+
+

सन् २०२२ मा यी फिल्मले मच्चाउन सक्नेछन् बलिउडमा धमाका

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १० गते १२:४५

१० माघ, काठमाडौं । बलिउडका लागि सन् २०२० र २०२१ सुखद् रहेन । बलिउड फिल्म उद्योगमा वर्सेनि एक सय भन्दा बढी चलचित्र निर्माण हुने भएपनि कोरोना महामारीका कारण बितेका दुई वर्ष धेरै चलचित्र रिलिज हुन पाएनन् ।

सन् २०२१ को तिहारमा रिलिज भएको चलचित्र ‘सूर्यवंशी’ले सिनेमा हलमा दर्शक फर्काउन थालेको भएपनि फेरि कोरोना महामारीको तेस्रो लहर फैलिएपछि धमाधम हल बन्द हुन थाले । जसका कारण रिलिजको तयारीमा रहेका अधिकांश चलचित्रले प्रदर्शन मिति पछि सार्न बाध्य भएका छन् ।

सन् २०२२ मा केही यस्ता चलचित्र रिलिज हुँदैछन् जसले सिनेमा हलमा फेरि दर्शकलाई फर्काउने क्षमता राख्ने अपेक्षा गरिएको छ । यस वर्ष प्रदर्शन हुने ठूला ब्यानरका चलचित्रहरुमा ब्रम्हास्त्र, पठान, टाइगर ३, आदिपुरुष र पृथ्वीराज रहेका छन् । ट्रेड एनालिस्ट रमेश बालाका अनुसार यी चलचित्रहरुले बक्स अफिसमा धमाका मच्चाउने ठूलो अपेक्षा छ । तर कोरोना महामारीको प्रभाव कस्तो रहन्छ त्यसमा पनि भर पर्ने उनी बताउँछन् ।

चलचित्र ‘ब्रम्हास्त्र’ निर्माण भएको लामो समय भइसकेको छ । भीएफएक्सको उच्चतम प्रयोग गरिएको यो चलचित्रले साउथ चलचित्रको बढ्दो चुनौतीलाई टक्कर दिने अनुमान गरिएको छ । रणवीर कपूर र आलिया भट्टको प्रमुख भूमिका रहेको यो चलचित्रलाई करण जौहर प्रोडक्सनले निर्माण गरेको हो ।

सुपरस्टार शाहरुख खानको ‘पठान’ले पनि यो वर्ष बक्स अफिसमा धमाका मच्चाउने अपेक्षा गरिएको छ । यो चलचित्रबाट शाहरुख लामो समयपछि पर्दामा देखिँदैछन् । दीपिका पादुकोण र जोन अब्राहमको पनि मुख्य भूमिका रहेको छ । तर यो चलचित्रको छायांकन भने अझै बाँकी छ ।

साउथ सुपरस्टार प्रभास अभिनित ‘आदिपुरुष’ पनि यसै वर्ष रिलिज हुँदैछ । यो एक पौराणिक चलचित्र हो । ठूलो बजेटमा निर्माण गरिएको ‘आदिपुरुष’मा भीएफएक्सको पनि उच्चतम प्रयोग गरिएको छ । यो चलचित्रमा प्रभासका साथै सैफअली खानको पनि मुख्य भूमिका छ । चलचित्रलाई ओम राउतले निर्देशन गरेका हुन् ।

बलिउड स्टार सलमान खानको ‘टाइगर–३’ र अक्षय कुमारको ‘पृथ्वीराज’ पनि यस वर्ष आशा गरिएका चलचित्र हुन् । यी दुवै चलचित्र यशराज फिल्म्सको ब्यानरमा निर्माण भएका हुन् । ‘टाइगर–३’मा सलमान र कट्रिना कैफको मुख्य भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?