+
+

दक्षिण अफ्रिकाबाट विमानको पांग्रामा लुकेर नेदरल्याण्ड पुगेका व्यक्ति केन्याका युवक

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ११ गते १८:२८

११ माघ, काठमाडौं । दक्षिण अफ्रिकाको जोहानेसबर्गबाट उडेको कार्गो विमानको अगाडिको पाङ्ग्रा भएको भागमा लुकेर नेदरल्याण्ड पुगेका व्यक्ति केन्याका युवक भएको खुलेको छ ।

डच प्रहरीले ती युवक केन्याका २२ वर्षीय व्यक्ति रहेको पुष्टि गरेको बीबीसीले जनाएको छ ।

गत आइतबार दक्षिण अफ्रिकाको जोहानेसबर्गबाट उडेको कार्गोलस विमान केन्याको नैरोबी हुँदै नेदरल्याण्डको एम्सटर्डमस्थित स्किपोल विमानस्थलमा अवतरण गरेको थियो । उक्त विमानको अगाडिको पांग्रामा लुकेर बसेका युवकलाई एम्सटर्डम विमानस्थलबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । यद्यपि, उनी दक्षिण अफ्रिकाबाट उक्त विमानमा लुकेर बसेका थिए कि केन्याबाट भन्ने चाहिँ खुलेको छैन ।

विमानको बाहिरी भागमा बसेर लामो हवाई यात्रा गर्दा पनि उनी जीवितै फेला पर्नुलाई अधिकारीहरूले आश्चर्यजनक भनेका छन् । विमान निकै उचाइमा उड्ने हुँदा कम अक्सिजन र अत्यधिक चिसोले ज्यान जाने गर्दछ । तर, ती २२ वर्षीय युवक जीवितै फेला परेको र स्वास्थ्य पनि सामान्य भएकाले यसलाई दुर्लभ घटना मानिएको छ ।

उनी नेदरल्याण्डमा शरण लिएर बस्ने योजनामा रहेको अनुमान गरिएको छ । डच प्रहरीका एकजना प्रवक्ताले भनेका छन्, ‘उनले नेदरल्याण्डमा शरण लिन निवेदन दिनसक्ने अनुमान छ । यद्यपि अहिले उनको उपचार नै प्राथमिकता हो ।’

विमानस्थलबाट नियन्त्रणमा लिएलगत्तै उनलाई अस्पतालमा भर्ना गरिएको थियो । उनको स्वास्थ्य सामान्य रहेको र राम्रोसँग कुराकानी गर्ने गरेको बीबीसीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?