+
+

प्रहरीकै मोटरसाइकल लिएर भागेका कैदी पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १० गते १४:३०

१० माघ, दाङ । घोराही कारागारबाट गत पुस ८ गते भागेका कैदीलाई दाङ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार कारागारबाट भागेका कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय भोगिरहेका यामराज परियारलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरीले कार्यालय दाङले पक्राउ परियारका बारेमा जानकारी दिन सोमबार ४ बजे कार्यालयमा पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले भारतीय सीमावर्ति क्षेत्रबाट समातेको बताइएको छ ।

कारागारका नाईकेसमेत रहेका  यामराज भागेको प्रकरणमा कारागारका जेलर युवराज परियारलाई केही दिन हिरासतमा राखेर अनुसन्धान गरिए पनि कारागार विभागले अनुमति नदिएपछि पुस १६ गते नै छुटिसकेका छन् ।

छालाको उपचार गर्न भनी कारागारका नाइके कैदी यामराजलाई प्रहरी जवान धनबहादुर चौधरीले पुस ८ गते दिउँसो लु ३४ प ४१० नम्बरको मोटरसाइकलमा लिएर अस्पताल हिडेका थिए । तर, उनीहरू अस्पताल नगई होटलमा पुगेको र त्यहीबाट भागेका थिए । प्रहरी र कैदीले घोराहीकै थकाली होटलमा दुईजना महिलालाई लिएर गएको अनुसन्धानबाट खुलेको थियो ।

कैदी परियारले प्रहरी जवानलाई आफ्नो प्रेमिकासहित होटलको कोठामा थुनेर भागेको प्रहरी अनुसन्धानले देखाएको थियो । फरार प्रकरणमा प्रहरी जवान चौधरी र तुलसीपुर उपमहानगरपालिका-१० की २२ वर्षीया समी चौधरी पुर्पक्षका जेल चलान भइसकेका छन्।

त्यस्तै घोराही कारागारका सुरक्षा इञ्चार्ज प्रहरी सहायक निरिक्षक रुद्रबहादुर सेन ठकुरी १० हजार र प्रहरी हवल्दार गणेशकुमार थारु पाँच हजार धरौटीमा छुटेका छन् । सो प्रकरणमा युवतीलगायत होटलको समेत व्यवस्थापनको काम गरेको आरोपमा घोराहीका सौजन्य खनाल र घोराही उपमहानगरपालिका-१६ की विपाशा चौधरीलाई अदालतले साधारण तारेखमा छोड्न आदेश भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?