+
+
विचार :

‘सावधानी अपनाउँदै अर्थतन्त्रलाई चलायमान बनाऔं’

वीरेन्द्रबहादुर बस्नेत, प्रबन्ध निर्देशक, बुद्ध एअर वीरेन्द्रबहादुर बस्नेत, प्रबन्ध निर्देशक, बुद्ध एअर
२०७८ माघ १६ गते १६:५६

केही कमी–कमजोरीका बाबजूद स्वास्थ्य मन्त्रालयले दैनिक प्रकाशित गर्ने कोभिड अपडेटमा खोप लगाउने संख्या उल्लेख्य रूपमा बढेका छन् । लक्षित जनसंख्याको ८३ प्रतिशतले खोप लगाइसकेका छन् अर्थात् खोप लगाउने संख्या करीब–करीब दुई करोड पुगिसकेको छ । त्यसैगरी पूर्ण खोप ७० प्रतिशत बढी छ, र हालै सञ्चालनमा आएको बुस्टर डोज लगाउने संख्या पनि बढ्दो क्रममा छ ।

आम सर्वसाधारण कोभिडसँग कसरी जुध्ने पूर्ण शिक्षित भइसकेका छन् । प्रायःले मास्क र नियमित अन्तरालमा ह्याण्ड सेनिटाइजरको प्रयोग गरेकै देखिन्छ । कोभिड विरुद्ध जनजागरणका लागि स्थानीय, प्रदेश र संघीय सरकारलाई धन्यवाद दिनैपर्छ ।

ज्यादै चिसो हुने पुस, माघ महीनामा सामान्यतया रुघाखोकी पीडित संख्या अरू महीनाको तुलनामा बढी नै हुन्छन् । कोरोना कहरको बाबजूद यसपालि अस्पताल धाउने संख्या अघिल्लो बन्दाबन्दीको तुलनामा निकै कम छ । प्राणघातक दर १.४ प्रतिशतमा खुम्चिएको छ ।

विशेषज्ञ डाक्टरहरूले यसपालिको कोभिडले घाँटीभन्दा मुनि हानिनोक्सानी गरेको छैन भनेका छन् । संक्रमणदर बढी भएको हुनाले प्रायः घरपिच्छे संक्रमित भएका भनाइहरू पनि आएका छन् । विशेषज्ञहरूले यसपालि तीनदेखि पाँच दिन मात्रै आइसोलेसनमा बस्न सिफारिश गरेका छन् । जसले गर्दा नियमित कामकाजमा खासै असर परेको छैन । यसभन्दा अगाडि १४ दिन अनिवार्य आइसोलेसन गरिएको थियो ।

तेस्रो लहरको केही दिनयता संक्रमण दर बढेको देखिए तापनि अस्पताल भर्ना भएका केसहरू न्यून छन् । प्रायः घरमै बसेर स्वास्थ्यलाभ गरिरहेका छन् । कोभिड पोजिटिभ देखिएका व्यक्तिहरूलाई पनि सरकारी कल सेन्टरबाट सकारात्मक सन्देश प्रवाह भइरहेको छ ।

बिग्रँदो अर्थतन्त्र

यी भए कोभिडका कुरा । संक्रमण दर बढेकै भरमा बन्दाबन्दीमा जानुपर्ने बाध्यात्मक अवस्था किन लादियो ? के सबै विकल्पहरूको बाटो बन्द भएकै हो । पहिलो र दोस्रो लकडाउनबाट आर्थिक व्यापारिक सूचकांकहरूको बिजोग छ । बढ्दो व्यापार घाटा, बेरोजगारी, मूल्यवृद्धि, तरलता अभाव र घट्दो विदेशी विनिमय सञ्चितिले देशलाई पक्कै पनि पछाडि धकेलिरहेको छ ।

थोरबहुत लयमा फर्किन थालेका व्यापार व्यवसाय फेरि सरकारी बन्देजहरूबाट प्रभावित भएका छन् । सरकारले गरेका पछिल्ला निर्णयहरूमा विशेषज्ञ र निजी क्षेत्रलाई समावेश गरेको देखिंदैन । परिणामतः बजार पतालिएको छ । यसले अर्थतन्त्रका सूचकांकहरू थप कमजोर बन्ने देखिन्छ ।

तरलता अभाव चुलिएको छ । थप प्रतिबन्धले बजार सुस्ताउने र बजारमा नगदको प्रवाहमा अवरोध आउने निश्चित छ । मूल्यवृद्धि दर ७.११ प्रतिशत पुगिसकेको छ । अर्थतन्त्रको ठूलो हिस्सा आयातमा खर्चिन थालिएको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार पाँच महीनामै ८३८ अर्ब ४१ रुपैयाँ बराबरको खाद्यान्न तथा सरसमान आयात गरिएको छ । व्यापार घाटा ७ खर्ब ३५ अर्ब ४१ करोड पुगेको छ ।

थला पर्दै यातायात, पर्यटन र हवाई क्षेत्र

शिथिल पर्यटन क्षेत्रलाई फेरि थला पार्ने काम भएको छ । पर्यटक नै नआएका र भएका बुकिङ पनि धमाधम रद्द हुन थालेका छन् । सञ्चालन खर्च जोहो गर्नै मुश्किल छ । माघ १५ सम्म सिनेमा हल, डान्सक्लब, फुटसल, हेल्थक्लब, जीम लगायत भीडभाड हुने सबै प्रकारका कार्यक्रम निषेध गरिएको छ । जोर–बिजोर प्रणालीले ट्राफिक झन् बढाएको छ । सर्वसाधारण कोच्चिएर यात्रा गर्न बाध्य छन् ।

हवाई सेवा त झनै मुश्किल अवस्थाबाट गुज्रिरहेको छ । कोरोनाकालको आठ महीना बिल्कुल शून्य आम्दानीमा झरेको थियो । आम्दानी शून्य भए पनि जहाजको मर्मतसम्भार, ऋणकर्जा, तलब भुक्तानी यथावत् खर्चहरू छँदै थिए । अब फेरि लादिएको बन्दाबन्दीले गहिरो समस्या थपिने निश्चित छ ।

स्मरण रहोस् लकडाउनमा पनि आन्तरिक हवाई सेवा प्रायः सबै देशमा सुचारु थियो । हवाई यात्रा संक्रमणरहित रहेको प्रमाणित नै भइसकेको छ । नेपालका प्रायः सबै विमान कम्पनीहरूले कोभिड विरुद्धको निर्देशन कडाइका साथ लागू गरेका छन् ।

अबको बाटो

सावधानी अपनाउनु सबैभन्दा बेस । कोभिड विरुद्ध जनजागरण एकदमै राम्रो भएको छ । प्रायः जनता सचेत भइसकेका छन् । अहिले युरोप तथा अफ्रिकाका केही देशले कोभिड विरुद्धको निर्देशिका हटाएका छन् । ती देशहरूको जनजीवन सामान्य स्थितितर्फ फर्कंदै गएको छ । कोभिडलाई अब ‘सामान्य रुघाखोकी’मा सीमित गरिएको छ । स्मरणरहोस् त्यहाँ खोप कार्यक्रम प्रभावकारिताका साथ सञ्चालन गरिएको थियो ।

केही समय अगाडि समाचार नै आएको थियो बेलायतले कोभिड प्रोटोकल परिष्कृत गरेको । अब हामीले पनि निर्देशिका पालना गर्दै सबै क्षेत्र खुलाउनुपर्छ । यसमा ढिलो गर्नुहुँदैन । अबको दुई महीना विवाह लगनको समय हुँदा यातायात, होटल खुल्दा केही राहत पुग्ने देखिन्छ ।

कोभिड पूर्ण रूपमा उन्मूलन हुन कति समय लाग्ने हो यकिन नभएको हुँदा सावधानीका साथ जीवनशैली अगाडि बढाउनुपर्छ । समस्याको समाधान एक मात्र खोप हुँदा यसलाई सबैमा पु¥याउन उत्तिकै जरुरी छ ।

आएटाको अपिल

आएटा (इन्टरनेशनल एअर ट्रान्सपोर्ट) ले अन्तर्राष्ट्रिय समुदायलाई पर्यटन क्षेत्रलाई सहज बनाउन अपील गरेको छ ।

महामारीको प्रभाव निकै न्यून बन्दै गएको हुँदा पर्यटकहरूलाई लगाउँदै गरिएको पाबन्दी हटाउन उसले आग्रह गरेको छ। आएटाले उडान पूर्व अनिवार्य र्यापिड टेस्ट, क्वारेन्टाइन आदि इत्यादि अब कुनै जरूरी ठानेको छैन । बरु यसको सट्टा कोभिड खोप कार्डलाई प्रयोगको लागि आग्रह गरेको छ ।

ठूलो जनसंख्यामा कोभिड विस्तार भइसकेको हुँदा पर्यटन क्षेत्रमा बन्देज लगाउनुको कुनै आवश्यकता नै रहेन । अर्बौं, खर्बौं रुपैयाँ कोभिड चेकजाँचको सट्टा खोप उपलब्धतामा प्रयोग गर्न आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?