+
+

आपसमा किन लड्छन् गैंडाहरू ?

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ९ गते १५:४३
फाइल तस्वीर

९ माघ, काठमाडौं । जंगलभित्र जनावरहरुको लडाइँ कस्तो हुन्छ होला ? हिंस्रक जनावरहरुबीचको हुने लडाइँ सबै देख्न त सकिँदैन, तर यिनीहरुबीच लडाइँको कारण के हुन्छ होला ? यो निकै रोचक लाग्छ ।

बाघको स्वभाव हेर्दा यसले आफ्नो चारकिल्ला घेरेर त्यो क्षेत्रमा अरुलाई प्रवेश गर्नै दिँदैन । सिंह होस् वा गैंडा सबैले आफ्नो छुट्टाछुट्टै किल्ला छुट्याएर बसिरहेका हुन्छन् । बेलाबेलामा उनीहरुबीच झगडा हुन्छ र मिलन पनि । जंगलमा जीवन बिताउने गैंडाको कस्तो हुन्छ त दिनचर्या ?

गैंडा समशीतोष्ण हावापानी भएको क्षेत्रमा नियमित घाँस खाएर जीवन जिउने चौपाया हो । यो सधैंभरि खाइरहनु पर्ने खञ्चुवा जनावर हो । जंगलमा राज गर्ने गैंडाहरु कति शान्त वातावरण मन पराउँछन्, तर आफैंमा यिनीहरुको स्वभाव रिसाहा खालको हुन्छ । त्यसैले अनेक बहानामा यिनीहरु एकापसमा लडिरहने बताउँछन् वन्यजन्तु संरक्षणविद्हरु ।

२०७५ साल फागुन १४ गते चितवन राष्ट्रिय निकुञ्जभित्र खोरिया मुहान क्षेत्रमा दुई वर्षको पोथी अर्को गैंडाको आक्रमणबाट मृत अवस्थामा भेटियो । त्यसको ८ महिनापछि २०७६ कात्तिक १४ गते मध्यबिन्दु नगरपालिका–१५ मा अर्को पोथी केटो मरेको भेटियो । यो पनि दुई गैंडाबीचको आक्रमणबाट मरेको भेटिएको चितवन राष्ट्रिय निकुञ्जका तत्कालीन प्रशासनले जनाएको थियो । चितवन राष्ट्रिय निकुञ्जका सेवा निवृत्त वन्यजन्तु संरक्षण अधिकृत वेद खड्काका अनुसार यस्ता घटनाहरु निकुञ्जभित्र धेरै घट्ने गर्छ । यो घरमा पालिने जनावर नभएकाले सबैको अवस्था बुझ्न सकिँदैन । तर झगडा भने अनेक बहानामा सधैं भइरहने खड्का बताउँछन् ।

हात्ती जंगली जनावर भएपनि मानव क्रियाकलापमा कुनै न कुनै ठाउँमा काममा आउने जनावर हो । त्यस्तै, घोडा होस् वा अरु कतिपय जनावर जंगली भएपनि मान्छेसँग कुनै न कुनै काममा जोडिन्छन् । तर गैंडा घरेलु वा मान्छेको प्रयोजनको लागि केही काम नभएको खड्का बताउँछन् ।

गैंडाहरु आफैंमा एकोहोरो स्वभावका हुन्छन् । बाघको जस्तो चिह्न लगाएर आफ्नो सीमा नतोके पनि गैंडाले पनि छुट्टै सिमाना भने तोकेको हुन्छ । यिनीहरु आफ्नो क्षेत्रमा अर्कोले प्रवेश गरेको मन पराउँदैनन् । सके लडाइँ गरेर यिनीहरुलाई भगाउने कोशिश गर्छन् नभए मौन बस्छन् तर पनि आफ्नो क्षेत्रमा अरु आएको भने मन पराउँदैनन् ।

मौसम अनुसार बदलिने गैंडाको जीवनशैली

गैंडाको जीवनशैली मौसम अनुसार बदलिने गर्छ । जाडो मौसममा तलाउको पानी चिसो हुँदा नदी किनारतिर हिँड्ने गैंडाहरु गर्मीयाम शुरु भएपछि तालको पानीमा आधा शरीर डुबाएर पानीभित्रको घाँसमा चर्ने गर्छन् । जाडोमा भने यिनीहरु चितवन राष्ट्रिय निकुञ्जभित्र राप्ती नदीको पानी तुलनात्मक रुपमा तातो हुने भएकाले नदी क्षेत्रमा चर्न जाने गर्छन् । खड्काका अनुसार गैंडाहरुले गुलियो घाँस धेरै खान्छन् । यिनीहरुले घाँसमा पनि काँस ७० प्रतिशत जति खान्छन् ।

गर्मीमा ज्यानमा माटो दलेर किन हिँड्छन् गैंडा ?

राष्ट्रिय निकुञ्जमा यात्रा गर्दा गर्मी मौसममा धेरैले गैंडा देखियो भने शरीरमा माटो दलेर हिँडेको देखेको हुनुपर्छ । यो किन त ? खड्का भन्छन्, ‘गर्मीबाट बच्न र ठूलो झिँगाबाट बच्नको लागि गैंडाले शरीरमा हिलो दलेर हिँड्छ ।’ गैंडाहरु जाडो याममा तालतिर जाँदैनन् । उसले कास भनिने एउटा झिँगाबाट बच्नको लागि यस्तो उपाय अपनाउने उनी बताउँछन् ।

किन हुन्छ गैंडाहरुबीच लडाइँ ?

गैंडाहरुले मानवीय गतिविधिले भन्दा बढी स्वयं लडेर वा प्राकृतिक कारणले बढी मृत्युवरण गर्ने गर्छन् । प्राकृतिक कारणमा पनि धेरै त आफूआफू लडेर धेरैको मृत्यु हुने गर्छ । कुनै पनि गैंडाले यौन चाहना पूरा गर्नका लागि पोथीलाई खोज्न जान्छ, आफूले मन पराएको पोथीको पछि अर्को गैंडा लागेको भाले गैंडाले मन पराउँदैन । त्यसैले सम्भोगकै विषयलाई लिएर पनि धेरै गैंडाहरुबीच लडाइँ हुने गरेको खड्का बताउँछन् ।

भालेभालेबीच पोथीको लागि झगडा पर्छ । यो अलिकति लाटो र रिसाहा जात भएकाले यिनीहरुको धेरै झगडा हुन्छ । यिनीहरुबीच धेरै झगडा भएको र मरेका धेरै समाचार पनि देख्न सकिन्छ । भालेभालेबीच पोथीको लागि नै धेरै झगडा भएको देखिन्छ ।

अर्को भाले र पोथीको बीचमा पनि झगडा पर्ने गर्छ । तर यो तुलनात्मक रुपमा कम हुने गर्छ । ‘यही कारणले धेरै गैंडा मर्छ भन्ने सक्ने अवस्था छैन,’ खड्का भन्छन्, ‘हामीले पनि खोरमा पालेको गैंडा नभएकाले के कारणले म¥यो भन्ने कुरा पत्ता लगाउन मुस्किल छ । धेरै गैंडाको पोस्टमार्टम गर्दा जुधेर मरेको भेटिएका धेरै घटना हुन्छन् ।’ कतिपय अवस्थामा अर्को क्षेत्रको गैंडाहरु अर्को क्षेत्रमा जाँदा पनि झगडा पर्ने गर्छ ।

जम्काभेट वा तर्साउँदा मात्रै आक्रमण

खड्काका अनुसार गैंडा रिसाहा जनावर भएपनि यसले मानिसलाई सितिमिति आक्रमण गर्दैन । तर केही अवस्थामा मान्छेसँग जम्काभेट भयो भने त्यस्तो अवस्थामा पनि मान्छेलाई यसले आक्रमण गर्छ । जस्तो, माउ र बच्चासँगै भएको अवस्था छ भने त्यसमा माउले मानिसलाई आक्रमण गर्न सक्छ । भालेपोथी सम्भोगको बेलामा मान्छे पुग्यो भने पनि गैंडाले आक्रमण गर्न सक्छ । शान्त वातावरणमा एक्कासी मान्छे भेट भयो भने पनि गैंडाको आक्रमणमा पर्न सक्ने खड्का बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?