
१६ माघ, काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति जो बाइडेन प्रशासनको आलोचना गरेका छन् । राष्ट्रपति जो बाइडेनले पूर्वी युरोपमा केही समयमै फौज पठाउने भनेको भोलिपल्ट ट्रम्पले उनको आलोचना गरेका हुन् ।
शनिबार टेक्सासमा आयोजित ‘सेभ अमेरिका’नामक जुलुसलाई सम्बोधन गर्दै ट्रम्पले युक्रेनको सीमा कसरी जोगाउने भनेर मात्रै सोचेको तर मेक्सिकोसँगको सिमानामा जारी संकटप्रति आँखा चिम्लेको भन्दै बाइडेन प्रशासनको आलोचना गरेका हुन् । बाइडेनले गलत सिमानामा फौज पठाउन लागेको पनि उनको भनाइ थियो ।
‘वाशिङ्टनमा सबैले युक्रेनको सीमाना कसरी जोगाउने भनेर मात्रै सोचिरहेका छन्’, ट्रम्पले आफ्ना समर्थकलाई भने, ‘तर यतिबेला विश्वमा हाम्रा लागि सबैभन्दा महत्वपूर्ण सिमाना युक्रेनको होइन, अमेरिकाको सीमाना हो ।’
ट्रम्पले अमेरिका र मेक्सिकोको सिमानामा हालसम्मकै धेरै अवैध आप्रवासी आएको भन्दै यसलाई अमेरिकाको सुरक्षा जोखिममा पारिरहेको हमला जस्तै भएको पनि बताएका छन् ।
बाइडेनले अमेरिकी सिमाना बुझाइसकेको र सारा संसारले युद्धमा हारेको जस्तै गरी अमेरिकामाथि अधिक्रमण गरिरहेको पनि उनको भनाइ थियो ।
अमेरिकाले रुसको ढोकैमा सैना तैथान गर्नुको साटो आफ्नो दक्षिणी सीमानामा सैनिकको संख्या बढाउनु पर्ने पनि ट्रम्पले बताए । ‘हाम्रो नेताहरूले अरु मुलुकमाथि हमला हुने कुरा गर्नुपूर्व यो मुलुकमाथि हुने हमला रोक्नुपर्छ’, उनले थपे । एजेन्सीको सहयोगमा
प्रतिक्रिया 4