हवोस्#

तिम्रो सदा भलो चाहने
बुबा
तिलक पौडेल

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?