+
+

मेलम्चीको काम पुरानै ठेकदारलाई, ३२ करोडको ठेक्का भेरिएसन

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १३ गते २०:५०

१३ माघ, काठमाडौं । मेलम्ची खानेपानी विकास समितिले चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोसँगको सम्झौता अवधि थप गरेको छ । ठेक्काको मूल्य समायोजन (भेरिएसन) गर्दै समितिले सिनोलाई आयोजनाको हेडवर्क्सको काम सक्न असार महिनासम्मको समय दिएको छ ।

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक बासु पौडेलका अनुसार असारसम्मको समय दिएपनि चैतको मध्यसम्म निर्माण सकेर सुरुङमा पानी भर्न थाल्ने गरी काम गर्न निदेशन दिइएको छ । उनका अनुसार नयाँ वर्षमा काठमाडौंमा पानी खसालेर वितरण थाल्ने योजना छ ।

सिनोले करिब ३२ करोड रुपैयाँ ठेक्काको भेरिएसनबापत पाउने भएको छ । आयोजनाले मन्त्रिपरिषदबाट ठेक्काको भेरिएसन गर्ने स्वीकति पाएको थियो ।

कार्यकारी निर्देशक पौडेलका अनुसार पुस मसान्तमा बसेको मन्त्रिपरिषद बैठकले विशेषा परिस्थितिको कारण देखाएर मेलम्चीको ठेक्काको अवधि र मूल्य थप्न दिने स्वीकृति दिएको थियो । त्यसअनुसार समितिले माघको पहिलो हप्तामै ठेक्का भेरिएसन स्वीकृत गरेर सिनोलाई साइटमा जान भनेको हो ।

चालु आर्थिक वर्षको बजेट व्यक्तव्यमा सरकारले २०७९ को वैशाखसम्म बाढीग्रस्त मेलम्ची खानेपानी आयोजना पुनर्स्थापनाको काम सकेर काठमाडौंमा पुनः पानी ल्याउनले घोषणा गरेको थियो । तर, अहिलेसम्म आयोजनामा निर्माणको काम शुरु हुन सकेको छैन ।

१ असार, २०७८ मा आएको बाढीले क्षतिग्रस्त भएको मेलम्ची खानेपानी आयोजना पुनर्स्थापनाका लागि पहिल्यैको ठेकदार सिनोलाई काम दिने बाटो खोल्न समितिले सरकारसँग प्रस्ताव गरेको थियो । सिनोसँग बाँधस्थल निर्माणका लागि भएको खरिद सम्झौताको अवधिको थप ५० प्रतिशत अवधि पनि म्याद थप भइसकेको थियो । कानुनी सीमाका कारण समितिले म्याद थप गर्न नसक्ने भएपछि मन्त्रिपरिषदको स्वीकृतिमा सिनोलाई म्याद थप गरेर साइटमा पठाउन लागिएको हो । सरकारले २०७६ असोजमा सिनोसँग १५ महिनामा काम सक्ने गरी बाँधस्थल निर्माण गर्न ठेक्का सम्झौता गरेको थियो ।

आयोजनाले नदीले पुरेको मुहानस्थल सफा गर्ने कामका लागि पुरानै ठेक्का भेरिएसन गरेर काम लगाएको हो । आयोजनालाई पुरेको ढुंगा, गिट्टी, बालुवा र माटो हटाउन र अस्थायी संरचना बनाएर विगतकै जसरी सुरुङमा पानी हाल्न सिनोले आवश्यक तयारी शुरु गरिसकेको आयोजना प्रमुख पौडेलले बताए ।

‘सिनोले यन्त्र/उपकरण साइटमा लैजान थालेको छ, अब श्रमिक बस्ने क्याम्प पनि बनाउँछ,’ उनले भने,’चैतसम्म काम सकेर वैशाखमा फेरि काठमाडौंमा पानी खसाल्ने गरी काम हुन्छ ।’

सिनोले हाको भेरिएसनबाट काम गरेपछि पुरिएका आयोजनाको संरचनाहरु बाहिर निकालिने र अवस्था हेरेर बाँकी काम निर्क्योल गर्ने उनले बताए । ‘संरचना ठीकठाक रहेछन् भने थप काम खासै गर्नु पर्दैन, तर त्यहाँ समस्या रहेछ भने ठेक्कामा थप भेरिएसन गर्नुपर्ने हुनसक्छ,’ उनले भने ।

वैशाखसम्म पुनर्स्थापनाको आधारभूत काम सकिए पनि आगामी वर्षायाममा फेरि बाढीको जोखिम हुने भएकाले पानी रोकेर सुरुङ बन्द राख्नुपर्ने आकलन छ । यो वर्ष काम नसकिएमा निर्माणको काम फेरि अर्को वर्षको दशैंपछिको समयका लागि लागि धकेलिने जोखिम छ । सरकारले आफ्नै स्रोत प्रयोग गरेर आयोजना पुनर्स्थापित गर्नुपपर्ने अवस्था छ ।

करिब ३६ अर्ब रुपैयाँ लगानीमा बनेको आयोजनाले १५ चैत २०७७ देखि काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण शुरु गरिसकेको थियो । तर, सुरुङको सुपरीवेक्षण गर्न बन्द गरिएकै दिनमा मेलम्ची नदीमा १ असार, २०७८को बाढीले मेलम्चीको पानी थुनेर सुरुङमा हाल्न बनाइएको इन्टेक (मुहान) क्षेत्र तहसनहस बनाएको थियो । १५ साउन २०७८को राति फेरि मेलम्चीमा लेदोसहतिको ठूलो बाढी आएपछि झन् चुनौती थपिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?