
१२ माघ, काठमाडौं । आफ्नै विवाह समारोहमा नाच्न पनि नपाउनु ? कुनै बेहुलाले बिहे समारोहमा नाच्न नदिने र नाचेको आरोपमा थप्पड हान्ने गर्यो भने बेहुलीले के गर्लिन् ?
यस्तो बेलामा विद्रोह गर्नुको साटो घुम्टोभित्र लुकेर रुने बेहुलीको संख्या धेरै होला । तर भारतको तमिलनाडुमा भने एक चेलीले विद्रोह गर्दै त्यो सनकी बेहुलासँगको बिहे नै रद्द गरिदिएकी छिन् ।
टाइम्स अफ इण्डियामा प्रकाशित समाचार अनुसार गत जनवरी २० मा हुने बिहेको एक दिन अगाडि आयोजित समारोहका बेला बेहुलाले बेहुलीमाथि हात उठाएको थियो ।
समारोहमा नाचेको भन्दै बेहुलाले थप्पड हाने। आफूमाथि सबैका अगाडि थप्पड हानेको बेहुलीले सहन सकिनन् । उनले तत्कालै त्यो बिहे रद्द भएको घोषणा गरिन् र केही घण्टापछि भतिजोसँग बिहे गरिन् ।
समाचार अनुसार बिहेको एक दिन अगाडि हुनेवाला बेहुला र बेहुली तथा उनीहरुका परिवार जम्मा भएर डिजे तथा नाचगान सहितको कार्यक्रम गरे । संगीतको धूनमा हुनेवाला बेहुला र बेहुलीपनि मज्जाले नाचिरहेका थिए । त्यहीबेला बेहुलीको भतिजो पनि नाच्न आइपुग्यो ।
उसले बेहुला र बेहुलीको काँधमा आफ्नो हात राखेर नाच्न थाल्यो । त्यसले बेहुलालाई रिस उठ्यो । त्यसपछि आफ्नो हुनेवाला बेहुली र उनको भतिजोलाई पर धकेल्यो । उसले थप्पड पनि हानेको बेहुलीको परिवारको भनाई छ ।
छोरीमाथि थप्पड हानिएपछि बेहुलीका बुवा रिसले चूर भए । उनले बेहुलो र उसका परिवारलाई तत्कालै त्यहाँबाट निस्किहाल्न आदेश दिए । बेहुलीले त्यो केटासँग बिहे नगर्ने घोषणा गरिन् र त्यसमा उनका परिवारजनले पनि साथ दिए ।
तर ती युवतीका परिवारले तय भएको मितिमै छोरीको बिहे गर्ने निधो गरे । जस अनुसार नाचेको आरोपमा कुटाई खाएको भतिजो नाता पर्ने युवकसँग नै उनको बिहे हुने भयो । भोलिपल्ट जनवरी २० मा उनीहरुको बिहे भयो ।
उता बिहे गर्न नपाएको बेहुला पक्षले चाहीँ ७ लाख भारु क्षतिपूर्तिको माग गर्दै प्रहरीमा उजुरी गरेका छन् । एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4